हाम्रा पुर्खाहरु भन्थे– सत्य बोल, प्रिय बोल, प्रिय छैन भने सत्य पनि नबोल । प्रिय बोल्छु भनेर असत्य पनि नबोल । यही हो सनातन धर्मको मर्म ।
सत्यं ब्रूयात् प्रियं ब्रूयात् नब्रूयात् सत्यमप्रियम् ।
प्रियं च नानृतं ब्रूयात् एष धर्मः सनातनः ।
एउटा युग थियो श्रुतिबोधको युग । त्यस युगमा जो जानिन्थ्यो सुनेरै जानिन्थ्यो । त्यसताका वेद अर्थात् ज्ञानको नाम नै श्रुति थियो । कसैलाई विद्वान् भन्नुपर्दा उहाँ बहुश्रुत हुनुहुन्छ भनिन्थ्यो । बहुश्रुत अर्थात् धेरै सुनेको । सुनेका कुरालाई सम्झनामा जोगाइराख्न विविध विधिहरु सिकाइन्थ्यो । यसका लागि सुन्नेलाई प्रतिज्ञा नै गराइन्थ्यो, जस्तै– श्रुतं मे गोपाय ।
गुरुलाई ब्रह्मा, विष्णु र महेश्वर मानिने त्यस युगमा शिक्षामा विद्या पनि समाविष्ट हुन्थ्यो । शिष्यलाई विविध व्यावहारिक, व्यावसायिक क्षेत्रमा दक्ष बनाउनका साथै मानवधर्म र सामाजिक, सांस्कृतिक, नैतिकताप्रति निष्ठावान् बनाउनु गुरुको अनिवार्य दायित्व नै मानिन्थ्यो । गुरुहरु स्वभाव पहिचान र सही मार्गबोधनमा सावधान रहेर शिष्यलाई प्रबोधन दिन्थे ।
कालान्तरमा कतिपय समुदायमा हिङ सकिँदा पनि सुगन्धित टालो बाँकी रहन्थ्यो । यथासमय हिङको आपूर्तिमा समाजले पहल गथ्र्यो । मानिसहरु अनुचित काम गर्न लाज मान्थे, डर मान्थे । जति घुम्ती घुमिदा पनि समयले लिक छोडेको थिएन । दाउ हेर्दा हेर्दै अराजकता असफल भएका घटना, कथाहरु सुनिन्थे । गाडीबाट खासखास डिब्बा छुटाएर गुडाउने प्रयास असफल भएका कथाहरु सुनिन्थे । यी सबै अब ती दिनका कुरा भए ।
अहिले गुरुकुल छैन । गुरुकुलीन शिक्षा व्यवस्था पनि छैन । शिक्षा शिक्षण सामग्रीहरुमा अभूतपूर्व विकास भएको छ । गाउँ–गाउँसम्म सडक विकासपछि गाउँ–गाउँबाट युवा पलायन भएजस्तै शिक्षालय र शिक्षण सामग्रीको विकासपछि शिक्षाको मर्म अर्थात् ज्ञान शिक्षणबाट पलायन भएको छ ।
आज समाजमा शिक्षितहरु यत्रतत्र बहुतायत भेटिन्छन्, ज्ञानी भेटिँदैनन् ।लाग्छ, समय अनेकौँ युगका घुम्ती पार गरेर आज अर्को नयाँ घुम्तीमा आइपुगेको छ । सही गन्तव्यमा पुग्न सही बाटो पहिचानको महत्व विगतमा पनि थियो, आज पनि छ । विगतका तुलनामा अहिले सही गन्तव्य एवं सही बाटोका पहिचानको महत्व कैयौँ गुना बढेको छ । मानिस क्रमशः भीड बन्दै गएको छ । भीडभित्र भेडा बन्दै गएको छ । भीडका चिन्तनमा कम्पास हराएको छ । समयको संकेत हराएको छ । भीडमा भेडा आपैmँ हराएको छ । ब्जाँसाप्रति त विश्वास थिएन भेडाको । एक भेडाप्रति अर्को भेडाको पनि विश्वास हराएको छ । अवस्था सरदर विकराल छ ।
