समाज, राष्ट्र र मानवताको उच्च हितका लागि आफ्नो जीवन निःस्वार्थ रूपमा सहर्ष त्याग गर्न सक्ने महान् व्यक्ति नै शहीद हो । अन्याय, अत्याचार, दमन, शोषण र निरंकुशताविरुद्ध संघर्ष गर्दै स्वतन्त्रता, समानता, न्याय र लोकतन्त्रको स्थापनाका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु चानचुने कुरा हुन सक्दैन ।
शहीद हुनु केवल मृत्यु होइन, त्यो राष्ट्रप्रतिको चरम समर्पण, अटुट साहस र अमर विचारको प्रतीकसमेत हो । यिनै वीर शहीदहरुको महान् आत्माहरूको स्मरण गर्ने राष्ट्रको लागि एक विशष दिन शहीद दिवस हो । निरंकुश शासन, अन्याय र अत्याचारविरुद्ध संघर्ष गरेका शहीदहरूप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्न नेपालमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । शहीद दिवस केवल विगत सम्झने औपचारिक दिन मात्र नभई वर्तमानलाई आत्मसमीक्षा गर्ने र भविष्यप्रति जिम्मेवार बन्ने प्रेरणादायी क्षण पनि हो ।
नेपालका प्रमुख चारजना वीर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातन्त्र बहालीका खातिर देश र जनताको पक्षमा आवाज उठाउँदा सहादत प्राप्त गरेका शहीदहरुको सम्मान र सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइन्छ । शहीद भन्नेबित्तिकै सर्वप्रथम सबैले दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई सम्झिन्छन् । तर हाल नेपालमा शहीदको सूचीमा सूचीकृत हुनेहरुको सूची लामै तयार भइसकेको छ । बीचमा कटौती भएको शहीद दिवसको सार्वजनिक बिदा सरकारले केही वर्षअघिबाट पुनः निरन्तरता दिएको छ ।
पछिल्लो समय शहीदको नाममा भएको राजनीतिले देश र जनताको नाममा बलिदान दिने शहीदको महत्वलाई समेत फिक्का र हलुका बनाइदिएको छ । मूल्यहीन बनाइदिएको छ । सार्थकताहीन बनाइदिएको छ । प्रत्येक वर्ष माघ १६ मा शहीद दिवस मनाइने गरे पनि राज्यले शहीदको सम्मानलाई कमै महत्व दिएको आभास हुन थालको छ । देशमा परिवर्तन ल्याउनको लागि अनि भावी पुस्ता र देशको आयाम बदल्नको आगि आफ्नो ज्यान अर्पण गर्ने वास्तविक शहीदको पहिचान र सम्मानमा सम्बन्धित पक्षको चासो पुगेको देखिँदैन ।
हिजोआज शहीद दिवस औपचारिकतामा मात्र सीमित हुन थालेको छ । यस्तो दिवसलाई केवल परम्परा धान्ने कार्यका रुपमा सीमित राख्नु विडम्बना हो । यस्तो दिवसलाई शहीदले देखाएको बाटो र दिशातर्फ इमानदारिताका साथ अग्रसर हुने प्रतिबद्धता जनाउने अवसरको रुपमा लिन सक्नुपर्छ । अनि मात्र शहीद दिवस मनाउनुको सार्थकता र औचित्य रहन्छ । सामाजिक न्याय, मुलुकको समुन्नति र जनताको अधिकारको लागि प्राणको आहुति गर्नेहरु नै वास्तविक शहीद हुन् र तिनको सदैव स्मरण र सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।
शहीदको सूचीमा सूचीकृत हुनु मात्र ठूलो कुरो होइन । देश र जनताको हितका खातिर कत्तिको योगदान पु¥याएको छ भन्ने विषय महत्वपूर्ण बन्नुपर्छ । नेपालमा भएका ठूला जनआन्दोलनमा निम्न र मध्यमवर्गका जनताको महत्वपूर्ण सहभागिता र योगदान रहँदै आएको छ । तर शहीद घोषणा गर्ने बेलामा भने टाठाबाठा र माथिल्लो तहमा पहँुच भएका व्यक्तिका आफन्त तथा नातागोताभित्रका सदस्य मात्र शहीदमा समेटिएको जनगुनासो सुनिन्छ । यस्तो विषयमा सरोकारवाला निकाय संवेदनशील बनेर वास्तविक शहीदको मात्र सूचीकृत हुने वातावरण निर्माण गर्न जरुरी छ ।
हिजोआज शहीद दिवसको महत्व पनि बिस्तारै कमजोर हुन थालेको भान हुन थालेको छ । किनकि शहीद दिवस आएको र गएको धेरैलाई अत्तोपत्तो हुन छोडेको छ । केही मानिस जम्मा भएर शहीदको शालिकमा माल्यार्पण गरे, मौनधारण गरे, सकियो । यत्तिले मात्र शहीद दिवस मनाउनुको सार्थकता कदापि झल्किन सक्दैन । यसमा स्वयं सरकारले नै शहीद दिवसलाई एउटा महोत्वसको रुपमा मनाउने वातावरण सिर्जना गर्नुपर्छ ।
