वर्तमान पुस्ताले आफ्ना आवश्यकता पूरा गर्दा भविष्यका पुस्ताले आफ्ना आवश्यकता पूरा गर्न सक्ने क्षमतामा कुनै पनि असर नपर्ने वा हानि–नोक्सानी नहुने गरी गरिने विकास दिगो विकास हो । दिगो विकासले आर्थिक समृद्धि, सामाजिक समानता र वातावरण संरक्षणजस्ता यी तीन आधारभूत पक्षबीच सन्तुलन कायम गर्न जोड दिन्छ ।
यसले गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा पहुँच, लैङ्गिक समानता, सुशासन, सांस्कृतिक संरक्षणजस्ता सामाजिक पक्षहरूलाई मजबुत बनाउने लक्ष्य राख्छ । जल, जंगल, जमिन, जैविक विविधता, ऊर्जाजस्ता प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षण र विवेकपूर्ण उपयोगमा जोड दिँदै जलवायु परिवर्तनजस्ता विश्वव्यापी समस्याको समाधानतर्फ पनि उन्मुख हुन्छ । यस्तो बहुआयामिक महत्व बोकेको दिगो विकासको संरक्षणमा युवा पुस्ताको अग्रणी र नेतृत्वदायी भूमिका रहेको हुन्छ ।
दिगो विकास नेपाल मात्र नभई वर्तमान विश्वको एक अपरिहार्य एजेन्डा हो ।
आजको आवश्यकता पूरा गर्दा भावी पुस्ताको अधिकार कुण्ठित नहोस् भन्ने मूल मर्ममा आधारित दिगो विकासले आर्थिक समृद्धि, सामाजिक न्याय र वातावरणीय संरक्षणलाई समान महत्व दिन्छ । यस समग्र लक्ष्य प्राप्तिका लागि युवाको भूमिका निर्णायक मानिन्छ । विशेषतः नेपालजस्तो युवा जनसंख्या बढी भएको देशमा दिगो विकासको सफलता युवाको सक्रियता, सीप र नेतृत्वसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कुल जनसंख्याको उल्लेखनीय हिस्सा अर्थात् १६ देखि ४० वर्षको युवाको जनसंख्या ४२.५ प्रतिशत रहेको छ । यति ठूलो हिस्सा भएको युवा समाजको सबैभन्दा सक्रिय र सिर्जनशील वर्ग हो । उनीहरूमा नयाँ सोच अपनाउने, प्रविधि प्रयोग गर्ने र सामाजिक परिवर्तनको नेतृत्व गर्ने क्षमता प्रबल हुन्छ । इतिहासले पनि सिद्ध गरेकोे छ कि सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनका अधिकांश आन्दोलन युवाबाटै शुरु भई सफलसमेत भएका छन् । त्यसैले दिगो विकासको क्षेत्रमा पनि युवाको भूमिका गौण होइन, निर्णायक हुन सक्छ ।यो तब मात्र सम्भव हुन्छ जब युवालाई शिक्षा, सीप, रोजगारी र सहभागिताको उचित अवसर प्रदान गरिन्छ । अन्यथा यही जनसंख्या बेरोजगारी र असन्तोषको कारण बन्न सक्छ । त्यसैले यसलाई मध्यनजर गरी हामी सबै एकजुट भएर हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ ।
दिगो विकासका तीन मुख्य आयामहरु आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा युवाको योगदान स्पष्ट देखिन्छ । आर्थिक क्षेत्रमा युवाहरू नवप्रवर्तन र उद्यमशीलताका अगुवा हुन् । विश्व बैंकका अनुसार साना तथा मझौला उद्यमले विश्वव्यापी रोजगारीको करिब ९० प्रतिशत हिस्सा ओगटेका छन्, जसमा युवाको संलग्नता उल्लेखनीय छ । नेपालमा पनि कृषि उद्यम, पर्यटन, सूचना प्रविधि, स्टार्टअप र नवीकरणीय ऊर्जामा संलग्न युवाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै आर्थिक दिगोपनमा टेवा पु¥याइरहेका छन् ।
दिगो विकास केवल आर्थिक वृद्धि मात्र होइन, यसले आर्थिक, सामाजिक, वातावरणीय, सांस्कृतिक र संस्थागत सबै आयामलाई समेट्छ । आर्थिक दृष्टिले यसले दीर्घकालीन उत्पादन, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा जोड दिन्छ । सामाजिक आयाममा गरिबी निवारण, शिक्षा–स्वास्थ्यमा पहुँच, लैङ्गिक समानता, सामाजिक न्याय र मानव अधिकारको सुनिश्चिततासँग यसको गहिरो सम्बन्ध छ । वातावरणीय दृष्टिले दिगो विकासले प्राकृतिक स्रोत–साधनको संरक्षण, जैविक विविधताको रक्षा, प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणलाई प्राथमिकता दिन्छ ।
सांस्कृतिक रूपमा यसले स्थानीय ज्ञान, परम्परा र पहिचानको संरक्षण गर्दै विकासलाई समाजसँग मेल खाने बनाउँछ । संस्थागत तथा राजनीतिक आयाममा सुशासन, नीति–नियमको प्रभावकारी कार्यान्वयन, सहभागितामूलक विकास र उत्तरदायी संस्थाहरूको भूमिका महत्वपूर्ण मानिन्छ । जीवनका विभिन्न पक्षहरूलाई एक–आपसमा जोडेर समग्र मानव कल्याण र भविष्य सुरक्षित गर्ने लक्ष्य राख्ने यस्तो बहुआयामिक विषयलाई संरक्षण र संवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता बन्नुपर्छ ।
