काठमाडौँ ।
नेपाली सेनाले पश्चिम पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लामा कार्यरत सञ्चारकर्मीहरूका लागि रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार विभिन्न सञ्चारमाध्यममा आबद्ध २० जना सञ्चारकर्मीको सहभागितामा ‘Defence Correspondent Orientation Programme (DCOP)’ आजदेखि पश्चिम पृतना, पोखरामा सुरु भएको हो।
कार्यक्रमको शुभारम्भ गर्दै पश्चिम पृतनाका पृतनापति उपरथी श्री भोला नाथ थापाले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे। सो अवसरमा उनले नेपाली सेनाका गतिविधि, जिम्मेवारी र भूमिकाबारे तथ्यपरक तथा जिम्मेवार सूचना प्रवाहमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रमकै क्रममा विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका पश्चिम पृतनाको जिम्मेवारी क्षेत्रभित्र रहेका आठ वटा एफएम रेडियो स्टेशनलाई जनसम्पर्क तथा सूचना निर्देशनालयको तर्फबाट प्रोत्साहनस्वरूप नगद तथा कदरपत्र प्रदान गरिएको छ।

चार दिनसम्म सञ्चालन हुने उक्त अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी, भूमिका तथा प्रमुख गतिविधिहरूबारे जानकारीमूलक प्रस्तुतीकरणका साथै विपद् प्रतिकार्य, समसामयिक सुरक्षा विषयमा अन्तरक्रिया गरिने जनाइएको छ।











प्रतिक्रिया