पछिल्लो पुस्तालाई शहीद भनेका को हुन्, त्यो पनि केही थाहा हुँदैन । त्यसैले सरकारले नै शहीद दिवसलाई एउटा अभियानको रुपमा सञ्चालन गरी शहीद सप्ताहमा शहीदको सम्मानमा विभिन्न फरक–फरक खालका कार्यक्रम आयोजना गर्नुपर्छ । जस्तै– एकदिन शहीद भनेका को हुन् ? तिनको योगदानको बारेमा चर्चा–परिचर्चा गर्ने, अर्को दिन शहीदका परिवारलाई सम्झिएर तिनलाई सम्मान गर्र्र्ने, अर्को दिन देशैभरि दीपावली गर्ने, अर्को दिन शहीदको नाममा विभिन्न खालका खेलकुद प्रतियोगिता आयोजना गर्ने, अर्काे दिन सम्पूर्ण ज्ञात–अज्ञात शहीदलाई सम्झिएर एक मिनेट निश्चित समयमा देशवासीले नै एक मिनेट मौनधारण गर्ने ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शहीद को हुन् भनेर जानकारी गराउने । एवं रीतले बाँकी दिन पनि कुनै न कुनै कार्यक्रम गरेर शहीद दिवस मनाउँदा उपयुक्त हुन सक्ने देखिन्छ । यस प्रकार कार्यक्रमको आयोजना गर्नाले शहीदप्रति सच्चा सम्मान हुने र शहीद दिवस मनाउनुले समेत सार्थकता पाउने ठहर्छ ।
यसै गरी जनता र समाजको लागि सार्वजनिक हितका पक्षमा काम गर्दागर्दै ज्यान गुमाएका वीर सपुतलाई शहीदको सूचीमा राख्नको लागि सिफारिस गरिएको भए तापनि विगत वर्षहरुमा गाडीको ठक्करबाट ज्यान गुमाएका, खोलामा बगेर मृत्यु भएका, भिरबाट लड्दा, हिँड्दाहिँड्दै ज्यान गुमाएकाहरुलाई पनि शहीदको सूचीमा सूचीकृत गरिएको भनेर आम गुनासो सुनिने गरेको छ । यसरी ज्यान गुमाएकाहरुलाई शहीदको सूचीमा राख्दा वास्तविक शहीदको अवमूल्यन त भएकै छ, त्यसमाथि सहादत प्राप्त गरेका वास्तविक शहीदप्रति घोर अन्याय र अपमान भएको महसुस हुन थालेको छ ।
स्वतन्त्रता अनि सार्वभौमिकताको अनुपम अट्टहासमा मुस्कुराइरहेको हरेक नेपालीको अनुहारमा शहीदहरुको अनुहार मुस्कुराइरहेको हुन्छ । नेपाली आकाशमा उनीहरुको सपना छ अनि नेपाली प्रजातान्त्रिक अभ्यासमा शहीदहरुको निःस्वार्थ बलिदान अतुलनीय छ । त्यसैले शहीदहरुलाई फूलमाला र अबिरले मात्र होइन, मन–मुटुभित्र राखौँ । हामीले शहीद दिवस मनाउन थालेको धेरै वर्ष बितिसकेको छ । यसबीचमा हामीले धेरै आन्दोलन र परिवर्तन पनि देखी–भोगिसकेका छौं तर शहीद दिवस मनाउने पुरानै ढर्रा र पद्धति विद्यमान छ । यसमा आमूल परिवर्तन गर्न जरुरी छ ।
शहीदहरुको सपना र त्यागलाई हामीले कत्तिको साकार पार्न सकेका छौँ भन्ने कुरा नेपाली राजनीति अनि नेतृत्वले सोच्नै पर्ने बेला आएको छ । शहीदको परिवार अनि घरहरुलगायत शहीद परिवारको अवस्था दूरदराजमा के–कस्तो रहेको छ ? सबैले विचार गर्न जरुरी छ ।
अतः शहीदहरू राष्ट्रका अमूल्य निधि हुन्, जसको निःस्वार्थ बलिदानकै कारण आज हामी स्वतन्त्रता, अधिकार र लोकतन्त्रको अनुभूति गर्न सक्षम भएका छौँ । शहीद दिवस केवल औपचारिक रूपमा मनाउने दिन होइन, यो त शहीदले देखाएको बाटोमा इमानदारिताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्ने महान् अवसर पनि हो । वास्तविक शहीदको पहिचान, सम्मान र संरक्षणमा राज्य संवेदनशील बन्नु आवश्यक छ ।
शहीदको नाममा हुने राजनीतिक स्वार्थ र अवमूल्यन अन्त्य गर्दै बलिदानको सही मूल्याङ्कन गरिनुपर्छ । शहीद दिवसलाई सार्थक बनाउन नयाँ पुस्तामा शहीदप्रतिको चेतना अभिवृद्धि गर्ने, शहीद परिवारको अवस्थाप्रति गम्भीर ध्यान दिने र शहीदको सपना साकार पार्ने ठोस कार्य गर्न आवश्यक छ । यसरी मात्र शहीद दिवस मनाउनुको औचित्य स्थापित हुनेछ र शहीदप्रति सच्चा श्रद्धाञ्जलि अर्पण भएको मानिनेछ । अनि हामीले महान् र सच्चा वीर शहीदहरुप्रति आफ्नो दायित्व पूरा गरेको ठहरिनेछ ।











प्रतिक्रिया