सर्वोच्च अदालतले आइतबार काठमाडौं उपत्यकाका बागमती, विष्णुमतीलगायत नदी–खोलाकिनारमा थप २०–२० मिटर खाली छाड्नुपर्ने भनी गरिएको अघिल्लो फैसलाको अंश उल्ट्याउनु केवल नियमित फैसला मात्र थिएन, यो व्यावहारिक न्याय, नागरिक अधिकार र राज्यको उत्तरदायित्वप्रतिको गम्भीर पुनर्विचार हो । यस फैसलाले झन्डै ८४ हजार घरधुरी र करिब १० लाख नागरिकलाई अनिश्चितता, विस्थापन र मानसिक त्रासबाट मुक्ति दिलाएको छ ।
यसअघि पटक–पटक पेसी सर्दै जाँदा उपत्यकावासीहरू निजी आवास, सम्पत्ति र भविष्यप्रति अन्योल र चिन्तामा परेका स्थितिमा पूर्ण इजलासले सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्त, कानुन र न्यायको रोहमा आफ्नो फैसला सच्याएको छ । न्याय भनेको कागजमा लेखिएको आदेश मात्र होइन, जनजीवनमा अनुभूत हुने भरोसा हो । सर्वोच्च अदालतको यो निर्णयले त्यो भरोसालाई पुनस्र्थापित गरेको छ । यस दृष्टिले हेर्दा सर्वोच्चको यो फैसला नागरिक सचेतना र संवैधानिक अधिकारको जीत पनि हो ।
सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती, विष्णुमतीलगायत उपत्यकाका प्रमुख नदी तथा १९ वटा खोलाका दायाँ–बायाँ थप २०–२० मिटर क्षेत्र खाली राखी मात्र संरचना निर्माण गर्न आदेश दिएको थियो । जबकि यसअघि नै २०६५ भदौ १ मा मन्त्रिपरिषद्द्वारा बागमती नदी र यसका सहायक नदीका हकमा २० मिटरको मापदण्ड निर्धारित मापदण्ड गरिसकेको थियो । यस पृष्ठभूमिमा सर्वोच्चकै पुरानो नजिर विपरीत आएको सो निर्णयले न्यायभन्दा बढी अन्यायको डर सिर्जना गरेको थियो ।
अझ गम्भीर पक्ष त के थियो भने, नक्सा पास गरेर, राज्यकै स्वीकृतिमा निर्माण भइसकेका घर, विद्यालय, अस्पताल, व्यावसायिक संरचनालाई समेत गैरकानुनी ठहर गर्दै क्षतिपूर्ति दिएर हटाउने सोच अघि सारिएको थियो । प्रारम्भिक अध्ययनमै २१ खर्ब २६ अर्ब रुपियाँभन्दा बढी लाग्ने भनिएको यस्तो योजना न त आर्थिक रूपमा सम्भव थियो, न त कानुनी र नैतिक रूपमा उचित । यस अवस्थामा सरकार सर्वोच्चको सो फैसलाको विरुद्ध पुनरावलोकनमा गएको थियो ।
सर्वोच्चको पुरानो फैसला उल्ट्याउने पछिल्लो निर्णयले कतिपय नागरिकको घरजग्गा जोगिएको मात्र छैन, स्थानीय तहहरूले लगाएको निर्माण रोक्का, जग्गा किनबेचमा अवरोध र बैंक ऋण प्रवाहमा आएको ठप्प अवस्थाको अन्त्य गरिदिएको छ । उपत्यकाको आर्थिक चक्र पुनः चलायमान हुने बाटो खुलेको छ । यस घटनाबाट अस्थिरताले विकास रोकिन्छ भन्ने तीतो यथार्थलाई पनि पुनः उजागर गरेको छ । यस फैसलाबाट राज्यका सबै अंगले विकास तथा संरक्षणको नाममा नागरिकलाई पीडित बनाउने कार्य गर्नुहुँदैन भन्ने पाठ सिक्नुपर्ने खाँचो छ ।
यस सम्पूर्ण घटनाक्रमले नदी–खोला संरक्षणजस्तो संवेदनशील विषयमा हचुवाको निर्णय, स्पष्ट कानुनी आधारविना जारी गरिएका निर्देशन र सरोकारवालासँगको संवादविना गरिएको नीति निर्माणले कति ठूलो सामाजिक र आर्थिक संकट निम्त्याउन सक्छ भन्ने कुराको पुष्टि गरेको छ । सर्वोच्चको यो फैसला कानुन निर्माणको एउटा स्रोत पनि हो ।
अदालतको फैसलाले वातावरण संरक्षण र नागरिक अधिकारबीच सन्तुलन खोज्नुपर्ने गरी कानुन निर्माण गर्नुपर्ने खाँचो पनि औंल्याएको छ । वातावरण एवं नदी संरक्षणका योजनाहरू भविष्यमुखी, वैज्ञानिक र न्यायोचित हुनुपर्ने आवश्यकतालाई यसले पुनः बोध गराएको छ । राज्यले विगतमा गरेका गल्तीको मूल्य नागरिकलाई जबर्जस्ती तिराउने प्रवृत्तिको सदाका लागि अन्त्य हुनुपर्छ ।
अर्कोतर्फ नदी–खोलाकिनारामा मापदण्ड निर्धारण गर्दा वातावरण संरक्षण, नागरिकका मौलिक हक–अधिकार, राज्यको अवस्था सबै पक्षको वस्तुपरक विश्लेषण गर्नुपर्ने आवश्यकता पनि यसले महसुस गराएको छ । कानुनभन्दा बढी प्रशासनिक आवेग र नीतिगत असावधानीको परिणामले राज्य सञ्चालनको प्रक्रिया सच्याउनुपर्नेतर्फ पनि यसले संकेत गरको छ । अब सरकार र स्थानीय तहले वातावरण संरक्षणका दीर्घकालीन, वैज्ञानिक र नागरिक–मैत्री उपायहरू अवलम्बन गर्नुपर्छ ।











प्रतिक्रिया