मधेसको हीनताबोधको अन्त्य र नयाँ आयामको आशा

940
Shares

नेपालमा भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनले नेपालको राजनीतिमा नयाँ आयाम थपेको छ । जेनजी आन्दोलनले उठाउन गरेको सुशासन, परिदर्शिता, युवालाई समान अवसर समग्रमा नेपालको मुहार फेर्न युवाको युगान्तकारी भूमिकाको मागले नेपालका राजनीतिक दलहरूमा भुइँचालो गएको छ ।

जेनजी आन्दोलनबाट मुलुक नयाँ युगमा प्रवेश गर्न संसद् विघटन गराई संघीय संसद्को चुनाव गराउन दिएको दबाब सार्थक भएको छ । नेपाल अहिले फागुन २१ गतेको संघीय संसद्को चुनावमा होमिएको छ । नेपालका १६५ निर्वाचन क्षेत्रमा कुल ६८ दलहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचनको पर्वमा करिब ३ हजार ४८४ जनाले चुनाव लड्ने पर्चीसमेत भरेका छन् ।

आउँदो फागुन २१ गतेको चुनावलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह र नेपालको पुरानो दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा दुवैले भावी प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउँदै गर्दा मुलुक समग्ररुपमा झकझकिएको छ । तर यी प्रतिस्पर्धीको असर मधेस प्रदेशमा बढी पर्न गएको देखिन्छ ।

बालेन साहले झापाबाट उम्मेदवारी दिँदै गर्दा नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले मधेस प्रदेशको कोर एरिया सर्लाहीको ४ नम्बर क्षेत्रबाट चुनाव लड्न नामाङ्कन भरेका छन् । बालेन साहले जनकपुरको बृहत् जनभेलामा जन्मले आफू मधेसी भएको दाबा गर्दै गर्दा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले पनि भावी प्रधानमन्त्रीको दाबा गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धी हुँदै बालेन साहले मधेस केन्द्रित राजनीतिमा प्रतिस्पर्धी होइन भन्ने सन्देश दिँदै गर्दा अर्का प्रतिस्पर्धी गगनकुमार थापाले पहाड र शहर केन्द्रित राजनीतिबाट अफूलाई अलग्याएर मधेसको पिछडिएको जिल्ला सर्लाहीबाट चुनावमा प्रतिस्पर्धी हुनका लागि रोजे । यी दुवै प्रतिस्पर्धी नेपालको आधुनिक विकासको खाका तयार गरी जाँदा मधेसमा अपार साधन–स्रोतको भण्डार हुँदाहुँदै पनि पिछडिएको क्षेत्रमा दर्ज भइरहनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको छ ।

दुवै प्रतिस्पर्धी बालेन साह र गगनकुमार थापा राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका व्यक्तित्व हुन् भन्नेमा द्विविधा छैन । यी दुवै प्रतिस्पर्धी मधेससँग जोडिएर राजनीतिमा आउँदै गर्दा दुवैको सबल पक्षको लेखाजोखा आम मधेसी मतदाताले गर्नुपर्ने हुन्छ । बालेन साहले जुन दलबाट सरोकार राखे तापनि आउँदो चुनावमा व्यक्ति केन्द्रित प्रधानमन्त्रीका उम्मेदवार हुने देखिन्छन् भने गगनकुमार थापा नेपालको पुरानो स्थापित दल नेपाली कांग्रेसका विद्रोही नेता हुन् ।

नेपाली कांग्रेसका पुराना अपारदर्शी, आत्मकेन्द्रित नेताहरूलाई चुनौती दिई यही २०८२ पौष ३० मा पार्टीको हाई कमान्ड स्तरको महाधिवेशनबाट निर्वाचित सभापतिमा निर्वाचित नेता हुन् । यस अर्थमा गगन थापा डबल इन्जिन जडित नेता हुन् । एकातर्फ नेपालका लागि २००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेसका सभापति हुन् भने अर्कोतर्फ नेपाली कांग्रेसले आउँदो चुनावपछिका लागि प्रधानमन्त्रीको रुपमा अगाडि सारेको बलियो उम्मेदवार पनि हुन् गगनकुमार थापा । यस अर्थमा यिनी डबल इन्जिन जडित नेता पनि हुन् ।

