बीपी कांग्रेस मिलाएर चुनाव जित्ने दाउ
डडेल्धुरा ।
नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रमुख तीन राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
२०१५ सालमा सम्पन्न आम निर्वाचनदेखि नै कांग्रेसको गढ मानिने डडेल्धुरामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिएको छ । नवयुवा मतदाताहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति रुझान देखिन थालेको छ भने सांगठिक रूपमा बलियो नेपाली कम्युनिस्ट पार्टी पनि कांग्रेसको बलियो प्रतिस्पर्धीका रूपमा देखिएको छ ।
२०४८ सालको आम निर्वाचनदेखि हालसम्म निरन्तर विजयी हुँदै आएका देउवाको विरासत जोगाउन कांग्रेसलाई सकस छ । कांग्रेसको विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वले युवा नेता नैनसिंह महरलाई डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । २०७९ सालको प्रदेशसभा निर्वाचनमा बीपी कांग्रेसको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी डा. ताराप्रसाद जोशीलाई रास्वपाले उम्मेदवार बनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीबाट युवा नेता मानसिंह माल चुनावी मैदानमा हुनुहुन्छ ।एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि १३ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमध्ये १० राजनीतिक दलका उम्मेदवार र तीन स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो स्थानीय तह निर्वाचनमा पाँच स्थानीय तहमा विजयी हासिल गरेको कांग्रेस सांगठिनक रूपमा जिल्लामा बलियो राजनीतिक दल हो ।
दुई स्थानीय तहको नेतृत्वमा, परशुराम नगरपालिकामा उपप्रमुखसहित बहुमत वडाध्यक्ष र अन्य स्थानीय तहका वडा अध्यक्ष र सदस्यमा बलियो उपस्थिति रहेको तत्कालीन माओवादी र एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी पनि सांगठिनक रूपमा कमजोर नरहेको माओवादीका पुराना नेता चन्द्रबहादुर ठकुराठी ‘प्रतिरोध’ बताउनुहुन्छ ।
वैदेशिक रोजगारीमा रहेका युवादेखि नवयुवा मतदाताहरूको बलियो समर्थन पाएका रास्वपाका उम्मेदवार डा. जोशी साढे तीन दशकदेखि जिल्ला राजनीतिमा क्रियाशील निष्कलङ्क र इमानदार छविका कारण लोकप्रिय मत बढी पाउने आँकलन गरिन थालिएको छ ।
तत्कालीन एमाले र मालेको डडेल्धुरामा पटकपटक नेतृत्व गरेका डा. जोशी पछिल्लो निर्वाचनका क्रममा एकीकृत समाजवादीमा समाहित हुनुभएको थियो । पाँच दलीय गठबन्धनमा भागवण्डा नमिलेका कारण टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभामा विजयी डा. जोशी उज्यालो नेपाल पार्टी हुँदै रास्वपाको उम्मेदवार बन्नुभएको हो ।
विद्यार्थी राजनीतिबाट उदाएर नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य युवा नेता महरसामु जिल्लामा पार्टी एकताबद्ध बनाएर चुनाव जित्ने अवसर भने कायमै छ । उम्मेदवारी मनोनयनका क्रममा देउवाकै निर्देशनअनुसार टिकट लिएर चुनावी मैदानमा उत्रिएको दाबी गरेका महरलाई पाका कांग्रेस कार्यकर्ताहरूले खासै पत्याएका छैनन् । उम्मेदवारी मनोनयन दर्तापश्चात यहाँका प्रसिद्ध देवीदेवताहरूको मन्दिरमा पूजाअर्चना गरेपछि कार्यकर्ताहरूमा देखिएको अन्योलता चिर्न देउवालाई भेट्न काठमाडौं पुगेका महरले पाँच दिनसम्म प्रयास गरे पनि भेटघाट हुन नसकेको नेपाली कांग्रेस डडेल्धुराका एक सदस्यले जानकारी दिए ।
देउवासँग भेटघाट हुन नसकेपछि महरले नेपाली कांग्रेसबाट विद्रोह गरेर नेपाली कांग्रेस (बीपी) को राजनीति गरिरहनुभएका सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लसँग भेटघाट गर्नुभएको थियो । ‘कांग्रेस र बीपी कांग्रेसबीच पार्टी एकता प्रक्रिया सकारात्मक ढंगले अघि बढेको छ,’ मल्लले भन्नुभयो– ‘सहयोग गर्नुहोस् भनेर नैनसिंहजी भेट्न आउनुभएको थियो, मैले पार्टी एकता भएपछि सहयोग गर्छु भनेको छु ।’
क्रियाशील सदस्यता विवाद समाधानका लागि न्याय माग्दै पार्टी मुख्यालय सानेपामा अनशनमा बसेका तत्कालीन डडेल्धुरा कांग्रेसका सभापति मल्लसहित दुई तिहाइ जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बाइपास गरेर सातौं जिल्ला अधिवेशन सम्पन्न गरिएपछि मल्लले विद्रोह गर्नुभएको थियो ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा बीपी कांग्रेसबाट उम्मेदवार बनेर तत्कालीन कांग्रेस सभापति देउवासँग प्रतिस्पर्धा गरेका मल्लले ७ हजार ५ सय ३५ मत प्राप्त गर्नुभएको थियो ।बीपी कांग्रेससँग पार्टी एकताका लागि पहल भइरहेको डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउद बताउनुहुन्छ ।
‘दुवै कांग्रेसबीच एकता हुनेबित्तिकै डडेल्धुरामा जस्तोसुकै कमजोर उम्मेदवारले पनि विजय हासिल गर्ने निश्चित छ,’ बीपी कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति करुणाकर भट्टले भन्नुभयो– ‘बीपी कांग्रेस निर्णायक शक्तिका रूपमा देखिएको छ ।’ निर्वाचनका बेला कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मात्रै बीपी कांग्रेससँग एकताको प्रस्ताव ल्याइएको हो भने डडेल्धुरामा कांग्रेसलाई हराउने तागत बीपी कांग्रेससँग रहेको बीपी कांग्रेस डडेल्धुराका सचिव युवा नेता सन्तोष देउवाले बताउनुभयो ।











प्रतिक्रिया