दिगो विकासमा युवाको निर्णायक भूमिका

188
Shares

वर्तमान पुस्ताले आफ्ना आवश्यकता पूरा गर्दा भविष्यका पुस्ताले आफ्ना आवश्यकता पूरा गर्न सक्ने क्षमतामा कुनै पनि असर नपर्ने वा हानि–नोक्सानी नहुने गरी गरिने विकास दिगो विकास हो । दिगो विकासले आर्थिक समृद्धि, सामाजिक समानता र वातावरण संरक्षणजस्ता यी तीन आधारभूत पक्षबीच सन्तुलन कायम गर्न जोड दिन्छ ।

यसले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा पहुँच, लैङ्गिक समानता, सुशासन, सांस्कृतिक संरक्षणजस्ता सामाजिक पक्षहरूलाई मजबुत बनाउने लक्ष्य राख्छ । जल, जंगल, जमिन, जैविक विविधता, ऊर्जाजस्ता प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षण र विवेकपूर्ण उपयोगमा जोड दिँदै जलवायु परिवर्तनजस्ता विश्वव्यापी समस्याको समाधानतर्फ पनि उन्मुख हुन्छ । यस्तो बहुआयामिक महत्व बोकेको दिगो विकासको संरक्षणमा युवा पुस्ताको अग्रणी र नेतृत्वदायी भूमिका रहेको हुन्छ ।
दिगो विकास नेपाल मात्र नभई वर्तमान विश्वको एक अपरिहार्य एजेन्डा हो ।

आजको आवश्यकता पूरा गर्दा भावी पुस्ताको अधिकार कुण्ठित नहोस् भन्ने मूल मर्ममा आधारित दिगो विकासले आर्थिक समृद्धि, सामाजिक न्याय र वातावरणीय संरक्षणलाई समान महत्व दिन्छ । यस समग्र लक्ष्य प्राप्तिका लागि युवाको भूमिका निर्णायक मानिन्छ । विशेषतः नेपालजस्तो युवा जनसंख्या बढी भएको देशमा दिगो विकासको सफलता युवाको सक्रियता, सीप र नेतृत्वसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कुल जनसंख्याको उल्लेखनीय हिस्सा अर्थात् १६ देखि ४० वर्षको युवाको जनसंख्या ४२.५ प्रतिशत रहेको छ । यति ठूलो हिस्सा भएको युवा समाजको सबैभन्दा सक्रिय र सिर्जनशील वर्ग हो । उनीहरूमा नयाँ सोच अपनाउने, प्रविधि प्रयोग गर्ने र सामाजिक परिवर्तनको नेतृत्व गर्ने क्षमता प्रबल हुन्छ । इतिहासले पनि सिद्ध गरेकोे छ कि सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनका अधिकांश आन्दोलन युवाबाटै शुरु भई सफलसमेत भएका छन् । त्यसैले दिगो विकासको क्षेत्रमा पनि युवाको भूमिका गौण होइन, निर्णायक हुन सक्छ ।यो तब मात्र सम्भव हुन्छ जब युवालाई शिक्षा, सीप, रोजगारी र सहभागिताको उचित अवसर प्रदान गरिन्छ । अन्यथा यही जनसंख्या बेरोजगारी र असन्तोषको कारण बन्न सक्छ । त्यसैले यसलाई मध्यनजर गरी हामी सबै एकजुट भएर हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ ।

दिगो विकासका तीन मुख्य आयामहरु आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा युवाको योगदान स्पष्ट देखिन्छ । आर्थिक क्षेत्रमा युवाहरू नवप्रवर्तन र उद्यमशीलताका अगुवा हुन् । विश्व बैंकका अनुसार साना तथा मझौला उद्यमले विश्वव्यापी रोजगारीको करिब ९० प्रतिशत हिस्सा ओगटेका छन्, जसमा युवाको संलग्नता उल्लेखनीय छ । नेपालमा पनि कृषि उद्यम, पर्यटन, सूचना प्रविधि, स्टार्टअप र नवीकरणीय ऊर्जामा संलग्न युवाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आर्थिक दिगोपनमा टेवा पु¥याइरहेका छन् ।

दिगो विकास केवल आर्थिक वृद्धि मात्र होइन, यसले आर्थिक, सामाजिक, वातावरणीय, सांस्कृतिक र संस्थागत सबै आयामलाई समेट्छ । आर्थिक दृष्टिले यसले दीर्घकालीन उत्पादन, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा जोड दिन्छ । सामाजिक आयाममा गरिबी निवारण, शिक्षा–स्वास्थ्यमा पहुँच, लैङ्गिक समानता, सामाजिक न्याय र मानव अधिकारको सुनिश्चिततासँग यसको गहिरो सम्बन्ध छ । वातावरणीय दृष्टिले दिगो विकासले प्राकृतिक स्रोत–साधनको संरक्षण, जैविक विविधताको रक्षा, प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणलाई प्राथमिकता दिन्छ ।

सांस्कृतिक रूपमा यसले स्थानीय ज्ञान, परम्परा र पहिचानको संरक्षण गर्दै विकासलाई समाजसँग मेल खाने बनाउँछ । संस्थागत तथा राजनीतिक आयाममा सुशासन, नीति–नियमको प्रभावकारी कार्यान्वयन, सहभागितामूलक विकास र उत्तरदायी संस्थाहरूको भूमिका महत्वपूर्ण मानिन्छ । जीवनका विभिन्न पक्षहरूलाई एक–आपसमा जोडेर समग्र मानव कल्याण र भविष्य सुरक्षित गर्ने लक्ष्य राख्ने यस्तो बहुआयामिक विषयलाई संरक्षण र संवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता बन्नुपर्छ ।

