समाजमा विविध अपराधहरु निरन्तर घटिरहेका छन् । हत्या, यौनहिंसा, लागूपदार्थको कारोबार, यातना, आतंक, भ्रष्टाचार, अपहरण आदि उदेक लाग्दा घटनाका जानकारी सञ्चारमाध्यमबाट बाहिरिइरहन्छन् । नेपालमा हत्याको तथ्यांक दर हेर्दा प्रतिवर्ष प्रति १ लाख जनसंख्यामा ३ जनाको हाराहारीमा मानिस अकालमा मारिन्छन् । यी खबरले मानिसलाई निराश र त्रसित तुल्याइरहेका छन् । यस्ता घटनाले मानवको विवेक र मानवताको खिल्ली उडाइरहेका छन् ।
अपराध गर्नेहरु दानव हुन् । तिनीहरुलाई मान्छे भन्न मिल्दैन, नत्र तिनीहरुले प्रकृतिले दिएको चेतनाको उपयोग गर्ने थिए । जन्मदा मान्छे मान्छेकै रुपमा जन्मन्छ, पछि कोही मान्छे समाज र सभ्यताका रक्षक वा देउता बन्छन् भने कोही समाज र सभ्यताका भक्षक वा दानव बन्न पुग्छन् । कोही मान्छे मान्छे बन्छन् भने कोही पशुभन्दा तल्लो स्तरको । आखिर कोही मान्छे दानव वा हिंस्रक किन बन्छ त ? किन मान्छेले आफ्नो संयम लिलाम गर्छ ? आफ्नो स्वविवेक र विवेचना गर्ने क्षमताविरुद्ध किन आफैँ धावा बोल्छ र किन समाजलाई खोक्रो र अशान्त बनाउँछ त ?
चालकले जता लग्यो गाडी त्यतै गुडेजस्तो मानिसको मन वा विचारले जता मोड्छ शरीरले पनि त्यही अनुसार क्रियाकलाप गर्दछ । चालक गैरजिम्मेवार बन्यो र अत्यधिक नशाबाट मात्यो भने गाडी भिरबाट तल खस्न पनि सक्छ । त्यस्तै मानवमनमा विकृति वा आवेग आयो भने ऊ अपराध गर्न पछाडि पर्दैन ।
मानिसको व्यक्तिगत भिन्नता, स्वभाव, वातावरण, अहंकार, निर्दयता, क्रोध, कुण्ठा, लोभ, आवेगको अनियन्त्रणजस्ता तत्वहरुले अपराधतर्फ उन्मुख हुन दह्रो प्रभाव पार्छन् । जब मानिसमा मानवता, समाज र कानुनप्रति संवेदनहीनता र उपेक्षा पैदा हुन्छ, त्यसपछि ऊ निकै घातक बन्न पुग्छ । मानिस भएर मानिसलाई दया र माया गर्ने, सम्मान र सहयोग गर्ने भाव भनेको मानवता हो । अरु मानिसलाई दुःख भयो भने पीडा हुन्छ भन्ने महसुस गर्नु मानवीय सोच हो । तर जब यो सोचको खम्बालाई क्रुरताको धमिराले जीर्ण बनाइदिन्छ तब मानिस निर्दयी, हिंस्रक र समाजप्रति असहिष्णु बन्न पुग्छ ।
मानव समाजमा जन्मन्छ र समाजमा हुर्कन्छ । उसले सार्थक र सुखपूर्ण जीवन बिताउन समाजका आदर्श मूल्य र मान्यताहरुलाई सम्मान गर्नुपर्ने हुन्छ । तर जब मानिसमा गैरसामाजिक भाव उत्पन्न हुन्छ तब ऊ अपराध गर्न उद्यत् हुन्छ । उसले समाजका संस्था वा मानिसहरुप्रति संवेदनहीनता राख्छ । उसमा डर, लाज, सरम हराउँछ र ऊ हिंस्रक एवं विवेकहीन बन्न पुग्छ । जब कुनै पनि मानिसलाई इज्जतप्रति ख्याल हुँदैन तब ऊ समाजलाई ठेस पु¥याउन तयार बन्छ । मानव समुदायलाई व्यवस्थित र न्यायपूर्ण बनाउन कानुनको व्यवस्था गरिएको हुन्छ ।
