विश्व संगीत क्षेत्रको प्रतिष्ठित ग्रामी अवार्डको ६८ औं संस्करणमा ९० वर्षीय तिब्बती धर्मगुरु दलाई लामालाई अवार्ड दिइएको छ।
उनी बेस्ट अडियोबुक, न्यारेसन एन्ड स्टोरीटेलिङ रेकर्डिङ विधाका विजेता भएका हुन्। अमेरिकाको लस एन्जलसस्थित क्रिप्टो डटकम एरिनामा सम्पन्न मुख्य समारोह तथा त्यसअघि सम्पन्न प्रिमियर सेरोमनीमा वर्षभरिका उत्कृष्ट कलाकार र सिर्जनालाई सम्मान गरिएको थियो। मुख्य समारोहअघि सम्पन्न प्रिमियर शोमा उनको नाम विजेताका रूपमा घोषणा गरिएको थियो। कार्यक्रममा दलाई लामा स्वयं उपस्थित हुन नसकेपछि उनको तर्फबाट अमेरिकी गायक तथा संगीतकार रुफस वेनराइटले स्टेजमा पुगेर ट्रफी ग्रहण गरेका थिए।
भारतको हिमाञ्चल प्रदेशको धर्मशालास्थित म्याकलोड गञ्जमा बसोबास गर्दै आएका दलाई लामाले आफ्नो अडियो कृति मेडिटेसन्स ः द रिफ्लेक्सन अफ हिज होलिनेस दलाई लामाका लागि यो सम्मान प्राप्त गरेका हुन्। उक्त विधामा कडा प्रतिस्पर्धा रहेको थियो। मनोनयन सूचीमा गायक फाब मोर्भान, अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश केतान्जी ब्राउन ज्याक्सन, चर्चित कमेडियन ट्रेभर नोआ र अभिनेत्री क्याथी गार्भरजस्ता नाम पनि समावेश थिए। ग्रामी अवार्ड जितेपछि दलाई लामाले सामाजिक सञ्जालमार्फत आप्mनो प्रतिक्रिया सार्वजनिक गर्दै यस सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि विश्वव्यापी जिम्मेवारीको प्रतीकका रूपमा स्वीकार गरेको बताएका छन्। शान्ति, करुणा, वातावरणप्रति जिम्मेवारी र सम्पूर्ण मानवता एक हो भन्ने भावनालाई विश्वभर फैलाउन यो सम्मान सहयोगी हुने विश्वास उनले व्यक्त गरेका छन्।
सो अडियोबुकका निर्माता भारतीय मूलका कवीर सेगल हुन्, जो हाल अमेरिकाको एटलान्टामा बसोबास गर्छन्। बहुआयामिक प्रतिभाका धनी सेगल संगीतकार, बेस–गिटारिस्ट, फिल्म निर्माता, सैनिक भेट्रान तथा फाइनान्स विज्ञसमेत हुन्। उनले यसअघि पनि थुप्रै ग्रामी र एमी अवार्ड जितिसकेका छन््। एल्बम निर्माणका लागि दलाई लामाका सय घण्टाभन्दा बढी प्रवचन र संवाद प्रयोग गरिएको छ। यस परियोजनामा विश्वप्रसिद्ध कलाकारहरूको सहभागिताले यसलाई अझ विशिष्ट बनाएको छ। सरोद वादनका दिग्गज उस्ताद अमजद अली खान, उनका छोरा अमान र अयान अली बंगश, गायक रुफस वेनराइट तथा गायिका–अभिनेत्री आन्द्रा डेले एल्बममा आफ्नो कला प्रस्तुत गरेका छन्।
समारोहमा गायक ब्याड बन्नीले आफनो एल्बम डेबी तिरार मास फोटोजका लागि एल्बम अफ द इयर अवार्ड जिते। रेकर्ड अफ द इयर र बेस्ट मेलोडिक ¥याप परफर्मेन्स अवार्ड भने केन्ड्रिक लामार र एसजेडएको गीत लुथरले हात पा¥यो। केन्ड्रिक लामारले बेस्ट ¥याप एल्बम र ¥याप सङसमेत जित्दै अवार्ड समारोहमा दबदबा जमाए। त्यस्तै सङ अफ द इयर अवार्ड बिली आइलिएसको वाइल्डफ्लावरले जित्यो।
बेस्ट पप भोकल एल्बम र बेस्ट डान्स पप रेकर्डिङ अवार्ड भने लेडी गागाले आफ्नो नाममा पारेकी छन्। यस वर्षको न्यू आर्टिस्टको उपाधि ओलिभिया डिनले, ट्रेडिसनल पप भोकल एल्बम अवार्ड लाउफेको अ म्याटर अफ टाइमले र अल्टरनेटिभ म्युजिक एल्बम अवार्ड द क्योरको सङ्स अफ अ लस्ट वल्र्डले प्राप्त गरेको छ।
अफ्रिकन म्युजिक परफर्मेन्स अवार्ड टाइलाको पुष टु स्टार्टले जित्दा डान्स÷इलेक्ट्रोनिक एल्बम अवार्ड विजेता एफकेए ट्विग्सको युसेक्सुआ बन्यो भने कन्टेम्पोररी कन्ट्री एल्बम जेली रोलको ब्युटिफुली ब्रोकनले जित्दा बेस्ट आर एन्ड बी एल्बम अवार्ड लियोन थोमसको मटले हात पा¥यो। एमी एलेन सङराइटर अफ द इयर घोषित भइन् भने प्रोड्युसर अफ द इयर अवार्ड सर्कुटले, पप डुओ÷ग्रुप परफर्मेन्स सिन्थिया एरिभो र एरियाना ग्रान्डेको डिफाइङ ग्राभिटीले प्राप्त ग¥यो।











प्रतिक्रिया