भारतीय दूतावासले मनायो भारतको ७७औं गणतन्त्र दिवस


काठमाडौं ।

काठमाडौंस्थित भारतीय दूतावासले सोमवार विभिन्न कार्यक्रमको आयोजना गरी भारतको ७७ औँ गणतन्त्र दिवस मनाएको छ । नेपालमा बसोबास गर्ने भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरू, दूतावासका कर्मचारी तथा उनीहरूका परिवारजनको उल्लेखनीय सहभागितामा यो कार्यक्रम सम्पन्न भएको हो ।


कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतीय राष्ट्रिय झण्डा फहराउँदै औपचारिक सुरुवात गरिएको कार्यक्रमको भारतका राष्ट्रपति द्रौपदी मुर्मुले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधनको भिडियो प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा भारतीय सशस्त्र बलमा कर्तव्य निर्वाहका क्रममा बलिदान गरेका सैनिकहरूका परिवारजनलाई सम्मान गरियो । कार्यवाहक राजदूत डा. पाण्डेले दिवंगत सैनिकका श्रीमती तथा निकटतम नातेदारहरूलाई सम्मान गर्दै आर्मी ग्रुप इन्स्योरेन्स फन्डमार्फत कुल ७ करोड २० लाख नेपाली रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा गत एक वर्षमा भारत–नेपालबीच भएका महत्वपूर्ण प्रगति तथा सहकार्यलाई समेटिएको एक भिडियो पनि प्रस्तुत गरिएको थियो । उक्त अवसरमा राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी तथा शिक्षकहरू र नेपाली कलाकारहरूले जीवन्त नृत्य तथा सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप रंगीन बनाएका थिए ।

भारतको संविधान कार्यान्वयन भएको ऐतिहासिक दिन जनवरी २६, १९५० लाई सम्झँदै मनाइने गणतन्त्र दिवसले दुई छिमेकी राष्ट्र भारत र नेपालबीचको सदियौँ पुरानो मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सहयोगलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ ।