आकाश शान्त छ, झन्डा फर्फराइरहेको छ, सरकार नियमित बैठकमा व्यस्त छ। बाहिरी दृष्टिले हेर्दा देश शान्त, स्वतन्त्र र सार्वभौम देखिन्छ। तर यही सतहभित्र एउटा यस्तो युद्ध चलिरहेको छ, जसको आवाज सुनिँदैन, जसको धुवाँ देखिँदैन, र जसमा पराजित हुँदा पनि पराजयको अनुभूति हुँदैन। यो युद्ध भूगोलका लागि होइन, चेतनाका लागि हो। यो युद्ध जमिन कब्जा गर्न होइन, नागरिकको सोच नियन्त्रण गर्न लडिँदैछ।
आजको नेपाल माइण्ड स्क्रिनले घेरिएर एल्गोरिदम चलिरहेका छन्। यहाँ विचारहरू छनोट गरिन्छन्, तथ्यहरू क्रमशः छायामा पारिन्छन्, र झुटलाई सत्यको आवरण ओढाएर आकर्षक बनाइन्छ। नागरिकले आफूले हेरेको, पढेको र महसुस गरेको सबै कुरा आफ्नै छनोट ठान्छ, तर वास्तवमा त्यो छनोट पहिल्यै तय भइसकेको हुन्छ। यही नै आजको सबैभन्दा खतरनाक युद्धको स्वरूप हो—जहाँ स्वतन्त्रताको भ्रम यति गहिरो हुन्छ कि गुलामी महसुस नै हुँदैन।
अब सार्वभौमिकताको अर्थ केवल नक्सामा कोरिएको सिमारेखा वा औपचारिक कूटनीतिक वक्तव्यमा सीमित छैन। एक्काइसौँ शताब्दीको संसारमा शक्ति सेनाको संख्यामा होइन, सूचनाको नियन्त्रणमा मापन हुन्छ। जसको हातमा डाटा छ, उसैको हातमा निर्णय शक्ति छ। डाटा भनेको केवल सूचना होइन, यो नागरिकको रुचि, डर, चाहना, कमजोरी र असन्तुष्टिको सम्पूर्ण नक्सा हो। यही नक्सालाई पढेर, विश्लेषण गरेर र प्रयोग गरेर आजका शक्तिशाली संरचनाहरूले मानिसको सोच र व्यवहारलाई इच्छाअनुसार मोडिरहेका छन्।
नेपाल जस्तो कमजोर नीति संरचना भएको, डिजिटल सुरक्षालाई गम्भीरतापूर्वक नलिएको राष्ट्रका लागि यो अवस्था झनै भयावह बन्दै गएको छ। देशसँग झन्डा छ, संविधान छ, निर्वाचन छ, सरकार छ। तर यी सबै बाह्य संरचनाभित्र एउटा अदृश्य नियन्त्रण मौन रूपमा बलियो हुँदै गएको छ। यो नियन्त्रण बन्दुक र ट्यांकबाट होइन, विदेशी सर्भरमा चल्ने कोड र एल्गोरिदमबाट भइरहेको छ। सामाजिक सञ्जाल अब केवल मनोरञ्जनको माध्यम रहेन, यो राजनीतिक चेतना निर्माण गर्ने मुख्य कारखाना बनिसकेको छ। संसदभन्दा बढी प्रभाव अब मोबाइलको स्क्रिनले राख्न थालेको छ।
नेपालको समसामयिक राजनीतिमा देखिएको तीव्र ध्रुवीकरण, क्षणिक नायक–खलनायकको निर्माण, र भीडको अस्थिर व्यवहार आकस्मिक होइन। एल्गोरिदमले उत्तेजक, भावनात्मक र विभाजनकारी सामग्रीलाई प्राथमिकता दिने भएकाले डिजिटल स्पेस निरन्तर आक्रोशको इन्धनमा चलिरहेको छ। गहिरो अनुसन्धान र तथ्यपरक बहसभन्दा अफवाह, अधुरो सूचना र सनसनीपूर्ण आरोपहरू छिटो फैलिन्छन्। केही घण्टामै कुनै व्यक्ति देशद्रोही घोषित हुन्छ, अर्को उद्धारकर्ताको मुकुट लगाइन्छ। राज्यका संस्थाहरूले बोल्न नपाउँदै डिजिटल अदालतले फैसला सुनाइसकेको हुन्छ।