सामाजिक विकासको क्षेत्रमा युवाको भूमिका झनै प्रभावशाली छ । शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक समावेशिताका सवालमा युवाहरू परिवर्तनका संवाहक बनेका छन् । युनेस्कोका अनुसार विश्वभर करिब २५ करोड बालबालिका र युवा अझै विद्यालयबाहिर छन् । नेपालमा साक्षरता दर बढ्दै गएको भए पनि गुणस्तरीय शिक्षामा पहुँच अझै चुनौतीपूर्ण छ । यस सन्दर्भमा, स्वयंसेवी अभियान, डिजिटल शिक्षा प्लेटफर्म र समुदायस्तरका पहलमार्फत युवाले शिक्षा र सचेतनाको पहुँच विस्तार गरिरहेका छन् । वातावरणीय संरक्षण दिगो विकासको मेरुदण्ड हो ।

संयुक्त राष्ट्रसंघका तथ्याङ्कअनुसार जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर युवा पुस्ताले भोगिरहेको छ । नेपाल जलवायु जोखिममा परेका शीर्ष १० देशमध्येमा पर्छ । हिमनदी पग्लिनु, बाढी–पहिरो, अनियमित वर्षाजस्ता समस्याले जनजीवन प्रभावित भइरहेको छ । यस पृष्ठभूमिमा, वृक्षारोपण, फोहोर व्यवस्थापन, प्लास्टिक प्रयोग न्यूनीकरण, स्वच्छ ऊर्जाको प्रवद्र्धनजस्ता अभियानमा युवाको सक्रिय सहभागिता आशालाग्दो छ । वैज्ञानिक सोच र प्रविधिको प्रयोग गर्दै वातावरण संरक्षणलाई व्यावहारिक बनाउने क्षमता युवामै निहित हुन्छ ।

दिगो विकासका लक्ष्य कार्यान्वयनमा पनि युवाको भूमिका महत्वपूर्ण छ । सन् २०१५ मा संयुक्त राष्ट्रसंघले तय गरेका १७ वटा दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्म हासिल गर्ने लक्ष्य राखिएको छ । यी लक्ष्यहरू गरिबी अन्त्यदेखि जलवायु कार्यसम्म सबै युवासँग प्रत्यक्ष सरोकार राख्छन् । नीति निर्माण, अनुगमन र कार्यान्वयनमा युवाको सहभागिता बढेमा यी लक्ष्यहरू हासिल गर्ने सम्भावना बलियो हुन्छ । तर यति ठूलो सम्भावनाबीच चुनौतीहरू पनि गम्भीर छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर युवा बेरोजगारी दर वयष्कको तुलनामा दोब्बरभन्दा बढी छ । नेपालमा पनि हरेक वर्ष लाखौँ युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । सीप र बजारको मागबीचको खाडल, नीति तहमा युवाको कमजोर प्रतिनिधित्व र अवसरमा असमान पहुँच प्रमुख समस्या हुन् । यी चुनौतीको समाधानका लागि दीर्घकालीन सोच आवश्यक छ । सीपमूलक र प्रविधिमैत्री शिक्षा, उद्यमशीलतामा लगानी, युवा–मैत्री नीति र नेतृत्व विकास कार्यक्रम अपरिहार्य छन् । साथै, युवालाई केवल लाभग्राही होइन, नीति निर्माण र निर्णय प्रक्रियाका साझेदारका रूपमा हेर्नु आवश्यक छ ।

यसर्थ, दिगो विकास आजको आवश्यकता मात्र नभई भोलिको भविष्य सुरक्षित गर्ने साझा प्रतिबद्धतासमेत हो । आर्थिक समृद्धि, सामाजिक न्याय र वातावरणीय संरक्षणबीच सन्तुलन कायम नगरी गरिने विकास दीर्घकालीन हुन सक्दैन भन्ने सत्य आज झनै स्पष्ट बन्दै गएको छ । यही सन्दर्भमा, ऊर्जा, सिर्जनशीलता र परिवर्तनको वाहक युवा पुस्ता दिगो विकासको प्रमुख आधार र चालक शक्ति हो । नेपालजस्तो युवा जनसंख्या उच्च भएको देशमा युवाको सक्रिय सहभागिता, सीप र नेतृत्वविनाको दिगो विकास कल्पना गर्न पनि सकिँदैन ।

युवालाई अवसर, विश्वास र जिम्मेवारी दिइएमा उनीहरू दिगो विकासका लक्ष्यलाई कागजबाट व्यवहारमा उतार्ने सक्षम शक्ति बन्न सक्छन् । यही भएर युवालाई समस्याको भागमा मात्र नभई समाधानको केन्द्रमा राख्नु आजको अपरिहार्य आवश्यकता हो । प्रकृतिप्रति जिम्मेवार, समाजप्रति संवेदनशील र भविष्यप्रति सचेत युवा पुस्ताबाट नै दिगो, समावेशी र समृद्ध नेपालको आधार निर्माण हुन सक्छ ।

दिगो विकासका लागि आज लिएको सही कदमले भोलिका पुस्तालाई सुरक्षित, सुन्दर र सम्भावनायुक्त भविष्य उपहार दिन सक्ने भएकोले यसमा युवालाई समेटी सबैले लाभ लिनु नै दिगो विकासको सफलताको मूल आधार हो । यस लक्ष्यमा स्थानीय, प्रदेश र संघ सरकारले पनि हात र साथ दिन अति जरुरी छ ।