नेपाल सम्झँदै छन् कतार पुगेका रुद्रकली र खगेन्द्र

1.41k
Shares

खगेन्द्र ! नेपाल जाने ? कतारको अलखोर पार्क चिडिया घरमा पुगेका केही नेपाली पर्यटकले सोध्छन् । खगेन्द्र (हात्ती) ले आवाज निकालेर अँ….. को सङ्केत गर्छ । प्रश्न सोध्ने नेपाली युवती चुकचुकाउँछिन्– अँ भन्दै छ बिचरा !

पार्कमा रमाइरहेका धेरै नेपालीको मन निमोठिन्छ, खगेन्द्रको नेपाल प्रेमले । उनीहरु एकपटक आफ्नो जन्मथलो, आफ्नो गाउँको पाखा–पखेरामा मनमनै विचरण गर्छन् । अनि आफ्नो बाध्यताको बोझले थलिएर टोलाउँछन्, तिनै रुद्रकली र खगेन्द्रलाई हेरेर ।

कतारलाई नेपाल सरकारले उपहार दिएका दुई हात्ती रुद्रकली र खगेन्द्र अहिले कतारको अलखोर पार्क चिडिया घरमा बसिरहेका छन्, पर्यटकको प्रमुख आकर्षण बनेर । हेर्दा रुद्रकली र खगेन्द्र कतारमा खुशी देखिन्छन् । सामाजिक सञ्जालमा उनीहरुका विभिन्न पोजका तस्वीर सार्वजनिक भइरहेका छन् । कतारको अलखोर पार्क चिडिया घरमा बनाइएको पोखरीमा नुहाउँछन् उनीहरु । सुँडले एक–अर्कोलाई चुम्बन गर्दै रमाउँछन् । उनीहरु जन्मिएको र हुर्किएको थलोभन्दा निकै राम्रो र सुविधा सम्पन्न छ कतारको नयाँ बासस्थान ।

रुद्रकली र खगेन्द्रसँगै कतार पुगेका बुद्धिलाल श्रेष्ठ र पाचुखा थारुले उनीहरुको जीउमा बिभिन्न नक्सा बनाइदिएर आकर्षण थपिदिएका छन् । दुई हात्तीमध्ये रुद्रकलीको माउते हुन् बुद्धिलाल श्रेष्ठ । खगेन्द्रका माउते पाचुखा थारु हुन् ।
कतार पुगेका रुद्रकली र खगेन्द्र मात्र खुशी छैनन्, उनीहरुले अलखोर पार्क चिडिया घरमा पुग्ने धेरै पर्यटकलाई खुशी दिएका छन् । नेपाली पर्यटक त झन् खुशी हुन्छन्, आफ्नो देशको हात्तीलाई कतारको चिडिया घरमा हेर्न पाउँदा ।

तर यो खुशी रुद्रकली र खगेन्द्रको वास्तविक खुशी हो ? के उनीहरुले चितवनको सौराहस्थित आफ्नो जन्मथलोलाई अब चटक्कै भुलेका हुन् ? सम्झना आउँदैन होला उनीहरुलाई ? सौराहको त्यो भूमि, जहाँ धूलो, हिलो र हरियालीसँग लड्दै, दौडँदै, एक–अर्कोसँग ठोक्किँदै हुर्किएका थिए उनीहरु ।

मलाई विश्वास छैन । म निर्धक्क भन्न सक्छु, मानिस मात्र हैन, जीवित प्राणी सबैलाई आफ्नो जन्मभूमि असाध्य प्यारो हुन्छ । सँगैको अर्को घर वा बासस्थानमा सर्दा त पीडा हुन्छ भने अर्को देशमा जाँदा के खुशी भए होलान् रुद्रकली र खगेन्द्र ।
उपहार आदान–प्रदान गर्नु दुई राष्ट्रको मित्रताको लागि असाध्य सकारात्मक कुरा हो । उपहारको रुपमा कतार पुगेका रुद्रकली र खगेन्द्रको दैनिकी नेपालको भन्दा सुविधा सम्पन्न देखिन्छ तर उनीहरुको हृदय खुशी छ भन्न सक्दिन म ।कहीँ न कहीँ नेपालसँग भावना गाँसिएको छ उनीहरुको । हृदयको अन्तर–कुन्तरमा नेपाल गुजुल्टाएर रोएको छ उनीहरुको मन । त्यसैले त कतैबाट नेपालको आवाज सुन्नासाथ उनीहरु सतर्क हुन्छन् । नौलो सुख–सयलमा देखिएको उनीहरुको खुशी फाट्दै गएको बादलजस्तो हुन्छ । अनुहारको भाव बदलिन्छ, आँखा रसाउन खोज्छन् । तर विवश उनीहरुले त्यो पीडा देखाउन सकेका छैनन् । किनभने उनीहरुको नियति बनेको छ कतारको चिडिया घरमा बस्नु । यसो भनौं न, धेरै नेपालीहरुकै नियति बनेको छ विदेशिनु ।