गगनकुमार थापाले आफ्ना पार्टीका बूढा इमानदारिता स्खलित नेताहरूका विरुद्ध बिगुल फुक्दै गर्दा भन्ने गरेको एउटा वाक्य ‘नेपाली कांग्रेस लास र दास’को पार्टी होइन । यसले मधेसी जनतालाई छोएको छ । नेपालको भूमण्डलभित्रै मधेस रहे तापनि यो क्षेत्र दासको रुपमा पहिचान बनाउनु दुर्भाग्यपूर्ण थियो र छ । नेपाली कांग्रेसका सभापति सर्लाहीको निर्वाचन क्षेत्रबाट उम्मेदवार दिँदै गर्दा मधेसी जनता दासबाट समग्र नेपालको पहिचानको केन्द्रविन्दु हुनेमा शंका छैन ।

यो पंक्तिकार पनि मधेसमै हुर्केको र शिक्षा ग्रहण गरेको व्यक्ति भएको हुँदा नेपालमा राणा शासनको अन्त्यपछि मधेसी जनआकाङ्क्षा पूरा गर्न अगाडि बढेको नेपाली कांग्रेसको सरकारलाई पौष १ गते तत्कालीन राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिई नेपाली जनलाई दास र लास बनाएको हाम्रो मानसपटलमा सधैँ घुमिनै रहेको छ । २०१७ पौष १ गतेपछि नेपाल राज्यभर संकटकाल घोषणा गरेर जन–जन सुरक्षा कानुनको तरबार सबै नेपालीका घाँटीमा २०४६ सालसम्म झुन्डिनै रह्यो । यो सुरक्षा कानुनले राज्यविरुद्ध कुनै कुरा लेख्न र बोल्न पाइँदैन थियो । यस अर्थमा नेपालीहरु लासको रुपमा परिणत थिए ।

मधेस अनादिकालदेखि अन्नको भण्डारको रुपमा रहेको थियो । राणकालदेखिको बिर्ता राजा–रजौटाहरुको खेत खलिहान थियो । त्यहाँका जनता कृषिकर्मी थिए । बिर्तावाल राजा–रजौटाहरुको खेत खलिहानका मजदुर भएर काम गर्नेबाहेक केही विकल्प थिएन । यस अर्थमा कृषिकर्ममा मधेसी जनता दास नै भएर रहे । तर २०६२÷६३ को जनआन्दोलनबाट नेपाल संघीय गणतन्त्रमा प्रवेश गरेपछि मधेसले आफ्नो पहिचान बनाउन सफल भएर गयो ।

प्रदेशको पहिचान बनाएपश्चात् पनि मधेसले आफ्नो आर्थिक एवं सामाजिक अवस्थामा तात्विक परिवर्तन ल्याउन सकेको थिएन । अब भने यहाँ मूलधारका राजनीतिक दलका नेताहरुले प्रवेश गरेकाले मधेसको हीनताबोधको अन्त्य भई नयाँ आयाम पलाउने आशा गर्न सकिन्छ । बालेन साह र गगन थापा दुवै आ–आफ्ना पक्षबाट सबल छन् ।

मधेसको संन्तति बालेन साह हुन् भने गगनकुमार थापा परिवर्तनको चहना राख्ने सबै तह र तप्काका नेपालीले आशा गरेका केन्द्र पनि हुन् । गगन थापा मधेसको निर्वाचन क्षेत्रमा चुनाव लड्न जानु आफैँमा एउटा जोखिम लिन सक्ने डबल इन्जिन लोड भएका नेता हुन् । उता झापालाई आफ्नो निर्वाचन बनाई एमालेका सुप्रिमोसँग आउँदो फागुन २१ गतेको चुनावमा प्रतिस्पर्धा गर्न जाने ठूलो जोखिम मोल्न सक्ने नेताको रुपमा पहिचान बनाएका छन् बालेनले ।

मधेस क्षेत्र, जाहाँ लामो समयदेखि लास र त्रासबाट ग्रसित मधेसी जनसमुदाय यी उदयमान नेताहरूले मधेसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सक्छन् भन्ने आशा गर्न सकिन्छ । गगनकुमार थापा परम्परागतरुपमा भ्रष्ट र नैतिकता स्खलन भएका आफ्नै पार्टीका सत्ता र शक्ति ओगटेर बसेका नेताहरुका विरुद्ध विगुल फुकी, आफूलाई नेपालको सबैभन्दा पुरानो पार्टीको सुप्रिम लिडर भएर आगामी संसदीय चुनावमा आफ्नो दललाई अग्रणी स्थान दिलाई नेपालको भावी प्रधानमन्त्री बन्न सक्ने आशाका साथ हेरिएका उम्मेदवार हुन् । अर्थात् यिनी परीक्षित र परिचित उम्मेदवार हुन् भन्नेमा मधेसी समुदाय विश्वस्त छन् । आउँदो संसदीय चुनावमा सर्लाही र समग्र मधेसको प्रतिनिधित्व गर्दै उनी संसद्मा प्रवेश गर्नेछन् ।