राजनीतिक दलहरु बिच भएको गठबन्धनले जनता र देशले पाउने त कार्यान्वयन नहुने मिथ्या लोकप्रिय नाराहरु र दिवा स्वप्नहरु मात्रै त हो, ती अल्पकालीन र पुरा हुँदैनन् । यसरी दलहरुबिच गठबन्धन भएमा प्रत्यक्षरुपमा चुनावी तालमेल भई राजनीतिक दल, दलका निर्वाचित नेता र तीनका आश्रित झोलेहरुलाई मात्र फाईदा पुग्ने विगतका तितो अनुभवहरुले सजिलै आंकलन गर्न सकिन्छ । यँहा गठबन्धन गर्ने दलहरुको आ आफ्ना आपसी स्वार्थ एवं अभिष्टहरुलाई केन्द्रमा राखिएको हुन्छ।
गठवन्धन भनेको चुनावी तालमेल वा मिलोमतो वा भागबण्डाको राजनीति मात्र हो। सांच्चिकै भन्नुपर्दा यो अस्वस्थ प्रतिस्पर्धाको खेल हो। दलका नेता र कार्यकर्ताहरुलाई चुनाव जित्नलाई जे जे कुराहरुले सहयोगी भूमिका खेल्न सक्दछ, ती समस्त प्रपन्चहरु उनीहरुको लागि साम, दाम, दण्ड, भेदको कुटिल चाल अनुरुप जायज हुन्छ भने उक्त अवस्थामा देश र जनताहरु उनीहरुका लागि गौण हुन पुग्दछ। यस अर्थमा वर्तमान समयसम्म आईपुग्दा भएका विभिन्न चुनावहरु केन्द्रीत गठवन्धनबाट सिकेका पाठहरुलाई गहिराईबाट बुझ्न जरुरी रहेको छ ।
यँहा हालै जेनजी आन्दोलनको विकसित विषम परिस्थिति पश्चात् विघटित कांग्रेस र एमाले मिलेर दुई तिहाईको दम्भ बोकेको सरकार गठन प्रक्रियामा समेत अस्वस्थ गठवन्धनले गम्भीर असर पारेको प्रत्यक्ष अनुभव संगालिसकेका छौँ। उक्त अस्वस्थ गठवन्धनको दम्भस्वरुप तत्कालीन सरकारले गरेका विभिन्न जनताको मौलिक हक अधिकार कुण्ठित पार्ने किसिमका अलोकप्रिय गलत निर्णयहरुको कारण २०८२ भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले मूर्तरुप लिई सो को दुष्परिणाम स्वरुप सरकारमा बहाल नेताहरु आफ्नो ज्यान समेत बचाउन हम्मेहम्मे परी हेलिकप्टर चढेर भाग्नुपर्ने र नेपाली सेनाको संरक्षणमा बस्नुपर्ने बाध्यकारी स्थितिको सिर्जना भयो । उक्त विषम परिस्थिति भोगेको धेरै दिन व्यतित नभईसक्दा समेत राजनीतिक दलहरुको अझैपनि चेत खुलेको देखिन्न, किन होला देश र जनताको हितलाई प्राथमिकताको मूल केन्द्रमा राखि चुनावी अभियानमा सामेल हुन नसकेको ?
गठंबन्धन-ठगंबन्धन अर्थात् देश र जनतालाई धोका दिई सत्ता प्राप्तिको भर्यांङ मात्र, चुनाव जितेपछि देश र जनताको मुद्दाको आवाज नउठाई हिजोको दिनमा जस्तै पुनः संसद भवन भित्र सत्तामा रहेका र प्रतिपक्ष बिच एक अर्कालाई आरोप प्रत्यारोपमा उत्रिएर समय र फजुल खर्चमात्र बढाईरहने जुहारी चलेको मात्र देखिन्छ । फेरी पनि उनीहरु कै रजगज, राजसी ठाँट, के के न भ्याई नभ्याई भएजस्तो साईरन र अगुवा र पछुवा सुरक्षाकर्मीहरुको जत्था बोकेर हुँइकिनेमात्र गतिविधि हिजो पनि देखिएकै हो फेरि पनि देखिन्छ ।
भ्रष्ट्राचारले व्याप्त, कुशासनले थप आक्रान्त देशले न सम्वृद्धि पाँउछ न जनताले सुख र शान्ति पाउँछन् । पाँउछन् त केवल चरम निराशा र असन्तुष्टीमात्र पाँउछन् । त्यसैले गठबन्धन गर्नु देश र जनतालाई चरम धोका हो भन्ने आम जनमानसले समय मै बुझ्न नसकेमा पीडा भोग्ने त आमनागरिक र देशले मात्रै हो । जिताईसकेपछि त उनीहरु त सरर चिल्ला गाडीमा ब्यक्तिगत एवं दलगत स्वार्थ प्राप्तिको लागि हुँइकिनेमात्र हुन्, फेरी चुनाव हुने निकटतम समय आउन थालेपछि देश र जनताको लागि प्रतिवद्ध छौँ भनि ओठेभक्ति दर्शाई विभिन्न शक्ति प्रदर्शन मार्फत खोक्रा दन्तबझानमा उत्रिएर जनमानसलाई प्रलोभनमा पार्ने कोशिशमा तल्लिन हुन थालिहाल्छन् ।
बाहिरी आवरणबाट देशभक्त भनिने लुसिफर, लेण्डुप दोर्जेहरु जस्ता आत्मघातीहरुलाई नेपाल देशको के माया र मतलव हुन्छ र‘ बासगाँस सहित कुम्ला कुटेराहरु र गुप्त धनहरु त विदेशी भूनिमा थन्क्याईसकेका छन् सन्तानहरुको लागि पनि उतै व्यवस्थापन गरिसकेका छन्, यीनीहरुलाई देश र जनताको हितको त बाल मतलवै छैन । देशमा देश भित्र कै भ्रष्ट, नैतिकता गुमाएका विदेशी दलालहरु र विदेशीहरुको दवाव र प्रभावको बिगबिगी नै छ ।
यस्ता नक्कली नेपालीहरुको मुखडामा लगाएको नकाव उतारेर देश र जनताको समृद्धिमा तनमन र धर्मले निःस्वार्थ भावनाले अहोरात्र लाग्ने स्वच्छ छवि भएका निष्कलंक, सक्षम र ईमान्दार राजनेताहरुले भरिएका दलका जनप्रतिनिधिहरु चुन्नुपर्ने सँगिन मोडमा हामी आम देशप्रेमी नागरिकहरु उभिएका छौँ, अहिलेपनि हाम्रा भन्दा पनि देश र जनताको लागि निःस्वार्थ एवं प्रतिवद्ध राम्रा राजनेताहरुलाई अमूल्य मतदान सहित जिताउनुपर्ने महत्वपूर्ण दायित्व रहेको छ !
