दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला र संयुक्त राज्य अमेरिकाको बीचको सम्बन्ध केही समयदेखि अत्यन्त तीक्त बनिराखेको थियो । तेल र प्राकृतिक ग्यासको धनी देश भेनेजुएला आफ्नो प्राकृतिक स्रोतको उपयोग गर्दै निकासी गर्न नसकेका कारण असहज अवस्थाको सामना गरिराखेको थियो । स्रोत–साधन सम्पन्न हुनुका साथै सामरिक हिसाबले पनि महत्वपूर्ण देखिएको भेनेजुएलामा संयुक्त राज्य अमेरिकाको दृष्टि पर्दै गयो ।
शक्ति सम्पन्न राष्ट्र संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई आफ्नो स्वार्थ अनुरुप परिचालन गर्न सकेन । उनको उद्देश्य प्राप्तिमा मादुरो अवरोधको रुपमा देखिए । यसलाई पन्छाउनु अमेरिकी हितमा देखियो । त्यसैले यी दुई देशका राष्ट्राध्यक्षहरूका बीचमा लामो समयदेखि द्वन्द्व चलिराखेको थियो । राष्ट्रपति मादुरो आफूलाई सुरक्षित राख्दै संयुक्त राज्य अमेरिकासँग शीत युद्धमा उत्रिएका थिए । उनले खुलेर र आक्रामकरुपमा ट्रम्प प्रशासनको आलोचना र विरोध गरिरहेका थिए । धेरैपटक राष्ट्रपति ट्रम्पले मादुरोलाई चुनौती दिइराखेका थिए । तर यी दुईका बीचको द्वन्द्वले चरम रूप लिँदै गयो ।
धेरै प्रकारका रणनीतिहरुमार्फत संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो पकड कायम गर्न खोज्यो तर त्यो सम्भव भएन । बिस्तारै भेनेजुएला चीन र रूसको पकडमा गइराखेको थियो । ठूलो रकम चीनले भेनेजुएलाको प्राकृतिक स्रोत–साधनमा लगानी गरिराखेको थियो । यसबाट चीन र रूसको समर्थन राष्ट्रपति मादुरोले प्राप्त गरिराखेका थिए । यही कारणले उनी संयुक्त राज्य अमेरिकासँग आमने–सामने गर्न सक्ने, उक्त देशको चुनौतीको डटेर सामना गर्न सक्ने अवस्थामा तयारी गरिरहेको देखिन्थे । राष्ट्रपति मादुरो आफ्नो सूचना बाहिर जान नदिने हिसाबले अत्यन्त सुरक्षित भइराखेका थिए ।
उनले आफ्नो बासस्थान पनि पटक–पटक परिवर्तन गरिराखेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले उनको सूचना दिनेलाई प्रारम्भमा अढाइ करोड अमेरिकी डलर र पछि ५ करोड अमेरिकी डलर दिनेसमेत घोषणा गरेका थिए । यी कुनै पनि ट्रम्पको रणनीतिले लक्ष्य प्राप्त गर्न सकेको थिएन ।
तर अरु सबै रणनीतिक हिसाबले अमेरिकाको नियन्त्रणमा भेनेजुएला नआउने स्पष्ट देखेपश्चात् अकस्मात् ट्रम्प प्रशासनले राष्ट्रपति मादुरोलाई मध्यरातमा उनको आफ्नै निवासबाट अपहरणको शैलीमा उठाएर संयुक्त राज्य अमेरिका पु¥याएको अवस्था छ । हाल भेनेजुएलाका राष्ट्रपति मादुरो न्युयोर्कको संघीय अदालतमा लागूऔषध कोकिनको तस्करी, हत्या, अपहरण, आतंकवादलगायतका सङ्गीन अपराधमा मुद्दा अभियोजन भई सुनवाइका क्रममा रहेका छन् । बन्दी जीवन बिताइराखेका छन् । यस घटनाबाट धेरै प्रकारका सन्देशहरू विश्वसामु प्रवाह भएको अवस्था छ ।
भेनेजुएला समस्याग्रस्त हुनुको कारण :