सामाजिक विकासको क्षेत्रमा युवाको भूमिका झनै प्रभावशाली छ । शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता र सामाजिक समावेशिताका सवालमा युवाहरू परिवर्तनका संवाहक बनेका छन् । युनेस्कोका अनुसार विश्वभर करिब २५ करोड बालबालिका र युवा अझै विद्यालयबाहिर छन् । नेपालमा साक्षरता दर बढ्दै गएको भए पनि गुणस्तरीय शिक्षामा पहुँच अझै चुनौतीपूर्ण छ । यस सन्दर्भमा, स्वयंसेवी अभियान, डिजिटल शिक्षा प्लेटफर्म र समुदायस्तरका पहलमार्फत युवाले शिक्षा र सचेतनाको पहुँच विस्तार गरिरहेका छन् । वातावरणीय संरक्षण दिगो विकासको मेरुदण्ड हो ।
संयुक्त राष्ट्रसंघका तथ्याङ्कअनुसार जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर युवा पुस्ताले भोगिरहेको छ । नेपाल जलवायु जोखिममा परेका शीर्ष १० देशमध्येमा पर्छ । हिमनदी पग्लिनु, बाढी–पहिरो, अनियमित वर्षाजस्ता समस्याले जनजीवन प्रभावित भइरहेको छ । यस पृष्ठभूमिमा, वृक्षारोपण, फोहोर व्यवस्थापन, प्लास्टिक प्रयोग न्यूनीकरण, स्वच्छ ऊर्जाको प्रवद्र्धनजस्ता अभियानमा युवाको सक्रिय सहभागिता आशालाग्दो छ । वैज्ञानिक सोच र प्रविधिको प्रयोग गर्दै वातावरण संरक्षणलाई व्यावहारिक बनाउने क्षमता युवामै निहित हुन्छ ।
दिगो विकासका लक्ष्य कार्यान्वयनमा पनि युवाको भूमिका महत्वपूर्ण छ । सन् २०१५ मा संयुक्त राष्ट्रसंघले तय गरेका १७ वटा दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्म हासिल गर्ने लक्ष्य राखिएको छ । यी लक्ष्यहरू गरिबी अन्त्यदेखि जलवायु कार्यसम्म सबै युवासँग प्रत्यक्ष सरोकार राख्छन् । नीति निर्माण, अनुगमन र कार्यान्वयनमा युवाको सहभागिता बढेमा यी लक्ष्यहरू हासिल गर्ने सम्भावना बलियो हुन्छ । तर यति ठूलो सम्भावनाबीच चुनौतीहरू पनि गम्भीर छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर युवा बेरोजगारी दर वयष्कको तुलनामा दोब्बरभन्दा बढी छ । नेपालमा पनि हरेक वर्ष लाखौँ युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । सीप र बजारको मागबीचको खाडल, नीति तहमा युवाको कमजोर प्रतिनिधित्व र अवसरमा असमान पहुँच प्रमुख समस्या हुन् । यी चुनौतीको समाधानका लागि दीर्घकालीन सोच आवश्यक छ । सीपमूलक र प्रविधिमैत्री शिक्षा, उद्यमशीलतामा लगानी, युवा–मैत्री नीति र नेतृत्व विकास कार्यक्रम अपरिहार्य छन् । साथै, युवालाई केवल लाभग्राही होइन, नीति निर्माण र निर्णय प्रक्रियाका साझेदारका रूपमा हेर्नु आवश्यक छ ।
यसर्थ, दिगो विकास आजको आवश्यकता मात्र नभई भोलिको भविष्य सुरक्षित गर्ने साझा प्रतिबद्धतासमेत हो । आर्थिक समृद्धि, सामाजिक न्याय र वातावरणीय संरक्षणबीच सन्तुलन कायम नगरी गरिने विकास दीर्घकालीन हुन सक्दैन भन्ने सत्य आज झनै स्पष्ट बन्दै गएको छ । यही सन्दर्भमा, ऊर्जा, सिर्जनशीलता र परिवर्तनको वाहक युवा पुस्ता दिगो विकासको प्रमुख आधार र चालक शक्ति हो । नेपालजस्तो युवा जनसंख्या उच्च भएको देशमा युवाको सक्रिय सहभागिता, सीप र नेतृत्वविनाको दिगो विकास कल्पना गर्न पनि सकिँदैन ।
युवालाई अवसर, विश्वास र जिम्मेवारी दिइएमा उनीहरू दिगो विकासका लक्ष्यलाई कागजबाट व्यवहारमा उतार्ने सक्षम शक्ति बन्न सक्छन् । यही भएर युवालाई समस्याको भागमा मात्र नभई समाधानको केन्द्रमा राख्नु आजको अपरिहार्य आवश्यकता हो । प्रकृतिप्रति जिम्मेवार, समाजप्रति संवेदनशील र भविष्यप्रति सचेत युवा पुस्ताबाट नै दिगो, समावेशी र समृद्ध नेपालको आधार निर्माण हुन सक्छ ।
दिगो विकासका लागि आज लिएको सही कदमले भोलिका पुस्तालाई सुरक्षित, सुन्दर र सम्भावनायुक्त भविष्य उपहार दिन सक्ने भएकोले यसमा युवालाई समेटी सबैले लाभ लिनु नै दिगो विकासको सफलताको मूल आधार हो । यस लक्ष्यमा स्थानीय, प्रदेश र संघ सरकारले पनि हात र साथ दिन अति जरुरी छ ।











प्रतिक्रिया