यथातथ्य अवलोकनमा स्पष्ट देखिन्छ, कर्तव्य र अकर्तव्यका बीच विवेकबोध आज मुलुकको शिक्षा व्यवस्थाबाटै चिप्लेर हराएको छ । नामको नयाँ शिक्षा न नयाँमा राम्ररी उक्लिन सकेको छ, न पुरानोमा उभिन पाएको छ । भुइँफुट्टा अवस्थितिमा छ । यसैले आजको शिक्षित दीक्षित नयाँ मान्छे भीडबाट छुट्नासाथ आफूलाई एक्लै र बेग्लै ठान्छ । आपैmँ आफू अज्ञात ठान्छ । आत्मविश्वासमा उभिएर स्थितिबोध गर्दैन । आत्मबोध गर्दैन । प्रगतिपरक परिवर्तनका निमित्त प्रयत्नको आँट गर्दैन ।
श्रुतिको महत्व आज पनि कम छैन, तथापि सत्यापित श्रुतिपरम्परा राम्रै ओझेलमा परेको छ । घामले धाम फेरेको छ । जीवनबोधका दृष्टिले सत्य बोल्नुको महत्व घटेको छैन र पनि बढी महत्व आज असत्य नबोल भन्नुको छ । सामान्य जनजीवनमा समेत सत्य खडेरीमा पहराको मुसेखरु भएको छ ।
सञ्चार क्षेत्रमा अझ विशेषतः सामाजिक सञ्जालका क्षेत्रमा आज सत्य भयंकर कुपोषणमा परेको छ र टिठ लाग्दो गरी दुब्लाएको छ । असत्यका तिघ्रा–पाखुरा हलक–हलक हुँदै बढेका छन् । उसका जिभ्रा बढेका छन् । वाचालता बढेको छ । यसैले नेपाली जनसाधारण आज कुहिराको काग बनेको छ । यस असामाजिक कुहिरोलाई पनि कतिले सामाजिक सञ्जाल नै भनेका छन् । भन्नुपर्ने कुरा भने यति मात्र होइन, बनमारा बनमा मात्र सीमित छैन ।
एक समय थियो । स्कुल थिएनन् र पनि शिक्षा थियो, विद्या थियो । पुस्तक नपढेर पनि मानिसहरु शिक्षित थिए । व्यवसाय–दक्ष थिए, श्रमशील थिए, न्यायशील थिए, विवेकशील थिए, कर्तव्यशील थिए, देशभक्त थिए, वीर थए, बहादुर थिए । तिनले देश बनाए । संस्कार, संस्कृति, मूल्य–मान्यता बनाए । सभ्यता सजाए, समाज बनाए । इतिहास बनाए । नयाँ पुस्तालाई उपहार दिएर गए । आज हामी तिनलाई आदरसाथ सम्झन्छौँ, गौरवसाथ सम्झन्छौँ । आज ती दिन छैनन् ।
नेपालमा अक्षर चिनेर मात्र शिक्षित बनिन्छ भन्ने प्रायोजित स्कुले शिक्षाको इतिहास धेरै लामो छैन । सञ्चारको इतिहास धेरै लामो छैन र पनि केही नमेटिने व्यक्तित्वहरु सम्झनामा छन् । केही पत्रपत्रिका पनि छन् । देश र जनतालाई शिरोपर राखेर आँधीबेहरीमा उत्रेका नामहरु छन् । गोपालदास, मणिराज, पुष्करलाल, मदनमणिलगायत अरु पनि हस्तीहरु छन् सम्झनामा । कति सशक्त स्तम्भलेखक छन् । कति पुरोगामी स्तम्भ लेखक पनि छन् । समय सचेत साहित्यकारहरु छन् ।
