काठमाडौँ।
चालु आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस) मा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ । भन्सार विभागेको तथ्यांकअनुसार यस अवधिमा आयात, निर्यात र कुल वैदेशिक व्यापार तीनै सूचकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वृद्धि देखिएको छ । छ महिनामा नेपालले कुल १० खर्ब ८१ अर्ब ४ करोड रुपियाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३६ प्रतिशत बढी हो ।
त्यस्तै आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड पुगेको छ । साथै निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब १ करोड रुपियाँ पुगेको छ । निर्यात ्र वृद्धिका कारण आयात–निर्यात अनुपात ८.३२ बाट घटेर ६.६१ मा झरेको छ। साथै, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.७२ प्रतिशतबाट बढेर १३.१४ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८९.२८ प्रतिशतबाट घटेर ८६.८६ प्रतिशत मा सीमित भएको छ।
निर्यातमा उल्लेख्य वृद्धि भए पनि व्यापार घाटा भने अझै उच्च नै छ । सो अवधिमा नेपालको व्यापार घाटा ७ खर्ब ९७ अर्ब रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.१५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपियाँ थियो । तथ्यांकअनुसार कुल निर्यातभन्दा पेट्रोलियम पदार्थको आयात मात्र बढी देखिएको छ। पुससम्म पेट्रोलियम पदार्थ आयातमा १ खर्ब ५१ अर्ब रुपियाँ खर्च भएको छ भने कुल वस्तु निर्यात १ खर्ब ४२ अर्ब रुपियाँभन्दा बढी रहेको छ ।
आयातमा डिजेल सबैभन्दा अगाडि रहेको छ। छ महिनामा ५८ अर्ब २७ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ। त्यसपछि कच्चा सोयाबिन तेल (५७ अर्ब ४३ करोड), पेट्रोल (३३ अर्ब), एलपी ग्यास (२७ अर्ब), स्मार्टफोन (२३ अर्ब २९ करोड) र सुन (१८ अर्ब ८३ करोड) प्रमुख आयातित वस्तु रहेका छन्।
निर्याततर्फ भने प्राथमिक र कम मूल्य अभिवृद्धि भएका वस्तुको बाहुल्य देखिन्छ। कच्चा सोयाबिन (५६ अर्ब) निर्यातमा पहिलो स्थानमा छ। त्यसपछि अलैँची (७ अर्ब १९ करोड), कार्पेट (४ अर्ब ८७ करोड) र कच्चा सूर्यमूखी तेल (४ अर्ब ७८ करोड) रहेका छन् । नेपालको वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा भारतसँग छ। भारतबाट ५ खर्ब ३२ अर्ब बराबरको वस्तु आयात भएको छ भने १ खर्ब १५ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरिएको छ । दोस्रो स्थानमा चीन रहेको छ, जहाँबाट १ खर्ब ९६ अर्बको वस्तु आयात भएको छ भने चीनतर्फ निर्यात भने ६४ करोड रुपियाँमा सीमित छ। तेस्रो स्थानमा अर्जेन्टिना (५४ अर्ब ४४ करोड आयात) र चौथो स्थानमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ।











प्रतिक्रिया