अपराध गर्नेले दण्ड पाउने व्यवस्था हुन्छ । फौजदारी मात्र होइन, देवानी कानुनको कठघरामा पर्नेलाई पनि कानुनअनुसार कडा कारबाही गर्ने रणनीति संविधानले लिएको छ । तर यो रणनीति कार्यान्वयन कत्तिको प्रभावकारी छ भन्ने कुरा विवादास्पद छ । उच्च तहमा बसेकाहरुले नै अपराधीलाई संरक्षण गरेर आफ्नो स्वार्थ पूरा गर्ने गरेका कुरा गरम समाचार बन्ने गर्छ । नेपालको संविधानले हरेक मानिसलाई कानुनने बाँधेको छ तर केही मानिस कानुनको उपस्थितिलाई बेवास्ता गर्छन्, कानुनलाई भित्री मनदेखि महसुस गर्दैनन् । जे होला–होला भन्ने कुसिद्धान्त अनुशरण गर्न पुग्छन् र अपराध गर्छन् ।
अपराधीहरुले सामन्यतया अपराध गरिसकेपछि आउने परिणामको ख्याल र विश्लेषण गर्दैनन् । एउटा उखान छ कि ‘कुकुरको पुच्छर दश वर्षसम्म ढुंग्रोमा हाले पनि सोझिन्न’ भनेजस्तो केही अपराधीहरु यति जटिल मनस्थितिका हुन्छन् कि उनीहरुलाई जति उपदेश वा सजाय दिए पनि सुध्रिन्नन् । यसको एक उदाहरणमा राष्ट्रपतिबाट आममाफी पाएको एक मानिसले जेलबाट निस्किएपछि आफ्नै श्रीमतीको हत्या ग¥यो । नेपालमा कुनै पनि अपराधीलाई मृत्युदण्ड दिने कानुन छैन । मृत्युदण्ड लागू गर्दा कतै परिबन्ध वा षड्यन्त्रमा परेर निर्दोष मान्छे पनि मारिने हो कि भन्ने डर हुन्छ । अर्को तथ्य के पनि हो भने, विश्वमा थुप्रै देशमा मृत्युदण्डको व्यवस्था भए तापनि त्यहाँ उल्लेखनीय मात्रामा अपराधहरु घटेका छन् ।
मनोविज्ञानले सबै अपराध नियोजित हुँदैनन्, अपराध मानिसले आवेग वा बेहोसीमा पनि गर्ने गर्छ भन्छ । केही मानिस मानसिक विक्षिप्ततामा अपराध गर्छन्, उनीहरुलाई के सही, के गलत भनेर छुट्याउन मुस्किल पर्छ । तर समग्रमा अपराध मानिसले आफूमा विवेक निहित छ भनेर स्वपहिचान गर्न नसकेरै हुने गर्छ अर्थात् मनको विकारबाटै हुने गर्छ । मानिसले धैर्यता राखेन र सकारात्मक सोच राखेन भने र विवेकलाई डढाई उग्रतालाई मलजल ग¥यो भने अपराध निम्तिन्छ ।
थुप्रै मानिस हडबडे किसिमका हुन्छन् र केही कुरामा पनि शीतल मनस्थितिले सोच्ने वा विवेचना गर्ने खालका हुन्नन् अनि अपराध निम्तिन सक्छ । यो पनि भुल्नुहुन्न कि केही मानिस अरुलाई दुःख दिएर रमाउने विकृत वा आपराधिक मनस्थितिका हुन्छन् । दोस्रो विश्वयुद्धको प्रमुख खलनायक एडोल्फ हिटलर उसको क्रुर र अविवेकी दृष्टिकोणको कारण खुङ्खार अपराधी बन्न पुग्यो । यदि उसले विवेक पु¥याएर मानवतालाई सम्मान गरेको भए ५ करोडभन्दा बढी मानिस अकालमा मारिने थिएनन् । उसले बेकामको प्रतिशोध नलिएको भए लाखौं यहुदीहरु मारिनुपर्ने थिएन ।