विश्वका ठूला तेल उत्पादक राष्ट्रहरू साउदी अरेबियालगायतका मध्यपूर्वी देशहरूभन्दा पनि ज्यादा तेल उत्पादन गर्न सक्ने र प्राकृतिक ग्यासको प्रचुर सम्भावना भएको देश भेनेजुएला हो । तर अत्यन्त गरिब देशको कोटीमा पनि यही मुलुक परेको छ । यसका धेरैवटा कारण छन् । यी कारणलाई वैदेशिक नीति, छिमेकी देशहरूको सम्बन्ध, शक्तिराष्ट्रहरूका बीचको असमझदारी र आन्तरिक कारणहरूसमेतका हिसाबले वर्गीकरण गर्नुपर्ने हुन्छ ।
यस देशको मुख्य आम्दानीको स्रोत भनेकै कच्चा तेल निर्यात गर्नु हो । लामो समयदेखि तेलमा मात्र अर्थतन्त्र निर्भर हुन पुग्यो । कुनै पनि प्रकारका उद्योग, कलकारखानाको विकास देशमा भएन । आर्थिक नीति, वित्तीय नीतिहरू अत्यन्त कमजोर बन्दै गए । मूल्य नियन्त्रण र मुद्रा नियन्त्रण अत्यन्त ज्यादा हुँदै गयो । निजी क्षेत्रलाई प्रश्रय दिइएन । यसका कारण उत्पादन र उत्पादकत्वमा कमी आयो । बजारमा सामानहरूको अभाव अत्यन्त ज्यादा हुन थाल्यो । भ्रष्टाचार र कुशासनले देश व्याप्त भयो । तेल कम्पनीहरूको गलत व्यवस्थापन राज्यले गर्दै गयो ।
राज्यको स्रोत–साधनको अत्यधिक दुरुपयोग हुन थाल्यो । मुद्रा स्फीतिलाई नियन्त्रणमा राख्न अत्यधिक मात्रामा नोट छाप्ने रणनीति अवलम्बन गर्न थाल्यो । यसले गर्दा मुद्राको क्रयशक्ति अत्यन्त कमजोर बन्दै गयो । अन्तर्राष्ट्रिय संघसंस्थाहरू र अमेरिकालगायतका देशहरूले भेनेजुएलालाई प्रतिबन्ध लगाउँदै गए । विदेशी लगानी र तेल निर्यातमा नकारात्मक प्रभाव पर्न थाल्यो । विदेशी मुद्राको सञ्चिति अत्यन्त न्यून हुँदै गयो । अस्थिर राजनीतिका कारण सरकार र विपक्षी दलका बीचको द्वन्द्व अत्यन्त बढ्दै गयो । नीतिको निरन्तरताको अभाव देखियो ।
लगानीका लागि विश्वासको वातावरण बन्न सकेन । दैनिक उपभोगका सामग्रीहरू खाद्यान्न, औषधि आदिको अभावको सामना लामो समयदेखि गर्नुपर्ने परिस्थिति बन्यो । स्वास्थ्य र शिक्षाको अवस्था अत्यन्त कमजोर भयो । देशबाट युवा जनशक्ति मसल र बौद्धिक पलायन तीव्र गतिमा हुन थाल्यो ।
वैदेशिक नीति र शक्तिसम्पन्न राष्ट्रहरूबीचको सन्तुलित सम्बन्ध कायम गर्नको लागि चावेजदेखि मादुरोसम्म आइपुग्दा उनीहरू प्रायः असफल भए । एकपक्षीय हिसाबले अमेरिका विरोधी शक्तिसँग संलग्नता दिँदै गए । संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा तीक्तता आउँदै गयो । विशेष गरी साम्यवादी शासन सञ्चालन गरी आएका देशहरू चीन, रुस, उत्तर कोरिया आदिसँग मदुरोको सम्बन्ध सुमधुर हुँदै गयो । आर्थिक अवस्था मजबुत हुँदा त्यहाँका नागरिकहरूको खर्च गर्ने बानी परिसकेको थियो । तेलबाट पर्याप्त रकम आउँदा त्यहाँका नागरिकहरूको दिनचर्या बिस्तारै विलासी बन्दै गएको थियो । यस परिस्थितिमा भेनेजुएलाले ठूलो मात्रामा कोकिनलगायतका लागूपदार्थको उत्पादन गर्दै विश्वमा तस्करी गर्न थाल्यो । त्यसबाट आर्जित रकम व्यक्तिगत प्रयोजनमा संग्रह गर्न थाले ।