प्रतिबद्ध राजनयिकहरु छन् । यसै बीच मिसन पत्रिकारिताका अठार पुराण छन् । कति धेरै सकारात्मक छन् । पठनीय र स्मरणीय धेरै छन् । सञ्चारको इतिहास धरै धनी नभए पनि त्यति गरिब नै पनि छैन । विश्वासका धरहराहरु उभिन्थेका पुरुषसूक्त र नारीसूक्तहरु पनि बनेका छन् । आस्थाका सदानीरा अविरल प्रवाहिणी नदीजस्ता देशभक्त नेपाली जनताका अनगिन्ती गाथा कथाहरु छन् । ‘राष्ट्रे वयं जागृयामः पुरोहिताः स्वाहा’ को अनाहत नाद छ । राष्ट्रको पुरोगामी नेतृत्व निमित्त आफूलाई स्वाहा गरिआएका त्यागी योगी नेताका अविच्छिन्न यशोधाराका निनादहरु छन् ।
ती स
सबै अतीतमा छुटेका छन् । वर्तमानमा विविध संकटहरु छन् । विकराल आततायी यथास्थिति संकट । उत्तरोत्तर परिमार्जित जनसंस्कृति निमित्तक समुन्नत एवं सन्तुलित क्रान्तिविहीनताको संकट । युवापलायनजन्य संकट । नियमित अस्थिरता र गरिबी प्रसार संकट । शिक्षा संकट । स्वास्थ्य संकट । रोजगारी संकट । प्रायोजित धर्मसंकट । संकटहरु हटाउन भरपर्दो प्रयास नहुनुको संकट । यत्रतत्र विदेशपरस्तताको संकट । यस्तोमा श्रुति स्मृति पुराण विस्मृतिको संकट । जनमनमस्तिष्कमा शिव संकल्प घोष सुन्न छोडिनुको संकट । धेरै छन् संकट । यस्ता स्थितिमा मार्गदर्शनकारी भरपर्दो सञ्चारस्वर सुन्न नपाइनुको संकट असह्य बन्दै जानुको विडम्बना गहन गम्भीर इनारजस्तै यथार्थ जहाँ हर्हराउँदो तिर्खा मेट्न पानी छैन । कानै हराइसकेको मुलुकमा गुनासो केले सुन्ने ?
आदरणीय राजनीतिक योद्धा, लेखक तथा सञ्चारकर्मी शक्ति लम्सालका स्मृतिमा उहाँका परिवारले प्रलेसको व्यवस्थापनमा प्रतिवर्ष कुनै उपयुक्त पात्रलाई प्रदान गरिने गरी अक्षयकोष स्थापना गरेको चर्चा छ । चर्चामा प्रशंसाभावहरु छन् । कुनै पनि योगदानीका नाममा कृतज्ञताको बत्ती बाल्नु प्रबुद्ध मानव संस्कृतिमा प्रशंसनीय कुरा नै हो । यसको प्रशंसा नगर्नु कन्जुस्याइँ ठहर्छ ।
देश र जनताका लागि आर्थिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा आवश्यक रुपान्तरणको लक्ष्यबोधका साथ ज्यान हत्केलामा राखेर लागिपरेका सेवाभावी व्यक्तित्वहरु परिवारका सदस्य मात्र हुँदैनन्, देश र जनताका आत्मीय योद्धा मित्र पनि हुन्छन् । कति त मोडल नै हुन्छन् ।
एक मध्ययुगीन एसियाली महाकविले जिज्ञासा राख्दै लेखेका थिए– कसैका सद्गुणलाई पनि दोष देखाएर खिसीट्यूरी गर्ने सामन्त र तिनका अनुयायी कृतघ्नहरु त समाजमा धेरै भेटिन्छन् । कसैका परमाणु जति सकारात्मक गुणलाई पनि पहाडलाई जत्तिकै महत्व दिएर हार्दिकताका साथ त्यसका विकासमा लागिपर्ने सज्जन कृतज्ञ व्यक्ति आजको समाजमा कति होलान् हँ ? ‘परगुण परमाणून् पर्वतीकृत्य नित्यम् निज हृदि विकसन्तः सन्ति सन्तः कियन्तः ?’
