चालू आर्थिक वर्षको प्रारम्भिक तथ्यांकले नेपालको बाह्य सेवा व्यापारको संरचनात्मक जटिल र चुनौतीपूर्ण अवस्थामा चित्रित गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार देशको खुद सेवा आयमा देखिएको घाटाको वृद्धिले समग्र अर्थतन्त्रको सन्तुलनमा दबाब सिर्जना गरेको छ । पर्यटनसम्बन्धी आय र व्ययका आँकडाले विदेशी मुद्रा सञ्चितीमा थप असर पार्ने संकेत गर्दछ । झट्ट हेर्दा भ्रमण आयमा सामान्य सुधार देखिए पनि समग्र सेवा क्षेत्रको अवस्था भने चिन्ताजनक नै छ । यसले नीति–सुधारको अपरिहार्यता आवश्यक देखिएको छ ।
समीक्षा अवधिमा खुद सेवा आय ४१ अर्ब ५५ करोडले घाटामा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २९ अर्ब ४७ करोड घाटा भएको तुलनामा उल्लेखनीय रूपमा बढेको हो । यो वृद्धि सेवा क्षेत्रको उत्पादकत्व र प्रतिस्पर्धात्मकतामा देखिएको कमजोरीको परिणाम हो । नेपालजस्तो विकासशील अर्थतन्त्रमा सेवा क्षेत्रले पर्यटन, शिक्षा, यातायात र सूचना प्रविधिजस्ता क्षेत्रहरूबाट विदेशी मुद्रा आर्जन गर्ने अपेक्षा गरिन्छ । तर, घाटाको यो स्तरले नेपालको व्यापार सन्तुलनलाई थप असन्तुलित बनाइरहेको छ । यसले चालू खाता घाटा बढाउने जोखिम निम्त्याउँछ, जसको असर मुद्रास्फीति र नेपाली रुपियाँको अवमूल्यन गर्न सक्छ । यसको अर्थ सेवा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने शुद्ध आम्दानीको स्रोत बन्न सकेको छैन, उल्टै भुक्तानीको दबाब बढाइरहेको भन्ने संकेत हो । साथै यसले भुक्तानी सन्तुलन, विदेशी मुद्रा सञ्चिती र समग्र बाह्य क्षेत्रको स्थायित्वमा प्रतिकूल असर पार्ने जोखिम बढाएको देखाउँछ ।
सेवा खाताअन्तर्गत भ्रमण आयमा भएको ०.८ प्रतिशतको सामान्य वृद्धिले केही सकारात्मक संकेत दिएको छ । यस अवधिमा भ्रमण आय ४२ अर्ब २१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ४१ अर्ब ८८ करोडबाट थोरै बढी हो । पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो, वृद्धि कोभिडपछिको पुनरुत्थानको निरन्तरताको रूपमा देखिन्छ । तर यो वृद्धिदर पर्याप्त छैन; यसले पर्यटन पूर्वाधारको अभाव, मौसमी प्रभाव र अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई उजागर गर्दछ । नेपालले साहसिक पर्यटन र सांस्कृतिक सम्पदालाई प्रवद्र्धन गरेर यो क्षेत्रलाई मजबुत बनाउन सक्छ, तर राष्ट्र बैंकको तथ्यांकले नीतिगत प्राथमिकताको आवश्यकता देखाउँछ ।
यसको विपरीत, भ्रमण व्ययमा भएको ४.२ प्रतिशतको वृद्धिले चिन्ता बढाएको छ । यो व्यय १०५ अर्ब ५६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको १०१ अर्ब ३३ करोडबाट बढी हो । विशेष गरी शिक्षातर्फको व्ययमा भएको उल्लेखनीय वृद्धि भएको अघिल्लो वर्ष ५६ अर्ब ७७ करोड खर्च भएकोमा अहिले ६७ अर्ब ४७ करोड भएको छ । यसले नेपाली विद्यार्थीको विदेश अध्ययनप्रतिको आकर्षणलाई प्रतिविम्बित गर्दछ । यो प्रवृत्ति एकातिर मानव पूँजी विकासको लागि सकारात्मक हुनसक्छ, तर अर्कोतिर विदेशी मुद्रा बहिर्गमनको प्रमुख कारण बनेको छ । यसले सेवा क्षेत्रको घाटालाई थप गहिरो बनाइरहेको छ, किनकि आयको तुलनामा व्ययको वृद्धिदर उच्च छ । यदि यो क्रम जारी रह्यो भने, ‘ब्रेन ड्रेन’ को रूपमा परिणत हुन सक्छ, जसले दीर्घकालीन आर्थिक वृद्धिलाई बाधा पु¥याउँछ ।
समग्रमा सेवा क्षेत्रको स्थिति घाटा व्यवस्थापन र पर्यटन प्रवद्र्धनमा केन्द्रित नीतिहरूको माग गर्दछ । सरकारले शिक्षा क्षेत्रमा स्वदेशी अवसरहरू बढाएर व्यय नियन्त्रण गर्नुपर्छ, साथै पर्यटन आय वृद्धिका लागि अन्तर्राष्ट्रिय साझेदारी र पूर्वाधार विकासमा लगानी गर्नुपर्छ । यो अवधिका तथ्यांकले नेपालको अर्थतन्त्रलाई सन्तुलित र आत्मनिर्भर बनाउने अवसर प्रदान गर्दछन्, तर यसका लागि तत्कालीन रणनीतिक कदमहरू अपरिहार्य छन् । सेवा क्षेत्रको यो चुनौतीलाई अवसरमा बदल्न सकियो भने मात्र हामी साँचो आर्थिक समृद्धितर्फ अघि बढ्न सक्छौं । त्यस्तै पर्यटन, शिक्षा, स्वास्थ्य, आईटी तथा आउट सोर्सिङजस्ता सम्भावनायुक्त क्षेत्रमा निर्यातयोग्य सेवाको विस्तारविना यो खाडल साँघुरिने सम्भावना कम छ । नेपाली विद्यार्थीको पलायन घटाउन स्वदेशी विश्वविद्यालय सुधार, प्राविधिक शिक्षा विस्तार र रोजगारी–शिक्षा बलियो बनाउनु अनिवार्य देखिन्छ ।











प्रतिक्रिया