चिडिया घरमा पुगेका धेरै नेपालीलाई देखेर रुद्रकली र खगेन्द्रले भनिरहेका होलान्– धिक्कार नेपालीको कर्म ! मानिस होस् वा पशुपक्षी, जुनसुकै बहानामा विदेशिनै पर्ने ।
रुद्रकली र खगेन्द्र पुस २ गते सौराहबाट भैरहवा विमानस्थल हुँदै कतारको लागि उडेका हुन् । सौराहबाट भैरहवा जाँदा उनीहरुले खासै असहज महसुस गरेको देखिएन । आफ्नो देशको एउटा भूमिबाट अर्को भूमिमा टेक्ने कुरा उनीहरुको लागि असहज भएन । कतै आसपास घुम्न जान लागेको महसुस गरे शायद । तर जब उनीहरुलाई कतार लानको लागि विमानमा चढाइयो, उनीहरुको आँखाबाट आँसु चुहिएका थिए । सामाजिक सञ्जालमा छरपस्ट ती दृश्यले आम नेपालीको मनमा भक्कानो फुटेको थियो । रुद्रकली र खगेन्द्रको रोदन विकासोन्मुख सानो मुलुकको विवशताको प्रतिक बन्यो ।

रुद्रकली र खगेन्द्र हुर्किएको चितवनको सौराहस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रका खोरसरका अधिकृत मनपुरन चौधरीले भनेका छन्– ‘हामीलाई पनि आफ्नो जन्मथलो छाडेर जानुपर्दा नमज्जा लाग्छ, हात्तीमा पनि त्यो भावना हुनु स्वाभाविक हो । पीडाको समयमा हात्ती झस्किने, आवाज निकाल्ने र कतिपय अवस्थामा आँसु झार्ने गरेको अनुभव छ ।’
त्रिभुवन विमानस्थलमा दैनिक सयौँ नेपाली युवा–युवतीहरु आँखा पुछ्दै सुटकेस गुडाएर हवाईजहाजबाट अलप हुन्छन् । त्यस्ता युवा–युवतीका अभिभावकहरु घण्टौं विमानस्थलको प्रतीक्षालय र होटल–रेस्टुराँमा टोलाइरहेका भेटिन्छन् ।

यो विवशता गरिबीको विवशता हो । बाध्यता र आशाको विवशता हो । अलि–अलि शासकको लापरबाही, भ्रष्टाचारको दुर्गन्ध र नातावादको परिणामले भित्र्याएको विवशता हो । जेनजी आन्दोलनको पृष्ठभूमि त्रिभुवन विमानस्थलको अश्रुमिश्रित यही भीडबाट बनेको हो ।

भैरहवा विमानस्थलमा रुद्रकली र खगेन्द्रको आँसुलाई साथ दिन भने कुनै अभिभावक थिएनन् । उनीहरुको आँसु भैरहवाको जमिन र सामाजिक सञ्जालका वालहरुसम्म मात्र सीमित बनिदियो । उनीहरुलाई सधैँ साथ दिने दुई माउते बुद्धिलाल श्रेष्ठ र पाचुखा थारु पनि सँगै उडेका थिए । त्यसैले पनि भैरहवा विमानस्थलमा रुद्रकली र खगेन्द्रको आँसुमा तड्पिएर टोलाइरहने कोही भएनन् । जेनजी आन्दोलनका अभियन्ताहरुले पनि रुद्रकली र खगेन्द्रको पीडालाई देख्न सकेनन् वा देख्न चाहेनन् ।
हामी धेरै नेपाली अभिसप्त छौं । मानिसको पीडामा देखावटी नै भए पनि हैँसे गर्न तम्सन्छौं ।

