चुनावमा विवेक पु¥याऔँ


फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा देशको राजनीतिक तापक्रम अस्वाभाविक रूपमा बढेको छ । गाउँका चौतारादेखि शहरका क्याफेसम्म बहस चलिरहेका छन् । तर यसपटकको चुनावी बहसको केन्द्र नीति, कार्यक्रम र समाधानभन्दा बढी ‘छवि’ र ‘भावना’ बन्न थालेको देखिन्छ । विशेषतः सामाजिक सञ्जालमा अहिले ‘नयाँ सबै राम्रा, पुराना सबै खराब’ भन्ने खतरनाक भाष्य बनाउन खोजिँदै छ । यस प्रकारको भाष्य लोकतान्त्रिक संस्कृतिका लागि ठूलो चुनौती बन्दै गएको छ । यसले लोकतन्त्रलाई झनै कमजोर र निम्सरो बनाउने भएकाले आम नेपालीले विवेक पु¥याउनुपर्ने हुन्छ । लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो, आलोचना पनि आवश्यक हुन्छ । तर समग्र राजनीतिक इतिहासलाई दुई रङ्गमा विभाजन गर्ने प्रवृत्ति लोकतान्त्रिक चेतनाको सूचक होइन, भावनात्मक उत्तेजनाको परिणाम हो । यो प्रवृत्ति बिस्तारै मतदाताको विवेकलाई विस्थापित गरी भीड–मनोविज्ञान स्थापित गर्ने दिशातर्फ उन्मुख देखिन्छ । सामाजिक सञ्जालमा फेक आइडी, भ्रामक सामग्री, ट्रोल संस्कृति र दोहो¥याइ प्रचारमार्फत व्यक्तिलाई देवत्वकरण अनि अर्को समूहलाई राक्षसीकरण गर्ने प्रयास लोकतन्त्रको स्वस्थ अभ्यास होइन, राजनीतिक मनोवैज्ञानिक खेल हो ।

निर्वाचनको मूल उद्देश्य प्रतिनिधि छान्नु हो, ‘ब्रान्ड’ रोज्नु होइन । मतपत्रमा दलको चिह्न भए पनि संसद् र स्थानीय तहमा निर्णय गर्ने व्यक्ति नै हुन्छ । त्यसैले मतदाताले समूहगत छवि होइन, व्यक्तिगत योग्यता मूल्यांकन गर्नुपर्छ । विगतमा पनि भावनाको लहरमा जितेका धेरै प्रतिनिधि जनअपेक्षा पूरा गर्न नसकी अलोकप्रिय बनेका उदाहरण थुप्रै छन् । कारण एउटै थियो– चयन विवेकले होइन, आवेगले भएको थियो । अहिले प्रविधिको प्रयोग गरेर मतदातालाई दिग्भ्रमित पार्ने प्रवृत्ति बढ्दो छ । झुटलाई सयपटक दोहो¥याएर सत्यजस्तो देखाउने शैलीले समाजलाई ध्रुवीकृत बनाउँछ । असहमतिलाई गाली र ट्रोलले दबाउने संस्कारले नागरिक स्वतन्त्रता कमजोर बनाउँछ । यस्तो वातावरणमा मताधिकार स्वतन्त्र निर्णय होइन, मानसिक दबाबको परिणाम बन्ने खतरा हुन्छ । यही कारण विज्ञहरूले मतदातालाई विशेष सावधानी अपनाउन आग्रह गरिरहेका छन् ।

चुनाव कुनै भावनात्मक उत्सव मात्र होइन, पाँच वर्षको भविष्य निर्धारण गर्ने निर्णय हो । त्यसैले मतदाताले केही आधारभूत प्रश्न आफैँलाई सोध्नुपर्छ– उम्मेदवारको काम के छ ? समाजसँगको सम्बन्ध कस्तो छ ? समस्या बुझ्ने क्षमता छ कि छैन ? केवल भाषण र प्रचारले होइन, व्यवहार र इतिहासले उसको चरित्र प्रमाणित गर्छ कि गर्दैन ? यदि यी प्रश्नको उत्तर नखोजी मत हालिन्छ भने त्यो अधिकारको प्रयोग होइन, अधिकारको परित्याग हुन्छ ।

आजको आवश्यकता नयाँ वा पुरानो होइन, योग्य र अयोग्य छुट्याउने क्षमता हो । लोकतन्त्रले नागरिकलाई दिएको सबैभन्दा ठूलो शक्ति विवेक हो । त्यो विवेकलाई नारा, भीड वा डिजिटल प्रचारको जिम्मा लगाउनु भनेको आफ्नो भविष्य अरूको हातमा सुम्पनु हो । त्यसैले यो निर्वाचनको सन्देश स्पष्ट हुनुपर्छ– पार्टी होइन व्यक्ति हेर्नु, नारा होइन कामको इतिहास हेर्नु, प्रचार होइन क्षमता हेर्नु । क्षणिक ह्वीमले जित दिलाउन सक्छ तर दीर्घकालीन सुखद परिणाम केवल विवेकपूर्ण निर्णयले मात्र दिन्छ । २१ फागुनको मतपत्रमा जनताको हस्ताक्षर हुनेछ, त्यसमा भावनाको होइन, चेतनाको छाप बसोस् ।