काठमाडौँ।
नेपाल आइसिसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो चरणबाटै बाहिरिएको छ ।
सोमबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो हार बेहोरेसँगै नेपालको यात्रा पहिलो चरणमै सीमित भएको हो ।
स्कटल्यान्डले दिएको १४१ रनको मध्यम लक्ष्य नेपालले पछ्याउन सकेन । नेपालले १३.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ६८ रन जोड्न सक्यो ।
नेपालका लागि रोमा थापाले अविजित १४, विन्दु रावलले १४ र रुविना क्षेत्रीले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिए । त्यस्तै क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई विकेट लिए । यसैगरी राहेल स्लेटर र ओलिभिया बेलको नाममा एक–एक विकेट रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो ।
स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले अविजित ४५, एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ र राहेल स्लेटरले ११ रन बनाए ।
नेपालका लागि मनिषा उपध्यायले सर्वाधिक चार विकेट लिए । त्यस्तै रुविना क्षेत्रीले तीन खेलाडीलाई पवेलियनको बाटो देखाउँदा रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक विकेट लिए ।
यो हारसँगै चार खेलमा दुई अंक जोडेको नेपाल समूह ‘बी’ को चौथो स्थानमा रह्यो । जित निकालेको स्कटल्यान्डले भने समान खेलबाट ६ अंकका साथ सुपर सिक्सको यात्रा तय गरेको छ । नेपालको हारसँगै ४ अंक जोडेको धाइल्यान्ड पनि सुपर सिक्समा पुग्यो ।
नेदरल्यान्ड्स भने ३ लगातार जित हात पार्दै सुपर सिक्समा पहिलै पुगिसकेको थियो ।











प्रतिक्रिया