नाका बन्द भएपछि फेरियो रोजगारी


सिन्धुपाल्चोक ।

तातोपानी नाका बन्द भएपछि मजदुरी र व्यापार दुवै गुमाएका बाह्रबिसेका गजेन्द्र श्रेष्ठले अहिले च्याउ खेतीलाई जीवनको सहारा बनाएका छन् । सिजनमा केही आम्दानी भए पनि बढ्दो खर्च, स्वास्थ्य समस्या र ऋणले उनको दैनिकी संघर्षमै सीमित छ ।

कहिल्यै नथाक्ने जस्तो देखिने जीवन पनि कहिलेकाहीँ एकै घटनाले मोडिन्छ । गजेन्द्र श्रेष्ठको जीवनमा राजेगारी नै परिवर्तन गर्नुपर्ने त्यो मोड २०७२ सालको भूकम्पपछि आयो । चीनसँग जोडिएको तातोपानी नाका बन्द भएपछि श्रेष्ठ मात्र होइन, बाह्रबिसे क्षेत्रका सयौँ झोले–पोके व्यापारीको रोजगारी एकाएक खोसिएको छ ।

५९ वर्षका श्रेष्ठ पहिले खासा र ल्हासासम्म पुगेर लत्ताकपडा र अन्य सामग्री ओसार्थे । व्यापार चलेको बेला घरखर्च चलाउन खासै समस्या थिएन । तर नाका बन्द भएपछि विकल्प खोज्दै उनी काठमाडौं पुगे । त्यहाँ अनेक काम गरे– भारी बोक्ने, मजदुरी गर्ने । यही क्रममा स्वास्थ्य बिग्रँदै गयो र दमको समस्या देखाप¥यो ।
काम र स्वास्थ्य दुवैले साथ नदिएपछि उनी गाउँ फर्किए । ‘अब गाउँमै केही गरेर बाँच्नुपर्छ भन्ने बाध्यता आयो’, उनी भन्छन् । त्यसपछि उनले कृषि तालिम लिएर च्याउ खेती शुरु गरे । बाह्रबिसे नगरपालिका–३ मा करिब दुई रोपनी जग्गामा एक लाख रुपियाँ लगानी गरेर गोठ र टनेल बनाएका छन् । हाल ३ सय परालका बल प्रयोग गरेर कन्ये च्याउ उत्पादन भइरहेको छ । मासिक करिब १५ किलो च्याउ उत्पादन हुन्छ । सिजनमा यसबाट २० देखि २५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ ।

च्याउसँगै उनले तरकारी खेतीलाई पनि जोड दिएका छन् । गोलभेंडा, बन्दागोभी, काउली, करेला र भ्यान्टाका करिब एक हजार बोट लगाइएका छन् । तर आम्दानी जति देखिन्छ, खर्च पनि त्यत्तिकै छ । ‘पराल, टनेल र अन्य सामग्री किन्नुपर्दा एकै पटकमा १० हजार रुपियाँ सकिन्छ’, उनी भन्छन्, ‘बजारमा च्याउ नबिके दिन झन् भारी लाग्छ ।’

घरभाडा, चामल, दाल, तेल र तरकारीजस्ता आधारभूत खर्च गर्दा मात्रै महिनाको २०–२१ हजार रुपियाँ खर्च हुने उनको अनुमान छ । आम्दानी र खर्च बराबर हुँदा बचत गर्ने सम्भावना छैन । कहिलेकाहीँ नजिकैको किराना पसलबाट उधारो लिनुपर्ने अवस्था पनि आउँछ ।
‘ठूलो सपना देख्ने आँट छैन’, श्रेष्ठ भन्छन्, ‘गाँस टार्नकै लागि दिनरात खटिरहेको छु ।’ तातोपानी नाका चलेको भए जीवन यति कठिन नहुने उनको बुझाइ छ । ‘हामीजस्ता भुइँमान्छेलाई बाँच्न मात्रै पनि कति गाह्रो रहेछ’, उनी भन्छन् ।