बारामा एकै परिवारमाथि धारिलो हतियार प्रहार : आमा–छोराको हत्या, श्रीमान् र छोरी गम्भीर घाइते


वीरगन्ज ।

बारा जिल्लामा एकै परिवारका आमा–छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको हो ।

डीएसपी पण्डितका अनुसार आज बिहान करिब ३ बजेतिर भएको आक्रमणमा आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन गरेको भन्ने विषय हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ भने संलग्न व्यक्तिको खोजीका लागि सुरक्षा सतर्कता समेत बढाइएको प्रहरीले जानकारी दिएको छ ।

घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ ।