कांग्रेस खोटाङको उम्मेदवार वीरकाजी राई

658
Shares

खोटाङ ।

नेपाली कांग्रेस खोटाङले महाधिवेशन प्रतिनिधि वीरकाजी राईलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएको छ । वीरकाजीलाई कांग्रेस केन्द्रीय समितिले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएको हो । केपिलासगढी गाउँपालिका–१ फेदी निवासी महाधिवेशन प्रतिनिधि राई कांग्रेस खोटाङका पूर्व जिल्ला सचिव समेत रहनुभएको थियो ।

उहाँ नेपालमा प्रजातन्त्र बहालीपछि कांग्रेस खोटाङका विभिन्न पदमा रहेर राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्षसमेत रहनुभएका वीरकाजीलाई काँग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि टिकट दिएपछि नेता तथा कार्यकर्ताहरुले शुभकामना दिइरहेका छन् । २०३१ कातिक–२५ गते फेदीका दलबहादुर र ओमादेवी राईको कोखबाट जन्मनुभएका वीरकाजीले २०५० सालमा एसएलसी उतीर्ण गर्नुभएको थियो ।

दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलबाट मानविकी शङ्कायमा स्नातक तहसम्मको अध्ययन गर्नुभएका वीरकाजीले २०४७ सालबाट कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेर मूलधारको राजनीतिमा आउनुभएको हो । राई २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्यको सामानुपातिक उम्मेदवारसमेत बन्नुभएका थिए । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा पूरानै दलका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । कांग्रेसबाट वीरकाजी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट जिल्ला अध्यक्ष देवबिक्रम राई र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट अर्थ/राजनीतिक विश्लेषक डाक्टर हरि रोकाले टिकट लिनुभएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (नेपाल)बाट राकेश राई, श्रम संस्कृति पार्टीबाट आरेन राई र राष्ट्रिय परिवर्तन पार्टीबाट निमेश राईले टिकट लिनुभएको छ । आगामी निर्वाचनका लागि जिल्लामा १ सय ३६ वटा मतदानस्थल तथा १ सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १ सय २० जना मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी रविन मगरले जनाउनुभयो ।