कच्चा तेल उत्पादन गरेर निर्यात गर्न नसक्दा यस देशको कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतसम्मको संकुचन आयो । कोकिन निकासीको केन्द्रविन्दु संयुक्त राज्य अमेरिकालाई बनाउन थाले । लागूऔषधका तस्करहरू, हिंसा र आतंकवादी समूहलाई मादुरोले आफ्नो देशमा संरक्षण दिइराखेको अवस्थासमेत देखिन थाल्यो । लागूऔषध नियन्त्रण अधिकारीको बीभत्स हत्यासमेत यी तस्करबाट हुन पुग्यो । यसमा सरकार मौन रह्यो । चाभेजको असफल सैनिक विद्रोहपश्चात् उनलाई नजरबन्दमा राखियो । त्यही समयमा बस चालकबाट श्रमनेता बनेका मादुरोले चाभेजको समर्थन र तत्कालीन सरकारको विरोध गरे । उनले आफ्नो समर्थन आक्रामकरुपमा चाभेजको पक्षमा दिँदै गए ।
अर्बुद रोगबाट पीडित चाभेजले मादुरोलाई आफ्नो उत्तराधिकारी घोषणा गरी उपराष्ट्रपतिसम्म बनाए । उनको मृत्युपश्चात् सन् २०१३ मा मादुरो भेनेजुएलामा राष्ट्रपति निर्वाचित भए । चाभेज र मादुरो दुवै संयुक्त राज्य अमेरिकालाई प्रतिद्वन्द्वी राष्ट्रको रुपमा लिने शासकमा दर्ज भइराखेका थिए । यी दुवैमा तानाशाही शासन प्रणाली सञ्चालन गर्ने अभ्यस्तता थियो । यो तानाशाही शासन पद्धतिका कारण मादुरो देशभित्रै अलोकप्रिय बन्दै गए ।
तथाकथित निर्वाचन गराएर विजयी भएको घोषणा गर्दै लामो समय सर्वोच्च शासक बने । यो अवस्थामा देशभित्र मादुरोको विरुद्ध सदन र सडक दुवै तात्न थाले । लोकतन्त्रवादी शक्तिसम्पन्न राष्ट्रहरूसँग मादुरोको सम्बन्ध विशेष गरी संयुक्त राज्य अमेरिकासँग राम्रो भएन । यसबाट विक्षिप्त भएका राष्ट्रपति ट्रम्पले सबै रणनीतिहरु असफल हुँदै गएपछि राष्ट्रपतिलाई अपहरण गर्दै न्युयोर्कको संघीय अदालतसमक्ष उपस्थित गराएका छन् । उनका विरुद्ध सुनवाइ जारी छ । तस्करीलगायतका सबै आरोपहरूबाट मादुरोले सफाइ प्राप्त गर्न सक्नुपर्दछ । अन्यथा उनको उत्तरार्ध कारागारमा अन्त्य हुन सक्छ ।
साना राष्ट्रहरू तनावमा :
शक्तिसम्पन्न राष्ट्रहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न नसकेका कमजोर राष्ट्रहरू जोखिममा पर्दै गएका छन् । विश्वका राजनीतिक घटनाक्रमहरुले यही कुरा उजागर गर्दै छ । ताजा घटनाक्रमको उल्लेख गर्नुपर्दा सन् २०२२ देखि युक्रेनमा रूसले आक्रमण गरिरहेको छ । यस देशको सार्वभौमसत्ता धरापमा छ । ठूलो भूभाग निकट भविष्यमै रुसले छिन्ने लगभग निश्चित छ । चीनले ताइवानलाई आफ्नो प्रान्तका रुपमा लिइराखेको छ ।
यस विषयमा पनि त्यस क्षेत्रमा तनाव छ । स्वतन्त्र तिब्बत प्रदेश चीनले बलपूर्वक आफ्नो भूभागमा गाभेकै छ । प्रारम्भमा नेटोका सदस्य राष्ट्रहरू र संयुक्त राज्य अमेरिकाले सहयोग गरिराखेकाले युक्रेन रूससँग सामना गर्न सफल भइराखेको थियो । तर अहिले अमेरिकी नीतिमा परिवर्तन आएको छ । ट्रम्पले नै रुसले नियन्त्रणमा लिएको भूभाग युक्रेनबाट हटाएर रुसको भूभागमा कायम गर्न जेलेन्सकीलाई सुझाइराखेका छन् । सम्पन्न राष्ट्रहरूको भरोसामा आफ्नो देशको र क्षेत्रको र सार्मभौम सत्ताको संरक्षण गर्न कठिन हुँदो रहेछ । युक्रेनबाट यही पाठ सबैले सिक्नुपर्ने स्थिति छ ।
