नयाँ दिल्ली, (एजेन्सी) ।
भारत र श्रीलंकामा यही फेब्रुवरी ७ देखि पुरुष टी २० विश्वकप क्रिकेट प्रतियोगिता शुरु हुँदैंछ । भारत आयोजक हुँदा पाकिस्तानको खेल भारतमा राखिएको छैन । राजनीतिक खटपटकोे कारण पाकिस्तान भारतमा गएर खेल्दैन र भारत पाकिस्तानमा गएर खेल्दैन । तर, पछिल्ला विश्वकपमा तटस्थ मैदानमा भने यी दुबैको खेल भएको छ ।
यसपटक भने पाकिस्तानको खेल श्रीलंकामा राखेपनि पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने बताइसकेको छ । यसअनुसार भारत र पाकिस्तानबीच १५ फेबु्रवरीमा हुने समूह चरणको खेल नहुने संभावना बढ्दो छ । यसले आयोजकलाई ठूलो रकमको नोक्सान गर्ने पनि तथ्य बाहिर आइसकेकोे छ । एक तथ्यांकअनुसार यदि यो खेल नभएमा करिब २५ करोड अमेरिकी डलर नोक्सान हुने अनुमान लगाइएको छ ।
यो खेल आयोजना गर्न नसकेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र भारतीय मिडिया अधिकार जियोस्टारलाई भारी आर्थिक नोक्सानको सामना गर्नु पर्ने हुन्छ । क्रिकेटमा भारत र पाकिस्तानबीचकोे खेलमा सबैभन्दा आर्थिक आम्दानी हुन्छ ।
यी दुई टोलीबीचको खेलको प्रत्यक्ष प्रसारणमा बीचमा १० सेकेण्डको एड स्लटको मूल्य नै ४८ हजार डलरसम्म पर्ने पनि बताइएको छ । यस्तै, प्रसारणकर्ताहरूलाई २४ देखि ३० मिलियन डलर बराबरको विज्ञापन घाटा हुन सक्ने अनुमान छ ।











प्रतिक्रिया