पुस्तक चर्चा : चर्चित व्यक्तित्वका जन्मकुण्डली र ज्योतिषीय फलादेश

1.88k
Shares

दर्पण भनेको ऐना हो । जसरी ऐनामा हेर्दा अनुहार कस्तो छ भन्ने कुरा छर्लङ्ग देखिन्छ, त्यसै गरी कसैको जन्मकुण्डली हेरेर ज्योतिषीले त्यस व्यक्तिको बारेमा बताउन सक्छन् । त्यस्ता ज्योतिषीमध्ये भोलानाथ घिमिरे पनि एक हुन् । उनले नेपालसहित विश्वका विशिष्ट व्यक्तिदेखि सर्वसाधारणसम्मका डेढ सयजति व्यक्तिको कुण्डली तयार गरी फलादेश गरेको पुस्तक ‘कुण्डली दर्पण’ बजारमा आएको छ ।

ज्योतिषी घिमिरेद्वारा लिखित यस पुस्तकमा सङ्कलित हरेक जन्मकुण्डलीमा रहेका ग्रहहरूको अवस्थितिको ज्योतिष शास्त्रअनुसार व्याख्या र विश्लेशणसहित फलादेश गरिएको छ । अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकन हुन् वा नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाह, जर्मनीका तानाशाह हिटलर हुन् वा सरक्क राजगद्दी छोड्ने नेपालका सोझा राजा ज्ञानेन्द्र शाह, सफल बैंकर्स नै किन नहुन्, यस्ता झन्डै डेढ सय व्यक्तित्वका जन्मकुण्डली बनाएर फलादेश गरिएको छ ‘कुण्डली दर्पण’मा ।

यी सबै व्यक्ति किन यस्ता भए, यिनीहरुको कुण्डलीमा कस्ता ग्रहहरुको संयोजन थियो र ती ग्रहले के–के प्रभाव पारे वा पार्नेछन् ? यावत् कुरा पुस्तकमा उल्लेख गरिएको छ, जुन सामान्य ज्योतिषका ज्ञान भएका वा नभएकाहरुका लागि पनि रोचक लाग्ने देखिन्छ ।

खोटाङको हौंचुरमा जन्मिएर काठमाडौंको कोटेश्वरलाई कर्मथलो बनाएका ज्योतिषी घिमिरेले ज्योतिष विद्या हासिल गर्न गरेको संघर्ष उत्तिकै पठनीय छ । ज्योतिष विषय मात्र नभएर अदृश्य शक्तिसँग साक्षात्कार गरी सँगालेका अनुभव पनि उनीसँग थुप्रै भएको उनको पुस्तकले इङ्गित गरेको छ ।

ज्यातिषी घिमिरेले आफ्नो पुस्तकमा उल्लेख गरेअनुसार उनका १६ वर्षका जवान काका रातको समयमा खेतमा पानी लगाउन गएका रहेछन् । खोलानजिकै कुलोमा ती काकाजस्तै उमेरको बलियो मानिस प्रकट भएर धक्का दिएछ । दुवैजनाको कुस्ती परेपछि काकाले भएभरको बलले त्यस अज्ञात व्यक्तिलाई कुलोको पानीमा गाडेछन् । तर त्यस अज्ञात व्यक्तिले ‘तीन दिनपछि तँलाई यहीँ आउने बनाउँछु, अब तँ मरिस्’ भनेर धम्की दिएछ । आखिर तीन दिनमा अन्तिम संस्कारका लागि लास बनेर काकाले त्यही खोलामा पुग्नुपरेको यथार्थ बडो रहस्यमय छ ।

ती काकालाई मार्ने अज्ञात व्यक्ति को होला भन्ने खोजी गर्दा गर्दै ज्योतिषी बन्न पुगेको लेखक घिमिरेको कथन कौतुहलता जगाउने खालको छ । यस्तै उनले आफ्नो भनाइमा लेखेका छन्, ‘समाजमा जुन व्यक्ति जस्तो देखिन्छ, उसको वास्तविकता त्यो मात्र होइन रहेछ भन्ने सत्य मैले ज्योतिषी भएपछि नै बुझेको हुँ । तर जब समाजको यथार्थ मैले बुझेँ तब यस यथार्थलाई आफूमा मात्र सीमित राख्नुहुन्न भनेर निर्णय गरेँ ।’

उनको यही निर्णयबमोजिम विभिन्न व्यक्तिका कुण्डलीहरु विश्लेषण गरेर यो ‘कुण्डली दर्पण’ तयार भएर प्रकाशन भएको ज्ञात हुन्छ । कुन ग्रह जन्मकुण्डलीमा कुन स्थानमा बस्दा कस्तो फलादेश गर्ने भन्ने कुरामा अलमलमा परेका सिकारु र यस विषयमा चासो राख्नेहरुका लागि पुस्तक मार्गदर्शक बन्नेछ । ज्योतिषको सामान्य ज्ञान नभए पनि आफ्नो चिना निकालेर पुस्तकमा भएका कुण्डलीहरुसँग जुधाएर हेरौँ भन्ने पाठकहरुलाई लाग्न सक्छ ।