संयुक्त राज्य अमेरिकाको मुनरो सिद्धान्त साना राष्ट्रको लागि अत्यन्त आतंकित बनाउने प्रकारको छ । केही उदाहरणहरु प्रस्तुत गरौँ । सन् १८२३ मा मुनरो सिद्धान्तले पश्चिमा क्षेत्रहरू सबैलाई अमेरिकी प्रभाव क्षेत्रका रुपमा लिँदै गयो । सन् १९०४ मा रुजबेल्टले ल्याटिन अमेरिकी क्षेत्रमा गलत काम रोक्न अमेरिकाले हस्तक्षेप गर्न पाउने नीति अवलम्बन गर्न पुगे । यसैको निरन्तरताको रूपमा राष्ट्रपति बुसले यी क्षेत्रहरूमा सत्तापलटसमेत संयुक्त राज्य अमेरिकाले गर्न पाउने उद्घोष गरे । यो मुनरो सिद्धान्तलाई सामान्यतया अमेरिकी राष्ट्रपतिहरूले प्रतिपादन गरेको र निरन्तरता दिइरहेको देखिन्छ ।
यद्यपि व्यवहारमा रुसलगायतका अन्य साम्यवादी शक्तिसम्पन्न राष्ट्रहरूले पनि प्रत्यक्ष–अप्रत्यक्ष मुनरो सिद्धान्तलाई नै अवलम्बन गरिआएका छन् । भेनेजुएलामा त्यहाँका राष्ट्रपतिको बलात अपहरण गरेपश्चात् राष्ट्रपति ट्रम्पले विचित्रका भनाइहरु राख्दै आएका छन् । भेनेजुएला देशमा संक्रमण कालभर अमेरिकी शासन सञ्चालन गर्ने, निर्वाचनमा पराजित भएका एडमन्ड गुन्डालेजलाई राष्ट्रपति बनाउन नोबेल शान्ति पुरस्कार विजेता एवं मुख्य विपक्षी दलकी नेतृ मारिया कोरिना माचादुले माग गरेकी छन् । तर ट्रम्पले उनको क्षमतामाथि प्रश्न गरेका छन् ।
उनीबाट भेनेजुएलाको शासन सञ्चालन प्रभावकारी हुन नसक्ने निष्कर्ष राष्ट्रपति ट्रम्पको छ । यसरी अन्य देशको शासकको क्षमताको मूल्याङ्कन शक्तिसम्पन्न राष्ट्रका राष्ट्रपतिले गरिरहेका छन् । सुरक्षित र न्यायोचित अवस्था कायम नभएसम्म अमेरिकी शासन त्यस देशमा सञ्चालन हुने उनको निर्णय छ ।
यतिखेर मादुरोको नजिकका उपराष्ट्रपतिलाई सर्वोच्च अदालतले राष्ट्रपतिको काम गर्न भनेको छ । उपराष्ट्रपति नै यतिखेर राष्ट्रपति बनेकी छन् । उनले शीघ्र मादुरोको रिहाइको माग गरिराखेकी छन् । भेनेजुएलाको स्रोत–साधनमाथि अमेरिकी नियन्त्रणको विरोध गरेकी छन् । यसको जवाफमा ट्रम्पले मादुरोकै अवस्था बनाइदिने धम्की दिएकाले उनले अमेरिकासँग समझदारी गरेर शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । यो कदमको विरोध देशभित्र र देशबाहिर पनि हुँदै गएपछि क्षुब्ध बनेका राष्ट्रपति ट्रम्पले थप आक्रमण भेनेजुएलामा गर्ने धम्की दिएका छन् ।
माधुरोलाई चीन, रुस, उत्तर कोरियाका शासकहरूसँग तुलना गरेका छन् । उनले प्रस्ट भाषामा उनकै देशका अथवा संयुक्त राज्य अमेरिकाका तेल कम्पनीहरूले भेनेजुएलाको तेलखानीहरूबाट तेल निकालेर बिक्री गरी पैसा कमाउनेछन् र भेनेजुएलाका जनताको पक्षमा पनि सो रकम खर्च हुनेछ भनेका छन् । यसको स्पष्ट अर्थ हो त्यस देशको सम्पूर्ण स्रोत–साधनमा संयुक्त राज्य अमेरिकाको आधिपत्य कायम छ । हालका दिनमा राष्ट्रपति ट्रम्पले भेनेजुएलाको कार्यवाहक राष्ट्रपति आफैँ बनेको घोषणा गरेका छन् ।
