काठमाडौं ।
महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घाटन गर्दै प्रतियोगिता प्रतिस्पर्धामा मात्र सीमित नभइ आपसी सद्भाव कायम गर्न र भाइचारा अभिबृद्धि गर्न टेवा पुग्ने धारणा व्यक्त गरे ।
पहिलो दिन एक खेल मात्र भयो । समूह ‘ए’ को लिगमा आयोजक मञ्च र खुन्डे कम्युनिटी क्लबले १–१ गोलको बराबरी खेले । मञ्चका लागि गोल गरेका पासाङ ग्याल्जेन शेर्पा ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
लिग कम नकआउटमा आयोजकको एकसहित ८ टोली सहभागी छन् । नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको दोश्रो दिन आइतबार तीन खेल हुनेछ । फाइनल खेल फागुन ३ गते हुनेछ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाहरुले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारका अवसरमा फुटबल प्रतियोगिता सुरु गरेका थिए ।











प्रतिक्रिया