
योग केवल शारीरिक व्यायाम मात्र होइन, मनका क्लेशहरूलाई निरुपण गरी वृत्तिहरूलाई निवृत्त गर्ने मनको संशोधन पनि हो । यसको सप्रसङ्ग व्याख्या, दार्शनिक पक्ष, व्यावहारिक अभ्याससहित हरेक पक्षलाई स्वास्थ्य–विज्ञानमा जोडेर तयार गरिएको नयाँ धारको ‘योगविज्ञान’ पुस्तक बजारमा आएको छ ।
लामो अनुभव र अध्ययनबाट खारिएकी राधिका घिमिरेद्वारा लिखित एवं प्राज्ञ रोहिणीराज तिमिल्सिनाद्वारा सम्पादित यस नयाँ धारको पुस्तकले आध्यात्मिक स्वास्थ्यलाई अति उत्तम स्वास्थ्य मानेर योगाभ्यासबाट आध्यात्मिकतातिर उन्मुख गराउन अभिप्रेरित गरेको छ ।
योगको सामान्य अर्थ जोड हो । विनायोग कुनै पनि वस्तु स्थिरतामा आएर आफ्नो अस्तित्व कायम गर्न सक्दैन भन्ने कुरा यस पुस्तकले छर्लङ्ग पारेको छ । पतञ्जलि, श्रीकृष्ण, शङ्कराचार्य, योगवाशिष्ठ आदिका योगदर्शनका कुरा मात्र होइन, विश्व स्वास्थ्य संगठनले दिएको योगको परिभाषालाई समेत उद्धृत गरेर योगलाई आधुनिक स्वास्थ्य विज्ञानमा जोड्ने लेखिकाको प्रयास अतुलनीय छ ।
योग एक चिकित्सापद्धति हो तसर्थ सबैका लागि, सधैँका लागि योग सान्दर्भिक हुने कुरालाई लेखिका घिमिरेले जोड दिएकी छिन् । उनले लेखेकी छिन्, ‘योगलाई रोगको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा अन्य चिकित्सा पद्धतिसँग एकीकृत गरी मानवीय अस्तित्वको पूर्ण विकासका लागि पहल गर्नु आजको आवश्यकता रहेको छ ।’
रोगव्याधिरहित हुनु मात्रैलाई निरोगी भनिने होइन, शारीरिक, मानसिक र सामाजिक स्वास्थ्य पनि राम्रो हुनुपर्छ भन्ने कुरालाई पुस्तकमा जोड दिइएको छ ।
योगलाई शारीरिक व्यायामका रुपमा मात्र हेरेर सर्वसाधारणले शारीरिक सुगठन बनाउने माध्यमका रुपमा लिने गरेको पाइन्छ । तर यत्ति मात्र नभएर योग मनका क्लेशहरूलाई निरुपण गरी वृत्तिहरूलाई निवृत्त गर्ने मनको संशोधन पनि हो भन्ने कुरा सरल भाषाशैलीमा दर्शाउन सक्नु लेखिका राधिकाको खूबीलाई मान्नै पर्छ ।
आजको समयमा योगविद्या परमार्थ साधनाको रुपमा भन्दा शारीरिक स्वास्थ्यरक्षाको उपायको रुपमा समाजमा बढी प्रचलित रहेको अवस्थामा यस पुस्तकमा उल्लिखित लेखहरूले शारीरिक र मानसिक स्वास्थ्यको रक्षा गर्दै क्रमशः आत्मिक साधनाको मार्गतिर समाजलाई उन्मुख गराउने देखिन्छ ।
आजको युगमा यस प्रकारको चेतनायुक्त चिन्तनात्मक कृति अत्यन्त उपादेय हुने आशा र विश्वास लिन सकिन्छ । भौतिकताको सहयोगले अध्यात्मलाई परिपोषित गर्नमा तल्लीन राधिका घिमिरेको जीवनचर्या, साधना, चेतना र समाजको समेत चिन्ता सबै सामाजिक व्यक्तिहरूका लागि प्रशंसनीय र निदर्शनीय रहेको अनुभूत हुने कुरा संस्कृत केन्द्रीय विभाग, त्रि.वि.का पूर्व–विभागीय प्रमुख डा. माधवप्रसाद उपाध्यायले समेत आफ्नो भूमिकामा उल्लेख गरेका छन् ।
मानिसको जन्म र मृत्युको अवस्थालाई प्रत्यक्षरुपमा देख्दा त्यसले लेखिकालाई प्रभाव पारेको अनुमान उनको अनुभवले देखाउँछ । उनले उल्लेख गरेकी छिन्, ‘मृत्यु कहिल्यै नदेखेकी मैले पढाइको सिलसिलामा अभ्यास गर्ने क्रममा आफ्नै हातमा मानिसको मृत्यु भएको देखेँ । एकछिन् अगाडि बोलिरहेको मानिस अब छैन । फेरि आफ्नै हातमा एउटा देहीको जन्म भयो । आश्चर्यचकित जन्म र मृत्युका यी दुवै क्षण भ्रूण विकासमा जीवन्तताको रुपमा शरीरमा कसरी प्रवेश शुन्छ भन्ने प्रश्नहरू र माताजीको मृत्युपश्चात् शवदाह गर्दा भएको खरानीको स्वरुपले शरीर, मन र आत्माको खोजी गर्ने क्रम जारी रह्यो ।’
शायद यिनै प्रश्नको खोजीको उपज हुन सक्छ काठमाडौंलाई कर्मथलो बनाएकी दोलखालीकी छोरी राधिकाको यो कृति ।