लेखक घिमिरेले आफ्नै कुण्डलीमा पनि दरिद्र योग, पिशाच योग, ग्रहण दोष भएको उल्लेख गर्दै अरुलाई सुझाव दिएका छन्, ‘पानी पर्ने योग छ भने पर्छ नै, त्यसलाई टार्न सकिन्न । तपाईंले आफूलाई नरुझाउन छाता ओढ्न सक्नुहुन्छ ।’

उनले अगाडि भनेका छन्, ‘ग्रहदशा भोग्नचाहिँ भोग्नै पर्छ, नत्र श्रीराम १४ वर्ष जङ्गल–जङ्गल भौँतारिने थिएनन् । न त कृष्ण जेलमा जन्मन्थे र जन्मदाताको स्तनपानबाट समेत वञ्चित हुन्थे ।’ जङ्गल र जेलबाट सुरक्षित बचेर अघि बढ्नका लागि सतर्क हुन ‘कुण्डली दर्पण’ले समय दिने लेखकको भनाइ छ । हुन पनि संस्कृतमा ‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च, ग्रहैः व्याप्तमिदं सर्वं त्रैलोक्यं स चराचरम्’ भनिएकै छ ।

यस ‘कुण्डली दर्पण’मा जस–जसको कुण्डली विश्लेषण गरिएको छ, उनीहरुको ज्योतिषीय पक्षबाट हुनेसम्मको फलादेश गरिएको छ । चर्चित र चतुर नेता केपी ओलीको कुण्डलीको विश्लेषण गर्दै ज्यातिषी घिमिरेले लेखेका छन्, ‘स्वगृही गुरु र लग्नेश चन्द्रमाले लग्नमा दृष्टि दिएका कारण जातकलाई म निकै जन्नेछु भन्ने अभिमान छ । त्यसैले टुक्का हालेर भाषण गर्ने, अरुलाई हँसाउन सकेकोमा दङ्ग पर्ने बानी परेको हो ।’

यस्तै राजा महेन्द्रको कुण्डलीमा लग्नेश चन्द्र भाग्यभावमा र भाग्येश गुरु लग्नमा बसेका छन् अनि लग्नमै लक्ष्मीयोग बनेको छ भने कर्कट राशिमा गुरु उच्चका छन् । त्यसैले उनी अत्यन्त चतुर र भिजनरी भएका थिए भन्ने कुरा यस पुस्तकमा दर्शाइएको छ । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मकुण्डलीको १२ औँ भावमा रहेका सूर्य र राहुले शान्तिका साथ उनलाई निदाउन दिँदैनन् भन्दै तनाव कम गर्ने दिशामा ध्यान नदिए मस्तिष्क घातसम्म हुन सक्ने भविष्यवाणी गरिएको छ ।

विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको कुण्डली विश्लेषण गरेर यो ग्रहको यो अवस्थितिले यस्तो भएको र अब यस्तो हुन सक्छ भनी फलादेश गर्नु सामान्य कुरा होइन । ज्योतिषी घिमिरेको यो मेहनत र क्षमतालाई मान्नै पर्छ । साथै हरेक कुण्डलीका लागि उपयुक्त शीर्षक दिई सन्दर्भ र प्रसंग मिलाएर शब्दानुचयनसहित पठनीय बनाउने सम्पादक कपिल काफ्लेको पनि उत्तिकै परिश्रम देखिन्छ ।

एउटा कुरा, ज्योतिषी घिमिरेकहाँ ज्योतिष हेराउन आउनेहरुले कि चिना बोकेरै आए, कि त जन्ममिति, समय र जन्मस्थान बताए, जसले गर्दा कुण्डली तयार गर्न समस्या परेन होला । तर अब्राहम लिंकन, एलन मस्क, हिटलर, बिल क्लिन्टन आदिका चिना त बनाइएका थिएनन् होला । ज्योतिषी आफैँले कुण्डली तयार गर्न पनि जन्ममिति, समय र जन्मस्थान जरुरी हुन्छ । यो सब कसरी सम्भव भयो ? साथै कुन सफ्टवेयर प्रयोग गरेर कुण्डली बनाइयो अथवा आफैँले गणित ज्योतिषका आधारमा कुण्डली तयार गरियो ? यो सबै कुरा खुलाइएको भए पुस्तकको ओज अझ बढ्ने थियो ।

जे होस्, फलित ज्योतिष विषयका शिक्षक, विद्यार्थी, सिकारु वा आफ्नो कुण्डली आफैँ हेर्न खोज्ने जिज्ञासुहरुका लागि ‘कुण्डली दर्पण’ सहयोगी हुने विश्वास गर्न सकिन्छ । साथै नेपालसहित विश्वका चर्चित व्यक्तिहरु जन्मदा ग्रहहरुको अवस्थिति कस्तो थियो र ती ग्रहले कस्ता प्रभाव पारे वा पार्नेछन् भन्ने कुरा यस पुस्तकबाट अवगत हुन्छ । ब्रदर बुक्स प्रकाशन प्रा.लि.द्वारा प्रकाशित झन्डै ३ सय पृष्ठको यस पुस्तकको मूल्य रु. ४५०।– उचित नै मान्न सकिन्छ ।