उदयपुर ।
उदयपुरको बरुवा बसपार्कमा तामाङ ल्होछार महोत्सव तथा फुड फेस्टिबल भव्य रूपमा सुरु भएको छ । नेपाल तामाङ घेदुङ उदयपुर र त्रियुगा नगर समितिको संयुक्त आयोजनामा भएको यो महोत्सवले तामाङ समुदायको नयाँ वर्ष (घोडा वर्ष) को उत्सवलाई जीवन्त बनाएको छ ।

त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्त बस्नेतले महोत्सवको औपचारिक उद्घाटन गर्नुभयो। आयोजक नेपाल तामाङ घेदुङ उदयपुरका अध्यक्ष फडिन्द्र तामाङका अनुसार यो महोत्सव सात दिनसम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाले मगर, तामाङ, थारु, दनुवारलगायत सबै जातजातिको भाषा, धर्म र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहेको बताए। चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाले सबै समुदायका पर्वलाई सांस्कृतिक पर्वको रूपमा मनाउनु आवश्यक रहेको जोड दिनुभयो । उहाँले घोडा वर्षको शुभकामना दिँदै मिनी मेलाको सफलताको कामना गर्नुभयो ।
यसैगरी, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत बहादुर खड्का लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै महोत्सवको सफलताको शुभकामना दिनुभयो ।
महोत्सवमा तामाङ खानाका विभिन्न परिकारसहित स्थानीय उत्पादन तथा उपभोग्य सामग्रीका स्टलहरू राखिएका छन् । जसमा प्रदर्शन तथा विक्री वितरण भइरहेको छ । हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजक सदस्य अमित तामाङले जानकारी दिनुभयो ।
यो महोत्सवले तामाङ संस्कृति प्रवद्र्धनका साथै बहुजातीय सद्भाव र सांस्कृतिक विविधतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । स्थानीय तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको यो उत्सवमा सबैलाई स्वागत छ ।












प्रतिक्रिया