समाजको अहिलेको परिवेश हेर्दा नाबालिगहरुले निम्त्याउने अपराधहरु पनि धेरै छन् । अहिले थुप्रै नाबालिगहरु लागूपदार्थको वितरण अनि सेवनमा लिप्त भएको देखिएको छ । सामाजिक सञ्जालको प्रभावले नाबालिगहरुबाट यौनहिंसा बढिरहेका छन् । थुप्रै नाबालिगहरुले ठूला अपराध निम्त्याउनु पक्कै पनि गम्भीर कुरा हो । पक्रेर सुधारगृह लगे तापनि थुप्रैको मस्तिष्कमा आपराधिक मनोवृत्ति नहराउनुले समाजको भावी अवस्था खतरा उन्मुख छ भन्ने जनाउँछ । अध्ययनअनुसार आपराधिक क्रियाकलापमा सहभागी हुने अधिकांश नाबालिगहरु पिछडिएको र आर्थिक, सामाजिक रुपमा अस्तव्यस्त भएका घर परिवारका सदस्य छन् ।
पूर्ण अपराधरहित समाजको निर्माण गर्न त सकिन्न तर अपराधको मात्रा घटाउन सकिन्छ । यसका लागि हरेक मानिसमा नैतिक बल आउन आवश्यक छ । मानिसले मानिसलाई सम्मान गर्न आवश्यक छ । समाजका बुद्धिजीवी, अगुवा र चेतनशील मानिसले अपराध भएको टुलुटुलु हेरेर बस्नु पनि अपराध हो भन्ने मान्यता बोकेर अपराध रोक्न र अरुलाई असल बन्न प्रोत्साहन गर्नुपर्छ । अपराधीलाई कुनै हालतमा पनि उन्मुक्ति नदिई हदैसम्मको दण्ड, प्रहरीलगायत अन्य पक्षहरुको सक्रियतामा अपराध नियन्त्रणका प्रभावकारी सञ्जालहरु, सञ्चारमाध्यमबाट दिइने चेतना र चेतावनीमूलक सन्देशहरु अति आवश्यक तत्व हुन् ।
मानिस आफू कसैको अपराधको सिकार नबन्नका लागि सचेत र सतर्क बन्नु अनि अरुलाई सतर्क बन्ने चेतना दिनु, मानिस–मानिसका बीचमा स्वविवेकबाट विश्वास र भरोसाको दायरा निर्धारण गर्नु अति महत्वपूर्ण तत्व हुन् । घटेका कतिपय अपराधमा मानिस नजिकका वा चिनजानका व्यक्तिबाट पीडित भएका थुप्रै दृष्टान्त देखिएको हुनाले मानिसले अरुलाई विश्वास गर्दा शीतल दिमागले सोच्नु आवश्यक छ ।
हरेकले यो बुझ्नुपर्छ कि कसैको छुचो बोलीले त पीडा दिन्छ नै, तर कसैको मीठो बोलीले पनि पीडा दिन सक्छ । मानिस भएर जन्मेपछि विवेक पनि स्वतः प्राप्त हुन्छ । मात्र खाँचो छ कि त्यो विवेक र चेतनाको सही सदुपयोग गर्ने खुबी । मानिसको जीवनको एक अति महत्वपूर्ण पुँजी भनेको असल संस्कार हो । घरपरिवार र समाजबाट असल संस्कार र नैतिक शिक्षा अनि जीवन शिक्षा पाएका मानिसहरु सितिमिति बिग्रिँदैनन् वा समाजविरोधी काम गर्दैनन् ।











प्रतिक्रिया