यस अवस्थामा विश्व संस्था संयुक्त राष्ट्रसंघ प्रभावी हुनुपर्ने हो । साना कमजोर राष्ट्रहरूको संरक्षणमा यो संस्था अघि बढ्नुपर्ने हो । तर त्यस प्रकारको अवस्थासमेत अनुभूति गर्न सकिएन । उदाहरणका लागि युक्रेनमा रुसको आक्रमण भएपश्चात् संयुक्त राष्ट्र संघले उक्त आक्रमणको भत्र्सना गरेको थियो । त्यसले कुनै अर्थ राखेन । युक्रेन अन्यायमा पर्दै छ । संयुक्त राष्ट्र संघ मौन छ । संयुक्त राष्ट्र संघले आफ्नो छवि शक्तिसम्पन्न राष्ट्रहरूको छाया संस्थाको रुपमा विकास गरिराखेको आलोचना सर्वत्र भइराखेको छ । यस संस्थाको उपादेयतामाथि नै गम्भीर प्रश्न खडा भएको छ । भेनेजुएला प्रकरणमा सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाइएको थियो । तर स्पष्ट अर्थपूर्ण निर्णय केही आएन । यस अर्थमा संयुक्त राष्ट्र संघको प्रभावकारिता र उपादेयतामा प्रश्नचिह्न खडा हुन्छ ।
निष्कर्ष :
साना राष्ट्रहरू सुरक्षित छैनन् । ठूला शक्तिसम्पन्न राष्ट्रहरूले नियन्त्रणमा लिन नचाहँदाको अवस्थासम्म उनीहरूको सार्वभौमसत्ता सुरक्षित हुने हो । इराकमा शासनसत्ता प्राप्तिको प्रारम्भमा सद्दाम हुसेन पनि लोकप्रिय नेता थिए । राष्ट्र र राष्ट्रिय स्वार्थको लागि प्रतिबद्ध थिए । तर त्यहाँ अपार तेलखानी थियो । प्रचुर मात्रामा तेलको उपयोग गर्न सक्ने भएको कारणले नै उनलाई फाँसी दिने काम भयो । कर्नेल गद्दाफीको अन्त्य कसरी भयो ? सबैमा जगजाहेर छ । अफगानिस्तान, भियतनामजस्ता राष्ट्रहरूमा शक्तिसम्पन्न देशहरूको कुन हदसम्मको हस्तक्षेपकारी नीति अवलम्बन भएको देखियो ।
राजनीतिक इतिहास स्पष्ट छ । स्रोत–साधनले सम्पन्न भएका, सामारिक हिसाबले महत्वपूर्ण देखिएका साना राष्ट्रहरू सबैलाई शक्तिसम्पन्न राष्ट्रहरूले स्पष्ट शब्दमा भन्नुपर्दा कठपुतलीका रुपमा व्यवहार गरिराखेकै छन् । त्यसैले साना राष्ट्रहरूको सार्वभौम सत्ता अत्यन्त खतरामा छ । यी शक्तिसम्पन्न राष्ट्रहरूको बीच सन्तुलित सम्बन्ध कायम गर्ने सन्दर्भ पनि सहज छैन । शक्तिसम्पन्न राष्ट्रहरूकै बीचको अस्वस्थ प्रतिस्पर्धाको कारणले समस्यामा साना राष्ट्रहरु पर्दै गएका छन् । उनीहरुले निष्पक्ष भएर सौहार्दपूर्ण वैदेशिक सम्बन्ध कायम गर्न पनि नसक्ने अवस्था बनिराखेको छ ।
नेपालकै लिम्पियाधुरा, सुस्ता क्षेत्रहरूमा नेपालको भूभाग दक्षिणतर्फको छिमेकी राष्ट्रले निश्चिन्त बनेर अतिक्रमण गरेको छ । हालका दिनमा विश्वको राजनीतिको इतिहास अध्ययन गर्दा साना राष्ट्रहरूको सार्वभौमसत्ता शक्तिसम्पन्न राष्ट्रहरूको कृपामा मात्र सुरक्षित हुने देखिन्छ । त्यसैले पुटिनले जेलेन्स्कीलाई नियन्त्रणमा लिई युक्रेनको राष्ट्रपति पुटिन आफैँ भएमा आश्चर्य नमाने हुन्छ । चीनले ताइवानलाई आफ्नै अधिनस्थ प्रान्तका रुपमा लिँदा हुन्छ । संयुक्त राज्य अमेरिकाले मेक्सिको, कोलम्बियालगायतका देशहरूमा कब्जा जमाउँदा हुन्छ । अन्त्यमा साना कमजोर राष्ट्रहरूको सार्वभौमसत्ताको संरक्षण ठूला शक्तिसम्पन्न राष्ट्रहरूका दृष्टिमा उक्त राज्यको खासै उपादेयता नदेखिँदा मात्र कायम हुने रहेछ । यो नै आजको विश्व राजनीतिमा देखिएको कटु यथार्थ हो । साना राष्ट्रहरू आफ्नो सार्वभौमसत्ताको रक्षाका लागि गम्भीर हुनु जरुरी छ ।











प्रतिक्रिया