स्वार्थकै लागि भए पनि बिद्रोहको स्वर अलाप्छौं । तर पशुपक्षी, बोटबिरुवाप्रति थोरै पनि दायित्वबोध गर्दैनौं । बर्सौं दूध दिएर थाकेको गाई–भैँसीलाई बुढेसकालमा कि मासु पसलतिर लगेर बेचिदिन्छौं, कि भीरमा लगेर धकेलिदिन्छौं । युवा उमेरमा आम्दानी दिने हात्ती, घोडा, गोरुहरुलाई बुढेसकालमा अलपत्र मर्नको लागि छाडिदिन्छौं । सकुन्जेल घर र मालिकको सुरक्षामा बफादार हुने कुकुरलाई बूढो भएपछि सडकमा अलपत्र छोडिदिन्छौं । अनि कानुन कार्यान्वयन गर्ने निकायले पनि यो पशुपक्षीको मामला हो भन्दै त्यस्ता अपराधीहरुलाई धरपकड र सजायमा बेवास्ता गरिदिन्छन् ।

नेपाली भूमि भैरहवाको विमानस्थलबाट उड्दा रुद्रकली र खगेन्द्रले झारेका आँसु आफ्नो बासस्थान र जन्मभूमिप्रतिको स्नेही अभिवादन थियो । उनीहरु रुँदै गए । साथमा माउतेहरु बुद्धिलाल श्रेष्ठ र पाचुखा थारु भएकोले शायद नेपाल फर्कने अपेक्षा उनीहरुको भावनासँग जीवित थियो । म प्रताडित छु त्यो समयको लागि जति बेला बुद्धिलाल श्रेष्ठ र पाचुखा थारुले रुद्रकली र खगेन्द्रलाई छोडेर नेपाल फर्कन्छन् । उनीहरु त्यति बेला पक्कै खुशी हुन सक्दैनन् ।

मैले कतै पढेको थिएँ– जेनजी आन्दोलनको क्रममा जलेको पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा उनीहरुले पालेको कुकुर एक्लै बसिरहेको थियो रे ! यो कति संवेदनशील विषय छ । जनावरहरु आफ्नो बासस्थान र जन्मथलोप्रति कति बफादार र निकट हुन्छन् ।

नेपाल र सौराहको आफ्नो जन्मथलोलाई हरेक पल सम्झिरहेका रुद्रकली र खगेन्द्र माउतेहरुको साथले कतारको चिडिया घरमा रमाउन सकिरहेका छन् । जब बुद्धिलाल र पाचुखा नेपाल फर्कनेछन् र उनीहरुले नयाँ माउते पाउनेछन् अनि सौराहको भूमिले उनीहरुको हृदयको संवेदनालाई झस्काइदिने छ । कति रुन्छ होला उनीहरुको मन, त्यो संवेदनाको भुमरीले तथ्यको सुईको पाएपछि । चिडिया घर पुग्ने नेपालीको आवाज र नेपाल शब्दले उनीहरुको बासस्थानप्रतिको स्नेहलाई पलपल चिथोरिरहने छ । उमेर घर्किंदै जाँदा सौराह फर्कने उनीहरुको चाहनाको धड्कन बढ्दै जानेछ ।

डा. उपेन्द्र देवकोटाले मर्ने बेला आफू बाल्यकालमा रमाएको खोलामा खुट्टा डुबाएर रमाउने र घरनजिकको धाराको पानी पिउने चाहना राखे । उनको चाहनाअनुसार परिवारले हेलिकोप्टरबाट उनलाई जन्मथलो पु¥याएर खोलामा खुट्टा डुबाउने र घरनजिकको धाराको पानी पिउने अवसर दिए ।

मानिसको जस्तै भावनात्मक उद्वेग भएका रुद्रकली र खगेन्द्रलाई पनि सौराह फर्किएर आफ्ना माउते र नेपाली पर्यटकसँग रमाउने चाहना हुनेछ । कठै ! उनीहरुको चाहना अब कसले पूरा गरिदेला ?
नेपालबाट चोरी एर विदेश पुगेका धेरै मूर्तिहरु सम्बन्धित मुलुकका शासकको महानताकै कारण फर्किएर पहिलेकै ठाउँमा सजिएका धेरै उदाहरण छन् । अपेक्षा गरौं, कुनै समय कतारका महान् अमिर शेखले रुद्रकली र खगेन्द्रलाई सौराह फर्काउने प्रबन्ध मिलाउने छन् ।

रुद्रकली र खगेन्द्रको धड्कन फेरि पनि सौराहको भूमिमा धड्कने छ । नेपालको भूमिमा उनीहरुले फेरि एकपटक अभिनन्दन गर्नेछन् र जीवनको केही पल कतारको भूमिमा सयर गर्ने अवसरको लागि संवेदनहीन नेपालका शासकहरुलाई धन्यवाद दिनेछन् ।