निर्वाचन आयोगले उम्मेदवारको आर्थिक पारदर्शिता कायम गर्न उम्मेदवारले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । आयोगले निर्वाचन प्रसारप्रसार कार्यविधि २०८२ जारी गरी आर्थिक कारोबारलाई पारदर्शी बनाएको छ । आयोगले कार्यविधिबमोजिम नेपालको बैंकमा खाता खोलेर मात्र कारोबार गर्न निर्देशन दिएको हो । आयोगको यो निर्देशनसँगै उम्मेदवारले गर्ने मनपरि खर्चमा अंकुश लागेको छ । उम्मेदवारले क, ख र ग वर्गको बैंक र वित्तीय संस्थाबाट मात्र खाता खोल्न पाउनेछन् । आयोगको निर्देशनपछि उम्मेदवारहरु खाता खोल्ने तरखरमा लागेका छन् । राजनीतिक दलका उम्मेदवारलाई आम निर्वाचनको सिलसिलामा गरिने प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन निर्वाचन आयोग ऐन २०७३ को दफा ५० बमोजिम खाता खोल्न आग्रह गरेको हो ।
उम्मेदवारले आफ्नो परिवार, आफन्तसँग नगद लिएर लाखौं खर्च गर्ने अनैतिक प्रचलन बढेपछि आयोगले आर्थिक रुपमा कडाइ गरेको हो । यो कडाइले उम्मेदवारलाई आर्थिक रुपमा व्यवस्थित बन्नसमेत सिकाएको छ । कार्यविधिमा उम्मेदवारले खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारको हकमा जिल्ला निर्वाचन कार्यालयले सिफारिस दिनुपर्छ । सोही सिफारिसको आधारमा बैंकले खाता खोल्ने व्यवस्था गरेको हुन्छ । राजनीतिक दलको हकमा खाता सञ्चालन गर्न दुईजना पदाधिकारी र उम्मेदवारको हकमा उम्मेदवार आफैँ वा उम्मेदवारले तोकेको व्यक्तिबाट एकल वा संयुक्तरुपमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको छ ।
खातामा १ लाख बढी आर्थिक सहयोग गर्नेले रकम, स्थायी लेखा नम्बर, आर्थिक सहयोग गरेको रकमको स्रोतसमेत खुलाउनुपर्ने व्यवस्था गरेको छ । यसले उम्मेदवार मात्र होइन, सहयोग गर्नेको पनि आर्थिक पारदर्शिता देखिने भएको छ । आयोगले सबै जिल्ला निर्वाचन कार्यालय, बैक र वित्तीय संस्थाबाट उम्मेदवारले गरेको खर्चको कार्यसम्पादन गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचन प्रचारप्रसार खर्चलार्ई आधुनिक बैंकिङ प्रणालीसँग आबद्ध गर्ने गरी नयाँ प्रणाली शुरु गरेको जनाएको छ । आयोगले जारी गरेको कार्यविधिमा कानुनबमोजिम दल खारेज भएमा वा उम्मेदवारको उम्मेदवारी रद्द भएमा आयोग स्वयंले खाता बन्द गर्न निर्देशन दिनेछ ।
आयोगले राष्ट्र बैंकलाई खाता सञ्चालन गर्न आग्रह गर्दै पत्र पठाएको थियो । सोही पत्रको आधारमा राष्ट्र बैंकले खाता खोल्ने अनुमति दिएको थियो । लगत्तै आयोगले कार्यविधि जारी गरी तत्काल खाता खोल्ने र आर्थिक गतिविधि बैंकमार्फत गर्न निर्देशन दिएको थियो । अघिल्लो निर्वाचनमा आर्थिक पारदर्शिताविना नै करोडौं रुपियाँ खर्च गर्ने प्रचलन थियो । अब त्यस्तो प्रचलनको अन्त्य भएको छ । अब उम्मेदवारले प्रचारप्रसार खर्च गर्दा चुनावी खताबाट बैंकिङ प्रणालीको अनिवार्य प्रयोग गर्नुपर्नेछ । आयोगले खाता खोल्नुअघि देशैभरका उम्मेदवारले खाता खोल्ने प्रणाली, त्यसको महत्व र औचित्यताबारे जानकारी गराएको थियो । अब उम्मेदवारहरु चुनाव प्रचारप्रसार खर्चमा पारदर्शी बन्नै पर्छ ।











प्रतिक्रिया