यही अवस्था कमजोर राष्ट्रको सबैभन्दा ठूलो कमजोरी हो। जहाँ विवेकभन्दा भावना शक्तिशाली हुन्छ, नीति भन्दा ट्रेन्ड निर्णायक बन्छ। हालका वर्षहरूमा देखिएको नयाँ राजनीतिक शक्तिहरूको उदयलाई धेरैले राजनीतिक पुनर्जागरणको संकेत ठानेका छन्। पुराना दलप्रतिको वितृष्णाबाट जन्मिएको यो लहरलाई जनचेतनाको विस्फोट मानिएको छ। तर यहाँ गम्भीर प्रश्न उठ्छ—यो विस्फोट कति स्वतःस्फूर्त थियो र कति नियन्त्रित? के यी घटनाहरू गहिरो वैचारिक संघर्षको परिणाम हुन्, कि एल्गोरिदमले दिएको रणनीतिक धक्काको नतिजा?
जब कुनै पात्र वा विचार सामाजिक सञ्जालमा अचानक विस्फोट हुन्छ, त्यसको पछाडि केवल जनभावना मात्र हुँदैन। त्यो भावनालाई कुन समयमा, कसको पक्षमा, र कुन दिशामा मोड्ने भन्ने काम अदृश्य प्रणालीहरूले गरिरहेका हुन्छन्। कमजोर राष्ट्रमा राज्यले सूचना प्रवाह नियन्त्रण गर्न सक्दैन, डिजिटल साक्षरता न्यून हुन्छ, र नागरिक सजिलै भावनात्मक बगावमा बग्छन्। यही कमजोरीलाई बाह्य शक्ति, टेक संरचना र संगठित सूचना अभियानहरूले प्रयोग गर्छन्। परिणामस्वरूप राजनीतिक बहस राष्ट्रिय आवश्यकताभन्दा बाह्य स्वार्थको वरिपरि घुम्न थाल्छ।
नेपाल आज भौगोलिक रूपमा कब्जा गरिएको छैन, तर मानसिक रूपमा बाँधिएको छ। युवाहरू आक्रोशित छन्, तर त्यो आक्रोशको दिशा स्पष्ट छैन। उनीहरू परिवर्तन चाहन्छन्, तर परिवर्तनको खाका उनीहरूले होइन, स्क्रिनले कोरिदिएको हुन्छ। राज्य मौन देखिन्छ, कानुन कमजोर छन्, र नीति निर्माताहरू अझै पनि डिजिटल संसारलाई सामान्य सामाजिक सञ्जालको रूपमा मात्र बुझिरहेका छन्। तर यही डिजिटल स्पेस आजको वास्तविक रणभूमि हो, जहाँ राष्ट्रहरूले आफ्नो चेतना, स्थायित्व र भविष्य गुमाइरहेका छन्।
नयाँ पुस्तामा यसको प्रभाव झनै गहिरो छ। चम्किलो जीवनशैली, कृत्रिम सफलता र फिल्टर गरिएको खुशीले युवाहरूलाई निरन्तर तुलना गर्न बाध्य बनाइरहेको छ। अरूको सजाइएको जीवनलाई यथार्थ ठानेर आफ्नै वास्तविकतासँग दाँज्दा आत्मग्लानि, असन्तोष र निराशा बढ्दै गएको छ। यो केवल व्यक्तिगत मानसिक स्वास्थ्यको समस्या होइन, यो सामाजिक विस्फोटको तयारी हो। जब ठूलो संख्यामा युवाहरू आफू असफल भएको भ्रममा बाँच्न थाल्छन्, उनीहरू सजिलै आक्रोशित भीडमा रूपान्तरण हुन्छन्।
