काठमाडौँ।
काठमाडौंस्थित भारतीय दूताबासले सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी भारतको ७७औँ गणतन्त्र दिवस मनाएको छ। नेपालमा बसोबास गर्ने भारतीय समुदायका सदस्यहरू, भारतका मित्रहरू, दूतावासका कर्मचारी तथा उनीहरूका परिवारजनको उल्लेखनीय सहभागितामा यो कार्यक्रम सम्पन्न भएको हो।
कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतीय राष्ट्रिय झण्डा फहराउँदै औपचारिक सुरुवात गरिएको कार्यक्रमको भारतका राष्ट्रपति द्रौपदी मुर्मुले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधनको भिडियो प्रदर्शन गरिएको थियो।

कार्यक्रममा भारतीय सशस्त्र बलमा कर्तव्य निर्वाहका क्रममा बलिदान गरेका सैनिकहरूका परिवारजनलाई सम्मान गरियो। कार्यवाहक राजदूत डा. पाण्डेले दिवंगत सैनिकका श्रीमती तथा निकटतम नातेदारहरूलाई सम्मान गर्दै आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (AGI F) मार्फत कुल ७ करोड २० लाख नेपाली रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा गत एक वर्षमा भारत–नेपालबीच भएका महत्वपूर्ण प्रगति तथा सहकार्यलाई समेटिएको एक भिडियो पनि प्रस्तुत गरिएको थियो। उक्त अवसरमा राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र का विद्यार्थी तथा शिक्षकहरू र नेपाली कलाकारहरूले जीवन्त नृत्य तथा सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप रंगीन बनाएका थिए।

भारतको संविधान कार्यान्वयन भएको ऐतिहासिक दिन जनवरी २६, १९५० लाई सम्झँदै मनाइने गणतन्त्र दिवसले दुई छिमेकी राष्ट्र भारत र नेपालबीचको सदियौँ पुरानो मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सहयोगलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।











प्रतिक्रिया