राजनीतिक शवयात्रामा हाम्रो भविष्य

1.79k
Shares

नेता भनेको त्यो हो जसले बाटो जान्दछ, देख्दछ र हिँड्दछ, तर आजका तथाकथित नेताहरू बाटो देखाउने होइन, बाटो हराउने काममा माहिर छन्, उनीहरू उज्यालो बाल्ने होइन, अन्धकार फैलाउने कारखाना बनेका छन्, उनीहरू समाजलाई अघि बढाउने होइन, समाजलाई बन्धक बनाएर आफ्नो कुर्सी सुरक्षित गर्ने दलाल हुन्, र जब दलालहरू राज्य चलाउँछन्, तब देश केवल नामको देश हुन्छ, भित्रभित्रै खोक्रो, र बाहिरबाहिरै झिलिमिली।

आज राजनीति सेवा होइन, सौदा बनेको छ, संसद मन्दिर होइन, बजार बनेको छ, जहाँ कानुनको मूल्य पैसाले तोकिन्छ, जहाँ नीतिको मूल्य स्वार्थले तोकिन्छ, जहाँ देशको भविष्य लिलामीमा राखिन्छ र जनतालाई दर्शक बनाएर ताली बजाउन बाध्य पारिन्छ, र जब राज्य लिलामीमा चढ्छ, तब नागरिक केवल उपभोक्ता बन्छ, मालिक होइन।

हामी नेताको खोजी गर्छौँ तर हामीले उत्पादन गरिरहेका छौँ दलाल, हामी क्रान्तिको कुरा गर्छौँ तर हामी पालिरहेका छौँ पाखण्ड, हामी परिवर्तनको नारा लगाउँछौँ तर हामी रोजिरहेका छौँ उही पुराना अपराधी, र त्यसपछि हामी अचम्म मान्छौँ कि देश किन बदलिँदैन, देश बदलिँदैन किनकि हामी बदलिन चाहँदैनौँ, हामी केवल अनुहार बदल्न चाहन्छौँ, चरित्र होइन।

निर्वाचन आज नेता छान्ने प्रक्रिया होइन, अपराधीलाई वैधानिकता दिने संस्कार बनेको छ, जहाँ कालो धन सेतो झण्डामुनि लुकाइन्छ, जहाँ लुटेराले जनताको सेवकको मुखौटा लगाउँछ, जहाँ भ्रष्टाचार ‘रणनीति’ बन्छ र इमानदारी ‘अपरिपक्वता’ ठानिन्छ, र जब समाजले इमानदारीलाई कमजोरी ठान्छ, तब त्यो समाज आफैँ कमजोर हुन्छ।

आज देशमा संकट छैन भन्नु झुट हो, संकट छ तर संकट देख्ने आँखा छैन, संकट छ तर स्वीकार गर्ने साहस छैन, संकट छ तर त्यसलाई राजनीतिक लाभमा बदल्ने खेल मात्रै छ, बेरोजगारी आँकडामा घट्छ तर सडकमा बढ्छ, महँगी भाषणमा घट्छ तर भान्सामा बढ्छ, शिक्षा कागजमा सुध्रिन्छ तर व्यवहारमा सड्छ, स्वास्थ्य नीतिमा चम्किन्छ तर अस्पतालमा मर्छ, र नेताहरू माइक समातेर भन्छन् “सब ठीक छ” जबकि देशको आत्मा रोइरहेको हुन्छ।

नेतृत्व संकटमा चिनिन्छ भनिन्छ, तर यहाँ संकट नेताको व्यवसाय बनेको छ, बाढी आयो भने राहत होइन, फोटो खिच्ने हो, महामारी आयो भने उपचार होइन, भाषण गर्ने हो, आन्दोलन आयो भने संवाद होइन, दमन गर्ने हो, र जब राज्य संवाद होइन, दमन रोज्छ, तब त्यो राज्य लोकतान्त्रिक रहँदैन, केवल औपचारिक रूपमा मात्र बाँकी रहन्छ।

हामीलाई बारम्बार देशभक्ति सिकाइन्छ, तर देशभक्ति भनेको प्रश्न नगर्नु होइन, देशभक्ति भनेको गलतलाई गलत भन्नु हो, तर यहाँ प्रश्न गर्नेहरूलाई गद्दार भनिन्छ, लुट्नेहरूलाई राष्ट्रवादी, र जब राष्ट्रवाद लुटपाटको ढाल बन्छ, तब त्यो राष्ट्रवाद होइन, राजनीतिक अपराधको लाइसेन्स हुन्छ।