एल्गोरिदमले शान्त, सन्तुलित र तथ्यपरक सामग्रीलाई होइन, आरोपपूर्ण, उत्तेजक र ध्रुवीकरण गर्ने सामग्रीलाई माथि तान्छ। किनकि आक्रोशले ध्यान तान्छ, ध्यानले समय बढाउँछ, र समयले नाफा। पछिल्ला वर्षहरूमा देखिएका आन्दोलन, विरोध र डिजिटल बहसहरूमा देखिने अतिवादी भाषा यही प्राथमिकताको परिणाम हो। भीडमा पुगेपछि व्यक्ति हराउँछ, केवल भावना बाँकी रहन्छ। यस्तो भीडलाई जुनसुकै दिशामा पनि हाक्न सकिन्छ।
सबैभन्दा खतरनाक पक्ष के हो भने धेरै नागरिकलाई आफू नियन्त्रणमा परेको अनुभूति नै हुँदैन। उनीहरूलाई लाग्छ, म आफ्नै इच्छाले हेर्दै छु, सोच्दै छु, प्रतिक्रिया दिँदै छु। तर वास्तवमा उनीहरूलाई क्रमशः डिजिटल लतमा बाँधिँदै लगिएको हुन्छ। यसले धैर्य, सहनशीलता र संवादको संस्कृतिलाई नष्ट गरिरहेको छ। यदि यो प्रक्रिया समयमै बुझिएन भने नेपालमा एउटा यस्तो पुस्ता तयार हुनेछ, जसको शरीर यहाँ हुनेछ तर सोच्ने तरिका, प्रतिक्रिया र निर्णय क्षमता विदेशी कोडले तय गर्नेछ।
आजको विश्वमा प्रोक्सी युद्ध अब सीमामा होइन, सूचना स्पेसमा लडिन्छ। नेपालको राजनीति अब केवल सडक र सरकारी भवनभित्र सीमित छैन, यो त विदेशी सर्भरमा चल्ने अदृश्य खेलको हिस्सा बनिसकेको छ। फेक समाचार, गलत भाष्य र नियन्त्रित ट्रेन्डहरू आधुनिक हतियार हुन्। कुनै शक्ति राष्ट्रले अब सैन्य हस्तक्षेप गर्नु पर्दैन, केवल एल्गोरिदमको सानो समायोजनले नै राजनीतिक वातावरण हल्लाउन सक्छ।
सबैभन्दा डरलाग्दो कुरा यही हो कि यो उपनिवेशवाद बन्दुकबिना आउँछ। यहाँ गुलामलाई आफू गुलाम भएको थाहा नै हुँदैन। झन्डा आफ्नै हुन्छ, सरकार आफ्नै हुन्छ, तर निर्णय शक्ति अर्कैको हातमा पुगिसकेको हुन्छ। यदि समयमै डिजिटल सार्वभौमिकताको बहस सुरु गरिएन भने भोलि नेपालमा चुनाव त हुनेछ, सरकार पनि बन्नेछ, तर सोच्ने अधिकार बिस्तारै स्क्रिन पछाडिका अदृश्य कोडहरूले लिनेछन्।
आज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय प्रश्न केवल सीमाका स्तम्भ कहाँ छन् भन्ने होइन। प्रश्न यो हो—हाम्रो सामूहिक चेतना कसको नियन्त्रणमा छ? यदि हाम्रो आक्रोश, हाम्रो आशा, हाम्रो निर्णय र हाम्रो नेतृत्व रोज्ने विवेक बाह्य प्रणालीले तय गर्छ भने, स्वतन्त्रताको अर्थ केवल भ्रममा सीमित हुन्छ। यही नै डिजिटल उपनिवेशको सबैभन्दा खतरनाक रूप हो, जहाँ राष्ट्र कब्जा भइसकेको हुन्छ तर नागरिक अझै स्वतन्त्र भएको अभिनय गरिरहेका हुन्छन्।











प्रतिक्रिया