
रसुवा ।
नौकुण्ड गाउँपालिका वडा नम्बर २ युब्रा गाउँको ठीक अगाडि थाचप भन्ने स्थानमा अवस्थित नेकाङ गुफा साधारण गुफा होइन । यो एक अत्यन्तै विशाल, रहस्यमय र दैविक शक्तिले भरिएको पवित्र स्थल भए पनि उचित प्रचारप्रसारको कमीले अोझेलमा परेको छ ।
युब्रा गाउँका स्थानीय गणेशमान तामाङ भन्नुहुन्छ, ‘यो गुफालाई हल्कारूपमा लिनु वा खेलाँची सम्झनु ठूलो भूल हुनेछ । किनकि यहाँ देवी माको बासस्थान रहेको स्पष्ट अनुभूति हुन्छ । देवी मा कहिल्यै एक्लै बस्नुहुँदैन । उहाँसँगै बनझाँक्री, सिमेभूमे, बायुक, स्याउरी, नाग–नागिनीलगायत अनेकौँ दैवी शक्तिहरूको सहअस्तित्व रहेको छ ।’
गुफाभित्र रहेको अण्डाजस्तो आकारको विशेष संरचना अत्यन्त शक्तिशाली छ, जुन बनझाँक्री–शक्तिसँग सम्बन्धित भएको संकेत स्पष्ट देखिन्छ । त्यो बल्छ, ऊर्जा दिन्छ र अनौठो अनुभूति गराउँछ । इतिहास र जनविश्वासअनुसार नुवाकोटको ब्रादी भन्ने स्थानमा पनि यस्तै देवी माको गुफा रहेको थियो । दिदी–बहिनी देवीहरू सँगै बस्ने क्रममा भएको मतभेदपछि दिदी देवी थाचपको नेकाङ गुफामा आएर बस्नुभएको भन्ने जनश्रुति छ ।
अझै आश्चर्यको कुरा, थाचपदेखि नुवाकोट ब्रादीसम्म गुफामार्गले नै जोडिएको विश्वास छ, जहाँ दिदी–बहिनी देवीहरू कहिलेकाहीँ भेट्न जाने बाटो रहेको भनाइ आज पनि जीवित छ । अर्को कुरा धामीझाँक्री लामाहरु विषेश गरी यस नेकाङ गुफामा बस्ने र ज्ञान लिने गरेको बताइन्छ ।
खास गरी भर्खर उत्रिँदै गरेका धामी लामाहरु ज्ञान आर्जनका लागि गुफा बस्ने गर्छन् । सबैले मान्ने गुरुले आफ्ना चेलाहरूलाई आध्यात्मिक ज्ञान आर्जनका लागि गुफा बसाउन लाने गर्छन् । माघ १ गतेका दिन गुफाबाट फर्किएपछि मुख्य आकर्षण नै धामीझाँक्रीको कला, लामा नाच प्रदर्शन, स्थानीय नाचगान प्रदर्शन हुने गर्छ । यति ठूलो ऐतिहासिक, धार्मिक र दैविक महत्व बोकेको स्थल हुँदाहुँदै पनि आजसम्म यसको उचित संरक्षण, सरसफाइ र व्यवस्थापन नहुनु दुःखद हो । मान्छेले थुपारेको ढुंगालाई पर्यटन क्षेत्र घोषणा गरिन्छ भने, यति ठूलो शक्ति, आस्था र इतिहास बोकेको स्थानले किन उपेक्षित रहनुपर्ने हो ?
स्थानीय गणेशमान तामाङ भन्नुहुन्छ, ‘सरकार पक्ष, स्थानीय तह, आम जनता र सम्पूर्ण भक्तजनहरूले यसको प्रचार र संरक्षण गर्नुपर्छ । नेकाङ गुफालाई धार्मिक तथा आध्यात्मिक पर्यटन क्षेत्र घोषणा गरी वैज्ञानिक एवं धार्मिक दृष्टिले संरक्षण गरिनुपर्छ । यसको नियमित सरसफाइ र सुरक्षित पूर्वाधारमा ध्यान दिइयोस् ।’
उहाँका अनुसार यसो हुन सकेमा स्थानीय जनतालाई रोजगारी र पहिचानको अवसर सिर्जना हुनेछ । यसले केवल देवी माको शक्ति संरक्षण मात्र होइन, नौकुण्ड गाउँपालिका र सम्पूर्ण क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने माध्यम बन्न सक्छ । आस्था, शक्ति र प्रकृतिको संगम रहेको यो पवित्र भूमिलाई जोगाउनु हाम्रो सामूहिक दायित्व हो । आज ध्यान नदिँदा भोलि पछुताउनु नपरोस् ।
यो धार्मिक गुफा– आस्थाको केन्द्र, शक्तिको स्रोत र नौकुण्डको पहिचान हो भनिन्छ । यो कुनै मानवनिर्मित गुफा नभएर दैवीशक्तिको रूपम रहेको प्राकृतिक गुफा हो । यसैले सबैले यसको संरक्षण र प्रचार गर्न जुर्मुराउनु जरुरी छ ।











प्रतिक्रिया