चुनावमा संवेदनशील बन


बुधबारबाट देशभर चुनावी माहोल बढेको छ । केही दिनअघिसम्म निर्वाचन होला कि नहोला भन्ने त्रास थियो, अहिले सो त्रास बदलिएको छ । अब देश निर्वाचनमय भइसकेको छ । देशैभर १६५ क्षेत्रमा मनोनयन दर्ता भएपछि निर्वाचन हुने पक्का भएको छ । अब उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि चुनाव प्रचार शुरु हुन्छ ।

प्रचारको लागि सबै दल तयार भएका छन् । निर्वाचनमा दल र स्वतन्त्र दुवै पक्षका उम्मेदवार चुनावी प्रचारमा जुटिसकेका छन् । विभिन्न आश्वासनको पोका बोकेर घर–घरमा पुग्न शुरु गरिसकेका छन् । यस अवस्थामा फागुन २१ गते हुने चुनावलाई सहज, स्वतन्त्र र निर्भय वातावरणमा हुने सुनिश्चित गर्नु राज्यको दायित्व हो । साथै, निर्वाचन आचारसंहितालगायत नियम र नैतिकताको पालन गर्नु सबै उम्मेदवार एवं तिनका सहयोगीको पनि कर्तव्य हो । आचारसंहिता पालना गराउन जिल्लास्थित निर्वाचन आयोग कार्यालयले व्यापकरुपमा मतदाता शिक्षा मतदाताहरुसम्म पु¥याउनुपर्छ ।

यो वर्ष निर्वाचनमा युवापुस्ताका ५८३ जना उम्मेदवार चुनावमा भिड्दै छन् । यसमा २५ देखि ३५ वर्ष भएका युवापुस्ता बढी नै छन् । केही त जेन्जी पुस्ताका युवा पनि निर्वाचनमा होमिएका छन् । ठूला र अधिकांश सबै पार्टीले नयाँ अनुहारलाई बढी प्राथमिकता दिएका छन् । तर पनि कतिपय राजनीतिका पुराना पात्र पनि छन् । कतिपयले पार्टीले टिकट नदिएको झोकमा बागी उम्मेदवारी दिएका छन् । आफ्नै पार्टीका कतिपयले बागीमा उम्मेदवारी दिएको कारण कटुता बढ्न सक्छ । त्यसलाई न्यूनीकरण गर्न सरकारले शान्ति सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्छ ।

हुन त निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन अवधिका लागि भर्ना लिएका निर्वाचन प्रहरीले शान्ति सुरक्षा कायम गर्लान् भन्ने आशा गर्न सकिन्छ । यता सूचना प्रविधिसँग जुध्न सरकारले ठूलै कसरत गर्नुपर्छ । तैपनि अहिले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट जाली सामग्री उत्पादन गरी प्रचारप्रसार हुने गरेको छ । सामाजिक सञ्जालको यस्तो फेक प्रयोग रोक्न सरकारले पहल गर्नुपर्छ ।

वास्तवमा निर्वाचनमा भौतिकभन्दा पनि सूचना प्रविधि प्रयोग गरेर गाली गर्नेमाथि निगरानी बढाउनुजरुरी छ । आचारसंहिता लागू भए÷नभएको विषयमा विशेष अनुगमन गर्नुपर्छ । निगरानी बढाउनुपर्छ । आयोगले चर्चित नेता भिड्ने निर्वाचन क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउनुपर्छ । झापा–५, गोरखा–२, सर्लाही–४ लगायत क्षेत्रका ‘हेभी वेट’ भएका उम्मेदवारको सुरक्षाको चासो लिनुपर्छ । मनोनयन दर्ता भएकै दिन झापा–५ मा एमालेका उम्मेदवार केपी ओली र रास्वपाका उम्मेदवार बालेन्द्र साहका कार्यकर्ताबीच झडप भएको थियो ।

त्यस्ता झडप विभिन्न स्थानमा हुन सक्छन् । त्यसलाई नियन्त्रण गर्न सरकार लागिपर्नुपर्छ ।मतदानको दिन नजिकिँदै जाँदा यस्ता कटुता झन् बढ्न सक्छन् । सबैतिर चनाखो बढाउनुपर्छ । आयोगले अति संवेदनशील निर्वाचन क्षेत्रमा सुरक्षा सतर्कता अपनाउनुपर्छ । ती क्षेत्रमा कडा सुरक्षा व्यवस्था गर्नुपर्छ ।

सरकारले निर्वाचन आयोगलाई आवश्यक सहयोग दिन आलटाल गर्नुहुँदैन । उम्मेदवार वा तिनका सहयोगीको अनुचित तथा निर्वाचन आचारसंहिता विपरीतको आचरणमा उचित कानुनी कारबाही गर्न आयोग डराउनुहुँदैन । शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गराउन सबैको साथ र सहयोग अपरिहार्य हुन्छ । यस विषयमा सरकारले बेलैमा ध्यान देओस् ।