हामी आमनागरिकहरुले नँया नँया दलहरुको पार्टी कार्यालयहरु खुल्दैमा र नँया वा पुरानाहरु एउटै दलमा एक्येबद्धता सहित समाहित भई चुनावी माहोल बनाउँदैमा हौसिन जरुरी छैन। तथापि, देश र जनताको समृद्धिको लागि आशा त गर्न सकिन्छ पूर्ण भरोसा चाँहि गर्न सकिन्न। यीनिहरुको देश र जनताप्रति लगाव भई निःस्वार्थरुपमा गरेको कार्य समीक्षा हुन नै बाँकी छ।
यँहा चुनाव जितेर बन्ने सरकारले समग्र देशलाई एकताको सुत्रमा बाँधि देशको भूगोल अनुसार कस्तो किसिमको विकासको आवश्यकता हो सो को पहिचान गरी तोकिएको समयसीमा भित्र लक्ष्य हासिल हुने गरी दीर्घकालीन योजना तयार गर्नुपर्ने देखिन्छ। त्यसपछि उक्त योजना जुनसुकै दलको सरकार गठन भएपनि विलम्व नहुने कार्य रणनीति र ऐन कानूनको निर्माण एवं प्रभावकारी कार्यान्वयन हुनुपर्ने देखिन्छ। त्यसैले अब बन्ने सरकारले अपनाउने ठोस कार्य रणनीति र प्राथमिकता क्षेत्र निर्धारणले गर्दा विकासको लहरले अपेक्षाकृत गति लिन सकि देशको अर्थतन्त्रलाई सुदृढरुपमा फराकिलो बनाउन र जनतालाई सुख एवं समृद्धि दिई पूर्ण सन्तुष्टि दिन सकोस् ।
मानव-मानव बिच उत्पन्न असिमित चाहना र स्वार्थहरुले गर्दा नै समाज हुँदै देशको समग्र भूगोलभित्र द्वन्द्वको बिजारोपण हुन्छ। यसलाई समय मै सम्वोधन गर्न नसकेमा द्वन्द्वको स्वरुप परिवर्तन भई हिंसामा रुपान्तरण हुन कुनै बेर लाग्दैन । देशमा चरम असन्तुष्टी, बढ्दो बेथिति, दण्डहिनता, प्रतिशोधको राजनीति, बेरोजगारी, अधिकांश युवाहरु बिदेश पलायन, मौँलाउदै गएको भ्रष्ट्राचारको जालो, रेमिट्यान्सले धानेको अर्थतन्त्र, बैदेशिक हस्तक्षेप, कुशासन जस्ता कारक तत्वहरुले गर्दा सिर्जित द्वन्द्वको परिणाम अवश्य नै कालकुट विष सरह नै हुन्छ ।
यँहा एकफेर सोचम् त द्वन्द्वको सिर्जित परिस्थितिबाट देश नै नरहे ब्यक्ति, समूह, संस्था, संगठन र दल जस्ता विभिन्न स्वार्थ समूहहरुको अस्तित्व कँहा रहला र के रहला, माउ बिनाका चल्लाहरु जस्तै हुन्छन् । त्यसपछि मात्र देशको माया पलाउला कि, त्यो पनि ठेगान छैन । अझैपनि दलगत एवं ब्यक्तिगत स्वार्थको खिचातानीमा लागेर हानी पुग्ने नेपालीलाई नै हो । त्यसैले नेपाली-नेपाली बिच हुने आपसी खिचातानी, दम्भ र वालहठ त्यागी हामी सबै सकारात्मकरुपमा परिवर्तित सोचका साथ एक ढिक्का भएर देशलाई शक्तिशाली, समृद्ध र बैभवशालीरुपमा सम्पन्न बनाउन सकिएमा स्वतः सम्पूर्ण देशवासी जनताहरुले सोचे अनुरुप सुख, शान्ति र समृद्धि प्राप्ति हुने निश्चित छ ।
अतः फाल्गुण २१ गते हुने आसन्न निर्वाचनमा हामी आमजनमासले हाम्रालाई भन्दा राम्रा र स्वच्छ छवि भएका देश र जनताप्रति समर्पित रहि आफ्नो बहुआयामिक कार्यकुशलता प्रदर्शन गर्नसक्ने कुशल एवं क्षमतावान नेताहरुलाई अमूल्य भोट दिई जिताउनुपर्ने अहम दायित्व रहेको छ।
लेखक नेपाली सेनाबाट अवकाश प्राप्त पुर्व ब्रिगेडियर जनरल हुन् ।











प्रतिक्रिया