मिडिया आज चौथो अंग होइन, धेरैजसो अवस्थामा सत्ताको पाँचौँ पाङ्ग्रा बनेको छ, जहाँ सत्यभन्दा पहुँच बिक्छ, पत्रकारभन्दा दलाल बढी देखिन्छन्, जहाँ प्रश्नभन्दा प्रशंसा महत्त्वपूर्ण हुन्छ, र जब मिडिया प्रश्न गर्न छोड्छ, तब सत्ता पागल हुन्छ, जब मिडिया बिक्छ, तब जनता मौन हुन्छ, र मौन जनता कुनै पनि तानाशाहको सबैभन्दा ठूलो शक्ति हो।

युवाहरू देश छोड्दै छन्, किनकि उनीहरूलाई यहाँ भविष्य देखिँदैन, उनीहरूलाई यहाँ श्रमको मूल्य छैन, सपनाको सम्मान छैन, योग्यताको कदर छैन, यहाँ चाकडी छ, चोर बाटो छ, पहुँच छ, तर न्याय छैन, र जब न्याय हराउँछ, तब राज्य केवल संरचना बाँकी रहन्छ, आत्मा हराउँछ।

हामी भन्छौँ “सबै उस्तै हुन्”, तर यो वाक्य आफैँमा अपराध हो, किनकि यसले खराबलाई पनि सुरक्षित गर्छ, असललाई पनि मार्छ, र जब समाजले फरक छुट्याउन छोड्छ, तब समाज नै विवेकहीन बन्छ, अनि विवेकहीन समाजमाथि शासन गर्न अपराधीहरूलाई कुनै मेहनत गर्नुपर्दैन।

अब समय आएको छ सजिलो भ्रम त्याग्ने, अब समय आएको छ कठिन सत्य स्वीकार गर्ने, अब समय आएको छ ताली बजाउने होइन, औँला उठाउने, अब समय आएको छ चुप लाग्ने होइन, चिच्याउने, अब समय आएको छ सहने होइन, लड्ने — तर बन्दुकले होइन, विवेकले, नारा होइन, चेतनाले, जात होइन, योग्यता र नैतिकताले।

नेता छान्नु भनेको देवता खोज्नु होइन, तर दानव रोज्नु पनि होइन, नेता छान्नु भनेको गल्ती गर्दा लाज मान्ने, चोरी गर्दा डराउने, आलोचना सुन्दा नसकुचाउने व्यक्ति रोज्नु हो, तर आज हामी रोजिरहेका छौँ ती जो गल्तीमा गर्व गर्छन्, चोरीमा मुस्कुराउँछन्, आलोचनामा दमन गर्छन्, र यस्तो समाजबाट असल नेतृत्वको अपेक्षा गर्नु आत्मघाती आशा हो।

यदि आज पनि हामी पैसाको पछि दौडिन्छौँ भने भोलि हाम्रो सन्तानले देश खोज्न विदेश जानुपर्नेछ, यदि आज पनि हामी जात, झण्डा र भावनामा भोट हाल्छौँ भने भोलि हाम्रो विवेकलाई इतिहासले धिक्कार्नेछ, यदि आज पनि हामी गलतलाई छानेर “हाम्रो मान्छे” भन्छौँ भने भोलि हामीसँग “हाम्रो देश” भन्ने अधिकार पनि बाँकी रहने छैन।

यो चेतनाविरुद्धको युद्ध हो, यो भ्रष्ट संस्कारविरुद्धको आगो हो, यो चुपचाप सहने प्रवृत्तिविरुद्धको बिद्रोह हो, र यदि कसैलाई यसले पोल्छ भने बुझ्नुस्, आगो त्यहीँ लाग्छ जहाँ घाउ हुन्छ।

अब निर्णय हाम्रो हातमा छ — या त हामी इतिहास बनाउँछौँ, या त इतिहासका पीडित पात्र बन्छौँ, या त हामी नेता छान्छौँ, या त शासक सहन्छौँ, या त हामी विवेक प्रयोग गर्छौँ, या त विवेक गुमाएर भीडमा हराउँछौँ, र याद राख्नुस्, भीडले कहिल्यै भविष्य बनाएको छैन, भविष्य बनाउँछ चेतनाले, साहसले र सत्य रोज्ने क्षमताले चेतना लाई प्रयोग गरौँ।