भारतको म्याक्स अस्पतालमा नेपाली बिरामीको एड्भान्स्ड क्यान्सरको सफल उपचार

सीमा–पार स्वास्थ्य सहकार्यमा क्यान्सर उपचार सफलताः म्याक्स अस्पताल


काठमाडौं।

भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपर स्पेसियालिटी अस्पताल, वैशालीले दुई जटिल क्यान्सर रोग भएका नेपाली बिरामीमा सफल उपचार नतिजा हासिल गरेको जनाएको छ। अस्पतालका चिकित्सकहरूले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपचारका विवरण सार्वजनिक गर्दै समयमै मूल्याङ्कन, बहु–विषयक उपचार रणनीति र समन्वित चिकित्सकीय सेवाले जटिल क्यान्सर नियन्त्रण सम्भव हुने बताएका छन्।

पहिलो केसमा ७३ वर्षीया नेपाली महिलामा एड्भान्स्ड रेक्टल क्यान्सर (मलद्वारको क्यान्सर) पुष्टि भएको थियो। बिरामीमा रक्तश्रावको लक्षण देखिएपछि परीक्षण गर्दा क्यान्सर आन्द्राबाट बाहिर फैलिएको र नजिकका लिम्फ नोडसम्म पुगेको पाइएको थियो। बिरामीलाई प्रारम्भमा किमोथेरापी र रेडियोथेरापी दिइएको थियो। अपेक्षित प्रतिक्रिया नदेखिएपछि म्याक्स अस्पतालको बहु–विषयक चिकित्सक टोलीले उपचार योजना परिमार्जन गर्दै सर्जरीमार्फत ट्युमर हटाउने रणनीति अपनाएको जनाएको छ। न्यूनतम आक्रामक प्रविधिबाट गरिएको शल्यक्रियापछि क्यान्सर पूर्ण रूपमा हटाइएको पुष्टि भएको अस्पतालले जनाएको छ। उपचारपछि बिरामीको अस्थायी स्टोमा हटाइ सामान्य मल नियन्त्रण पुनःस्थापित गरिएको जनाइएको छ।

दोस्रो केसमा ६५ वर्षीय नेपाली पुरुषमा एड्भान्स्ड बाइल डक्ट क्यान्सर (पित्त नलीको क्यान्सर) पुष्टि भएको थियो। जन्डिस देखिएपछि गरिएको परीक्षणमा पित्त नलीमा क्यान्सर र कलेजोसम्म फैलावट भएको पाइएको थियो। प्रारम्भिक चरणमा पित्त नलीको अवरोध हटाउन प्रक्रिया गरिएको र त्यसपछि किमोथेरापीमार्फत रोग नियन्त्रण गरी प्रमुख कलेजो शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। शल्यक्रिया सफल भएको र पछिल्लो परीक्षणमा रोग पुनःदेखिएको प्रमाण नभएको बताइएको छ।

म्याक्स अस्पतालका प्रिन्सिपल डाइरेक्टर (ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी सर्जिकल अनकोलोजी) डा. विवेक मंग्लाले भने, “जटिल क्यान्सरमा बिरामीलाई रोग नियन्त्रण र उपचारपछिको जीवनस्तरबारे ठूलो चिन्ता हुन्छ। समयमै मूल्याङ्कन, समन्वित विशेषज्ञ उपचार र योजनाबद्ध रणनीतिले जटिल क्यान्सर पनि प्रभावकारी रूपमा नियन्त्रण सम्भव छ।”

यसै क्रममा म्याक्स अस्पतालको टोलीले काठमाडौंमा निरन्तर चिकित्सकीय शिक्षा (CME) कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा काठमाडौं तथा आसपासका ९० भन्दा बढी चिकित्सक तथा विशेषज्ञ सहभागी भएको अस्पतालले जनाएको छ। कार्यक्रममा जटिल अनकोलोजी केसहरू, क्लिनिकल अनुभव र उत्कृष्ट अभ्यासबारे छलफल गरिएको थियो।

अस्पतालले नेपाल–भारतबीच क्यान्सर उपचारमा ज्ञान आदानप्रदान, शैक्षिक सहकार्य र क्षमता विकासमा प्रतिबद्ध रहेको जनाएको छ।

म्याक्स हेल्थकेयर भारतका सबैभन्दा ठूला स्वास्थ्य सेवा नेटवर्कहरूमध्ये एक हो, जसले २० अस्पतालमार्फत ३० भन्दा बढी विशेषज्ञतामा ५,२०० भन्दा बढी शैया र ५,००० भन्दा बढी चिकित्सकसहित विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।