समकालीन समाजको राजनीतिक चेतना र अवस्था हेर्दा मध्ययुगीन कविको यो जिज्ञासा आज पनि यथावत् कायमै छ कि जस्तो पनि लाग्छ ।
भौतिक र आत्मिक प्रगतिका मार्गमा मानवतालाई अगाडि बढाउने साधनामा अनेकौँ क्रान्तिकारी सन्त, योगी र सेवाभावी समर्पित त्यागी–तपस्वी राजनीतिक, सांस्कृतिक व्यक्तित्वहरुको योगदान छ । कतिलाई इतिहासले विविध कथा कृतिहरुमा कृतज्ञताका साथ समेटेर जोगाएको छ । कति अनाम छन् । हरेक दिन आफ्नो आँखाको धर्ती र आकाशप्रति कृतज्ञता व्यक्त गर्दै दैनिक कामको आरम्भ गर्ने संस्कृतिमा पनि अभैm खोट बाँकी छ ।
समाजमा कति व्यक्ति वैयक्तिक र पारिवारिक स्वार्थबाट बाहिर निस्कन सकेका छैैनन् । समाजकै प्रगतिपरक रुपान्तरण गर्न सकिने ठाउँमा पुगेर पनि भ्रष्टाचारको दलदलमा गाडिएका छन् । विगत दशकौँदेखि आम जनताको अवस्था सधैँ अत्यास लाग्दो मात्रै छ । यो यस्तो अवस्थामा आफ्नो घर–परिवारको अकिञ्चन यथास्थिति यथास्थित छाडेर क्रान्तिकारी सिद्धान्त निष्ठा र प्रतिबद्धताका साथ समाजको यथास्थिति बदल्न र जनतालाई प्रगतिको बाटोमा हिँडाउन ज्यान हत्केलामा राखेर लागिपरेका योगदानी व्यक्तित्वको देहावसानपछि तिनका योगदानका कथा नयाँ पुस्ताका लागि जीवन्त राख्न अग्रसर रहनुपर्ने दायित्व त्यसै पीडित परिवारकै हो ? त्यसै परिवारकै मात्र हो ? यसबारे व्यापक बहस हुनु जरुरी छ ।
परम्परागत पुरातन श्राद्ध संस्कृतिमै सर्वसाधारण जनजीवन सीमित रहँदाका दयनीय अवस्थामा पनि यसको पुनव्र्याख्या मूल्यांकन र प्रगतिपरक रुपान्तरणमा अग्रिम भूमिका निर्वहन गर्ने दायित्व कसको ? क्रान्तदर्शी बौद्धिक व्यक्तित्वविशेषको अथवा क्रान्तिकारी राजनीतिक पार्टी बनेको छ भने त्यसको ? क्रान्तिकारी भनिएको पार्टी विशेषमै अवबद्ध रहेर सामाजिक, सांस्कृतिक, राजनीतिक आमूल परिवर्तनको राजनीतिमा जीवन समर्पित गर्दागर्दै देहावसान भएका कुनै पनि परिवारका सदस्यको स्मृतिमा श्रद्धा सम्मान जनाउने कार्यक्रम आयोजना गर्न स्वयं परिवारले नै पहल गर्नुपर्ने र अन्यथा कतैबाट कुनै पहल नहुने स्थिति पनि सामाजिक, सांस्कृतिक र राजनीतिक दृष्टिले दयनीय होइन र ? परिवार सम्पन्न नै छ भने पनि यहाँ प्रश्न प्रधान दायित्वको हो । जनताबीच व्यापकरुपमा कृतज्ञता व्यक्त गर्ने दायित्वको हो ।
हामीले थाहा पाएसम्म आदरणीय शक्ति लम्साल दशकौँअघि कम्युनिस्ट पार्टीको सदस्य भएर पार्टीकै निर्देशन मुताबिक मुलुकको आर्थिक, राजनीतिक, सांस्कृतिक आमूल परिवर्तनका निमित्त सञ्चार क्षेत्रमा समर्पित रहेर आजीवन काम गरेका कर्मठ व्यक्तित्व हुनुहुन्थ्यो । आरम्भबाटै जनयुद्धमा होमिएका अनुशासनबद्ध सांस्कृतिक नेतृत्व हुनुहुन्थ्यो । यो कुरा पनि अब उहाँका परिवारले नै जनताका कान–कानमा सुनाई हिँड्नुपर्ने कि ? हामीले हेर्दा त यो सबै दायित्व सम्बन्धित राजनीतिक पार्टीको हो । पार्टीमा आबद्ध जन–जनको हो ।
नेपालका क्रान्तिकारी भनिएका राजनीतिक दलहरुको संस्कृतिमा योगदानीहरुप्रति कृतज्ञताका लागि र आफ्ना राजनीतिक परिजनप्रति आवश्यक दायित्वबोधका लागि आजसम्म पनि कुनै ठाउँ ठहर नै बन्न सकेको छैन भने यो एक गम्भीर चिन्ताको विषय हो । यी राजनीतिक दलका नेता, उपनेता तथा कार्यकर्ताहरु संस्कृतिका क्षेत्रमा अझै मध्ययुगीन सामन्ती मानसिकताबाट अगाडि उम्किन सकेका छैनन् भने यो अरु गम्भीर चिन्ताको विषय हो । चिन्ता गरौँ । चिन्ता गर्न पाएकैमा बधाई छ हामीलाई !











प्रतिक्रिया