काठमाडौं ।
छिमेकी मुलुक भारतको पश्चिम बङ्गाल र केरला राज्यमा निपा भाइरसको संक्रमण उच्च दरमा बढ्दै गएपछि नेपालमा जोखिम बढेको छ । निपा भाइरसको जोखिम बढेसँग सरकारले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा संक्रमित घटनाबाट उत्पन्न जोखिमलाई ध्यानमा राखेर सीमा नाका (हवाई तथा स्थल) हरूमा निगरानी तीव्र पार्नेे जनाउँदै हवाई र स्थल मार्गबाट आउने यात्रुहरूलाई उच्च तापक्रम जाँच, स्वास्थ्य घोषणा फाराम, र शंका लाग्ने लक्षण भएका व्यक्तिको आरटी–पीसीआर परीक्षण÷निगरानी गर्ने प्रक्रियाहरू अघि बढाइने बताएको छ ।
यो भाइरस चमेरा र सुँगुरमार्फत फैलने जुनोटिक रोग हो र यसको संक्रमणले मानिसमा गम्भीर श्वासप्रश्वास र मस्तिष्कमा सुजनजस्तै जटिल समस्या ल्याउन सक्छ । हालै भारतका केही व्यक्तिमा यो संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरूले उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार, नेपालमा हालसम्म निपा भाइरसको पुष्टि भइसकेको छैन, तर जमिनमा चमेरो प्राकृतिक रूपमा पाइने भएकोले सम्भावित जोखिमलाई बेवास्ता गर्नु हुँदैन । इन्फेक्सियस डिजिज विशेषज्ञहरू बताउँछन् कि निपा भाइरसको प्रारम्भिक लक्षणहरू ‘सामान्य ज्वरो र खोकी’ जस्ता साधारण समस्याजस्तो देखिन सक्छ, जुनले पहिचान ढिलो हुन सक्छ । यो शरीरमा विकास हुँदा १ देखि २ हप्ता समय लाग्न सक्छ । त्यसपछि केही केसमा मस्तिष्कमा सुजन, दुखाइ, असजिलो र कोमामा पुग्नेसम्मका गम्भीर अवस्था उत्पन्न हुनसक्छ ।
टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो भाइरस एउटा अत्यन्त घातकजन्य संक्रमण हो र श्वासप्रश्वास तथा मस्तिष्कमा प्रभाव पार्ने क्षमता भएकोले हामीले अत्यधिक सतर्कता अपनाउनुपर्छ । जोखिम भएको क्षेत्रमा यात्रा गरेका व्यक्तिमा ज्वरो, टाउको दुखाइ, खोकीलगायत लक्षण देखिँदा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । निपा भाइरस सुरुमा सुँगुर फर्मबाट मलेसियामा फैलिएको थियो ।
यो मानव–मानवको सीधा सम्पर्कले पनि फैलन सक्छ, खासगरी बिरामीको शरीरका रसायन÷थुक÷श्वासप्रश्वासमार्फत, जसले अस्पतालभित्रै फैलनुको जोखिमलाई झनै गम्भीर बनाउँछ ।
उहाँले यो रोगबाट जोगिन संक्रमित चमेरो र रोगग्रस्त जनावरबाट टाढा रहन र फलफूल तथा तरकारी राम्रोसँग धोएरमात्र खान सुझाव दिनुभयो । उहाँले ज्वरो, खोकी, श्वासप्रश्वास समस्या देखिएमा छिटो स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुरक्षा अपनाउन पनि सबैलाई आग्रह गर्नुभयो ।
पहिलो पटक सन् १९९९ मा मलेसियामा देखिएको निपा भाइरसको प्रकोप त्यसपछि बंगलादेश तथा भारतमा देखा परेका छन् । यसले मानवमा संक्रमण हुँदा मृत्युदर ४०% देखि ७५% सम्म र स्वास्थ्य सेवामा ठूलो भारका रूपमा देखा परेको छ । हालसम्म विशेष उपचार वा खोप उपलब्ध छैन ।
स्वस्थ्य विज्ञहरूका अनुसार नेपालमा अहिलेको स्थितिले कोभिड १९ मा विश्वव्यापी रूपमा महामारी फैलँदा गरिएका जोखिम व्यवस्थापन पाठहरूलाई उपयोग गर्न आवश्यक देखिन्छ । निपा भाइरसको उच्च मृत्युदर र लक्षणको तीव्रता हेर्दा, अग्रिम तयारी, जानकारी, स्वास्थ्य प्रणाली सुदृढीकरण र वैज्ञानिक आधारमा व्यवहार गर्ने रणनीति नै सुरक्षित मार्ग हो ।











प्रतिक्रिया