फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको सबै तयारी पूरा भएसँगै देश चुनावी माहोलमा प्रवेश गरिसकेको छ । राजनीतिक दलहरू आ–आफ्नो क्षमता, संगठन र रणनीतिका साथ चुनावी मैदानमा होमिएका छन् । सांसदको टिकट पाएका उम्मेदवारहरू गाउँ–गाउँ पुगेर मत माग्न थालेका छन् । यस क्रममा उनीहरूले अपनाएका तौरतरिका फरक–फरक छन् । कसैले भावनात्मक नारामा जोड दिएका छन् भने कसैले विकासका रंगीन सपना बाँडिरहेका छन् । तर यसपटकको निर्वाचन विगतका चुनावभन्दा फरक र रोचक देखिँदै छ । कारण स्पष्ट छ– मतदाता सचेत बनेका छन् । स्थानीय जनता अब उम्मेदवारको भाषण र प्रचार सामग्रीमा मात्र सीमित छैनन् । उनीहरूले उम्मेदवारको नैतिक धरातल, काम गर्ने क्षमता, विगतको भूमिका, स्थानीय माटो र भूगोलप्रतिको बुझाइ गहिरोरूपमा विश्लेषण गर्न थालेका छन् । यही सचेतताले यो निर्वाचनलाई अर्थपूर्ण बनाउँदै छ ।
चुनावी प्रचारमा सामाजिक सञ्जालको प्रयोग अभूतपूर्वरूपमा बढेको छ । केही उम्मेदवार सामाजिक सञ्जालमै ‘स्टार’ जस्तै देखिएका छन् । तर सामाजिक सञ्जालमा लोकप्रिय हुँदैमा स्थानीय स्तरमा पनि लोकप्रिय हुन्छन् भन्ने ग्यारेन्टी छैन । गाउँको बाटो नचिनेका, जनताको पीडा नबुझेका र स्थानीय समस्या कहिल्यै नसुनेका उम्मेदवार सामाजिक सञ्जालको चमकमा मात्र भर पर्नु भ्रम हुन सक्छ । मतदाता अब ‘लाइक’ र ‘भ्यु’ हेरेर भोट हाल्ने अवस्थामा छैनन् । चुनावको बेला मात्र गाउँ छिर्ने र बाँकी समय जनताबाट टाढा रहने नेताहरूलाई यसपटक गम्भीर प्रश्नको सामना गर्नुपर्ने देखिन्छ । जनतासँग साक्षात्कार गर्ने, समस्या सुन्ने र समाधान खोज्ने काम चुनावको मौसममा मात्र होइन, सधैँ हुनुपर्छ । नेताहरू नियमित रूपमा आफ्ना गाउँ–टोलमा पुगेर स्थानीय समस्या समाधानका लागि सक्रिय देखिनु अब विकल्प होइन, अनिवार्यता बनेको छ ।
यसै सन्दर्भमा विभिन्न ठाउँमा देखिएको ‘टुरिस्ट उम्मेदवार’ को प्रवृत्ति चिन्ताजनक छ । कहिल्यै नपुगेको, नचिनेको र नबुझेको ठाउँमा गएर मत माग्नु आफैंमा राजनीतिक नैतिकताको प्रश्न हो । स्थानीय माटो नचिनेको, जनताको रहनसहन र प्राथमिकता थाहा नभएको व्यक्तिलाई प्रतिनिधि बनाउने कि नबनाउने भन्ने निर्णयमा मतदाता संवेदनशील हुन जरुरी छ । प्रतिनिधित्व भनेको केवल चुनाव जित्नु होइन, जनताको आवाज बन्ने दायित्व हो । जे होस्, निर्वाचनको महोत्सव शुरु भइसकेको छ । उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर जनताको घर–आँगनमा पुगेका छन् । अब निर्णायक भूमिका जनताकै हातमा छ । आफ्नै गाउँ–ठाउँ बुझ्ने, जनतासँग निरन्तर जोडिएको र जवाफदेही उम्मेदवार छान्नु नै लोकतन्त्रको सार हो । सचेत मतदाता नै स्वस्थ लोकतन्त्रको बलियो आधार हो भन्ने कुरा यस निर्वाचनले प्रमाणित गर्ने अपेक्षा गरिन्छ ।











प्रतिक्रिया