सिटीको लिगकपमा १२ औं फाइनल


लन्डन, (एजेन्सी)

म्यानचेस्टर सिटी लिगकप (काराबाओ कप) को फाइनलमा १२ औं पटक पुगेको छ । बुधबार सेमिफाइनलको दोस्रो लेगमा न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गर्दै समग्रमा ५–१ को जितसँगैं सिटी फाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा सिटी २–० ले जितेको थियो ।

इतिहाद स्टेडियममा भएको खेलमा ओमार मार्मुशले पहिलो २९ मिनेटभित्रै दुई गोल गरेर सिटीलाई जिततिर अग्रसर बनाएका थिए । त्यसपछि तिज्जानी राइनडर्सले तेस्रो गोल थपे । दोस्रो हाफमा एन्थोनी एलाङ्गाले न्युक्यासलका लागि एक गोल फर्काए तर अरू थप गोल गर्न नसक्दा यो केवल सान्त्वनामै सीमित बन्यो ।

सन् २०२१ पछि फाइनल पुगेको सिटीले लिगकपमा पछिल्ला ८ सिजनमा ६ उपाधि जितेको छ । साथै सिटीको यो घरेलु मैदानमा न्युक्यासलविरुद्ध लगातार १२ खेलमा जित पनि हो । इतिहादमा मात्रै पनि सिटीले पछिल्ला १९ मध्ये १८ खेलमा जित हासिल गरेको छ ।

आगामी मार्च २२ मा वेम्बली स्टेडियममा हुने लिग कप फाइनलमा सिटीको सामना आर्सेनलसँग हुनेछ । आर्सेनलले मंगलबार चेल्सीलाई हराएर फाइनलको यात्रा तय गरेको थियो । आर्सेनल ३३ वर्षमा पहिलो पटक उपाधि जित्ने योजनामा रहनेछ ।