झापामा एमालेका डा. रामबाबु गिरी रास्वपामा प्रवेश गर्दै


काठमाडौं ।

बीएन्डसी मेडिकल कलेज तथा शिक्षण अस्पताल झापाका अध्यक्ष डा. रामबाबु गिरीले नेकपा (एमाले) परित्याग गर्नुभएको छ । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र निवर्तमान सभामुख देवराज घिमिरेसँग प्रत्यक्ष भेट गरी पुराना दलहरूमा नयाँ पुस्तालाई अवसर नदिइएको भन्दै पार्टी छोड्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

डा. गिरीले जेन–जी आन्दोलनपछि नै पुराना दलप्रति मन मरेको जिकिर गर्दै भन्नुभयो– ‘त्यतिधेरै मान्छे सहिद भए, कयौं घाइते भए । मैले पटकपटक पार्टीमा युवा पुस्तालाई मौका दिनुपर्छ भन्दै आएको थिएँ । तर, अहिले पनि निर्वाचनमा फेरि त्यही पुराना मान्छे दोहोरिने जस्ता कार्य भए । त्यसैले मैले ओलीजी र निवर्तमान सभामुखजीलाई राखेर स्पष्ट भनेको छु,तपाईंहरूको पार्टीमा म अब बस्दिनँ ।’

उहाँले एमाले परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गर्नुभएको छ । यसअघि युवा संघका दमक नगरकमिटीका अध्यक्षसमेत रास्वपामा प्रवेश गरिसकेका छन् । डा. गिरीले रास्वपाका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई समर्थन गर्नका लागि पनि यो कदम चालेको बताउनुभएको छ ।
डा. रामबाबु गिरी लामो समयदेखि एमालेका अध्यक्ष केपी शर्मा ओलीका निकट विश्वास पात्रका रूपमा चिनिनुहुन्थ्यो ।

झापाको राजनीतिमा सक्रिय रहँदै आउनुभएको उहाँले स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको छ । बीएन्डसी अस्पताललाई पूर्वाञ्चलकै प्रमुख स्वास्थ्य संस्थाका रूपमा विकास गर्नुभएका गिरीले पार्टी राजनीतिमा पनि उल्लेख्य भूमिका निर्वाह गर्दै आउनुभएको थियो । रास्वपामा प्रवेश गर्ने उहाँको निर्णयले झापा क्षेत्र नं. ५ को राजनीतिमा नयाँ तरङ्ग ल्याउने देखिएको छ । यो क्षेत्रबाट यसअघि एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका गिरीले अब रास्वपाको पक्षमा सक्रिय सहयोग गर्ने बताउनुभएको छ ।