शरीरका हरेक पाटपुर्जा, तिनीहरूको सामान्य क्रिया र आन्तरिक शरीर सञ्चालन क्रियाहरूको ज्ञानसहित यसका अन्य पक्षहरू– खानपान, आहार–विहार, सोच–विचार, भावना–संवेदना तथा बालबच्चाहरूको सानैदेखिको हुर्काइ एवं जीवनशैलीका विषयमा पनि ज्ञान राख्नु जरुरी हुने लेखिकाले उल्लेख गरेकी छिन् ।
क्रियायोग शीर्षकबाट विषय उठान गरेर चक्रज्ञान र उपासना शीर्षकमा अन्त्य गरिएको यस पुस्तकमा विशेष गरी योगको दार्शनिक पक्षलाई समेटेर यसलाई स्वास्थ्य–विज्ञानमा जोड्ने प्रयास गरिएको देखिन्छ, जुन सर्वसाधारणदेखि योगाभ्यासी सबैका लागि उपयोगी हुने विश्वास गर्न सकिन्छ ।
षट्कर्मद्वारा शोधन, आसनद्वारा दृढता, मुद्राद्वारा स्थिरता, प्रत्याहारद्वारा धैर्य, प्राणायामद्वारा लाघव, ध्यानद्वारा प्रत्यक्षता तथा समाधिद्वारा निर्लिप्तता प्राप्त गरी मुक्ति पाउन सकिने कुरालाई छुट्टाछुट्टै शीर्षकमा सरल भाषामा बुझाउन सक्नुले लेखिकाको क्षमता पुष्टि गरेको छ ।
शरीर शोधनका लागि षट्कर्म– धौति, वस्ति, नेति, त्राटक, नौलि, कपालभाति क्रिया गरिनुपर्छ । यसले विषालु पदार्थ शरीरबाट बाहिर निकाल्न, नाडीहरू स्वच्छ गराई शुद्ध रक्तको सञ् चार गराउन, कफ–वात–पित्तका बीच सन्तुलन गराउन, उदर विकार नष्ट गर्न सहयोग मिल्ने कुराको व्याख्या उत्तिकै ग्रहणयोग्य छ ।
यसै गरी आयु भनेको जीवन हो । शरीर, मन, इन्द्रिय र आत्माको संयोग भएपछि आयुको आरम्भ हुन्छ भनेर जीवन जिउने कला पुस्तकले सिकाएको छ । चित्तलाई एकाग्र गराउने उपाय योगमार्ग हो तर एकाग्र हुन बाधा पु¥याउने चित्त–विक्षेपहरू हुन्छन् । त्यस्ता चित्त–विक्षेपहरू के–के छन् र कसरी नियन्त्रण गर्ने भन्ने कुरा जो–कोही योग साधकका लागि उपयोगी हुने देखिन्छ । अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश, आनन्दमय कोशका साथै आहारसम्बन्धी वर्णन उत्तिकै महत्वपूर्ण छ ।
यस्तै मानवीय शरीरमा रहेका सात चक्रलाई ऊर्जा चक्रका रुपमा वर्णन गरिएको छ । मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहत, विशुद्धि, आज्ञा र सहस्राधार चक्र के हुन्, कस्ता हुन्छन्, यिनले के काम गर्छन् ? यस पुस्तकबाट ज्ञात हुन्छ । यिनीहरूको आकृति, रङ्ग, दल, स्थान, लोक, तत्व, गुण आदिसमेत तालिकाबद्ध गरिएकाले सामान्य मानिसले पनि बुझ्न सहज देखिन्छ ।
साढे तीन दशकदेखि नर्सिङ पेसामा समर्पित घिमिरेको यो पुस्तक यौगिक परम्परामा एक अमर दस्तावेजका रुपमा जीवन्त रहने विश्वास गर्न सकिन्छ । नर्सिङसहित विभिन्न विषयमा स्नातक र हेल्थ केयर एन्ड हस्पिटल एड्मिनिस्ट्रेसनका साथै समाजशास्त्रमा स्नातक, योग विज्ञानमा पीजीडी गरेकी राधिका अध्यात्म चिन्तनमा अभ्यस्त रहेकाले पुस्तक सृजना हुन सकेको अनुमान गर्न गाह्रो छैन ।
अस्पतालका शय्याहरूमा जन्मेको उत्कर्षमय उल्लास र मृत्युको निस्तब्ध शून्यतालाई नजिकबाट नियाल्दै जड शरीर र चेतन आत्माबीचको कडी खोज्ने क्रममा एक बिरामीको समर्पण र योगप्रतिको अथाह रुचिबाट यो कृति जन्मिएको पुस्तकमा उल्लिखित दस्तावेजबाट बुझ्न सकिन्छ ।
कोमल प्राज्ञिक केन्द्रद्वारा हार्ड कभरमा प्रकाशित यस ‘योगविज्ञान’ पुस्तकको मूल्य रु. ३००।– स्वाभाविक नै मान्नुपर्छ । सन्दर्भअनुसार विभिन्न ठाउँमा उद्धृत अर्थसहितका संस्कृत श्लोकहरूले पुस्तकको ओज बढाएको महसुस गर्न सकिन्छ । शिक्षक, विद्यार्थी, योगाभ्यासी, आध्यात्मिक स्वास्थ्यप्रति चासो राख्ने जोसुकैका लागि ‘योगविज्ञान’ सहायकसिद्ध हुने देखिन्छ ।











प्रतिक्रिया