स्वास्थ्य बीमा बोर्डद्वारा अपील- “स्वास्थ्य बीमाको सही सदुपयोग गरौं”


काठमाडौं।

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दुरुपयोग रोक्न र यसलाई प्रभावकारी बनाउन सबै नागरिक, सेवा प्रदायक तथा स्वास्थ्यकर्मीहरूलाई सार्वजनिक अपील जारी गरेको छ । बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिमा स्वास्थ्य बीमालाई दिगो तथा गुणस्तरीय बनाउन सबै पक्षको जिम्मेवार सहभागिताको आवश्यकता रहेको जोड दिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार स्वास्थ्य बीमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गत सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सञ्चालन गरेको महत्वपूर्ण कार्यक्रम हो । यसले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने तथा युनिभर्सल हेल्थ कभरेजको लक्ष्य प्राप्तिमा योगदान पु¥याउने उद्देश्य राखेको छ । स्वास्थ्य बीमा ऐन, २०७४, बीमा नियमावली, २०७५ तथा अन्य नीतिगत व्यवस्थाहरूले यसलाई सामाजिक स्वास्थ्य सुरक्षाको मेरुदण्डका रूपमा परिकल्पना गरेका छन् ।

सीमित स्रोतसाधनका बाबजुद पनि दैनिक करिब ४० हजार नागरिकले स्वास्थ्य बीमार्फत सेवा प्राप्त गरिरहेका छन् । यसबाट औसत दैनिक २ करोड रुपैयाँ बराबरको आम नागरिकको स्वास्थ्य खर्च जोखिमबाट जोगाइएको बोर्डले जनाएको छ । तर, केही सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीबाट हुने दुरुपयोग, अनावश्यक परीक्षण, दबाबमा आधारित उपचार तथा अनुचित प्रेस्क्रिप्सनले कार्यक्रमलाई चुनौती दिइरहेको बोर्डको भनाइ छ ।

बोर्डले अपील गर्दै भनेको छ, “स्वास्थ्य बीमाको सही सदुपयोग गरौं” भन्ने सन्देशसहित सबै सेवा ग्राहीले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्नुपर्ने, बीमाको दुरुपयोग नगर्ने तथा अनावश्यक परीक्षणका लागि चिकित्सक वा स्वास्थ्यकर्मीलाई दबाब नदिन आग्रह गरेको छ । सेवा प्रदायकहरूलाई पनि औचित्यका आधारमा मात्र जाँच, उपचार तथा प्रेस्क्रिप्सन गर्न, बोर्डले बनाएका निर्देशिका, कार्यविधि तथा परिपत्रको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

हाल केही सेवा प्रदायक संस्थाहरूले असहजता देखाउने वा अस्थायी रूपमा सेवा अवरुद्ध गर्ने गरेको गुनासो बढेको भन्दै बोर्डले यस्ता अवस्थामा निरन्तर पहल तथा छलफल गरिरहेको बताएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सशक्त, पारदर्शी, प्रभावकारी तथा नागरिकमैत्री बनाउन प्रतिबद्ध रहेको जनाएको छ । स्वास्थ्य बीमा बोर्डले सबै पक्षलाई सहकार्य गरी कार्यक्रमको दुरुपयोग रोक्न र यसलाई दिगो बनाउन आह्वान गरेको छ । यसबाट नेपालको सामाजिक स्वास्थ्य सुरक्षा प्रणाली थप मजबुत हुने अपेक्षा गरिएको छ ।