काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौँका पूर्वमेयर बालेन शाहसँग सुदूरपश्चिम यात्रामा रहेका पत्रकार दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । अछाममा अचानक अचेत भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका सिटौलाको हाल टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार सिटौलालाई ‘ब्रेन ह्यामरेज’ (मस्तिष्क घात) भएको पुष्टि भएको छ । “उहाँको अवस्था अहिले निकै गम्भीर छ, हामीले भेन्टिलेटरमा राखेर विशेष निगरानी गरिरहेका छौँ,” अस्पतालका एक चिकित्सकले भने, “अहिलेको अवस्था स्थिर रहे पनि खतरामुक्त भन्न सकिने अवस्था छैन ।” चिकित्सकहरूले शनिबार साँझसम्म थप स्वास्थ्य अपडेट आउन सक्ने बताएका छन् ।
अछाममा अचानक अचेत चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका ४३ वर्षीय सिटौला बालेन शाहको टोलीसँगै केही दिनदेखि सुदूरपश्चिम र कर्णाली क्षेत्रको भ्रमणमा थिए । हिजो (शुक्रबार) बिहान करिब ९:४५ बजे अछामको मंगलसेन जाने क्रममा एक स्थानमा चिया खान गाडीबाट ओर्लिने क्रममा उनी अचानक अचेत भई ढलेका थिए ।
तत्काल उनलाई अछाम जिल्ला अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचार पछि अवस्था जटिल देखिएपछि जिल्ला प्रहरी कार्यालय अछाम र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हवाई उद्धार टोलीले उनलाई सुर्खेत हुँदै काठमाडौँ ल्याएको थियो ।
बालेन शाह भ्रमण छोट्याएर काठमाडौँमा आफ्ना निकट सहयोगी एवं पत्रकार सिटौला अस्वस्थ भएपछि बालेन शाहले आफ्नो सुदूरपश्चिम र कर्णालीको राजनीतिक यात्रा छोट्याएर काठमाडौँ फर्किएका छन् । उनी आजै दिउँसो सिटौलाको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगेका थिए । शाहले चिकित्सकहरूसँग सिटौलाको पछिल्लो अवस्था र उपचार पद्धतिका बारेमा जानकारी लिएका छन् ।
सिटौला लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् र पछिल्लो समय बालेन शाहको अभियानमा निकट रहेर काम गरिरहेका थिए । उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पत्रकार र शुभेच्छुकहरूले चिन्ता व्यक्त गरिरहेका छन् ।











प्रतिक्रिया