धादिङमा २७ सय ३३ लाई एचपीभी खोप लगाइने


धादिङ । 

महिलाको पाठेघरको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप धादिङमा दोस्रो वर्ष २ हजार ७ सय ३३ जनालाई लगाइने भएको छ । 
जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकमा एचपीभी खोप सम्बन्धी विषयमा जानकारी दिँदै जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्यसचिव अर्जुन पौडेलले जिल्लाका २ हजार ७ सय ३३ जनालाई खोप दिइने जानकारी दिए । 

नेपालभर एचपीभी खोप अभियान धादिङ जिल्लामा ०८२ माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने छ । विद्यालयका अध्यायनरत कक्षा ६ का किशोरीहरु र विद्यालय बाहिर भएका १० वर्ष पुरा भएका ११ वर्षमुनिकालाई खोप लगाइने छ । धादिङ जिल्लामा यस अभियानका लागि तयारी भइरहेको उल्लेख  गर्दै कार्यालय प्रमुख पौडेलले खोप सामाग्री जिल्लामा आएको र वितरण सुरु भएको छ । २ सय ५६ खोप केन्द्रबाट १ सय ९८ स्वास्थ्यकर्मी र ४ सय २६ स्वयंसेवक मार्फत खोप दिइने छ । विद्यालय बाहिर रहेकाहरु समेत नछुटुन भनेर खोजी र पहिचान समेत गर्दै पाठेघरको मुखको क्यान्सरबाट बचाउने खोप लगाइने योजना रहेको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पदमराज कैनीले जानकारी दिए । 

अभियानको समयमा खोप लगाउन कुनै कारणबस छुटेमा फागुनमा सञ्चालन हुने नियमित खोप कार्यक्रममा किशोरीहरुलाई खोप दिइने छ । 
सोही अबसरमा नसर्ने रोगको रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय समन्वय समिति बैठक बसी नसर्ने रोगबारे जानकारी गराइएको छ । 

जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिका ज्लामूखि गाउँपालिका अध्यक्ष यमनाथ दनै, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी,  नेपाल पत्रकार महासंघका अध्यक्ष सीतराम अधिकारी,  गैसस महासंघका अध्यक्ष तोला पाठक लगायतको सहभागिता रहेको थियो । नेपालमा २१ मृत्यु नसर्ने रोगका कारण भइको जानकारी दिँदै धादिङ जिल्लामा गतवर्ष ४ सय १ जना क्यान्सर बिरामीको उपचार खर्चका लागि सिफारिस भएको जनस्वास्थ्य कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।