सक्किने कि सच्चिने ?निर्णायक घडीमा कांग्रेस


नेपाली कांग्रेस आज इतिहासकै सबैभन्दा जटिल र संवेदनशील मोडमा उभिएको छ । पार्टीभित्र नेतृत्व, विधि र वैधानिकताको विषयलाई लिएर देखिएको तीव्र टकरावले कांग्रेसको भविष्य मात्र होइन, मुलुकको लोकतान्त्रिक यात्रामै गम्भीर प्रश्न उठाएको छ ।

एकातिर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा तीन दिनदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भने अर्कोतर्फ संस्थापन पक्षले त्यसलाई अवैध ठहर गर्दै अस्वीकार गरिरहेको छ । विद्रोही समूहले करिब ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको दाबी गर्दै नेतृत्व परिवर्तन अपरिहार्य भएको घोषणा गरिसकेको छ । संस्थापन पक्ष भने पार्टी विधान, प्रक्रिया र वैधानिकताको प्रश्न उठाउँदै यथास्थितिको पक्षमा अडिग देखिन्छ । यही टकरावका कारण कांग्रेस ‘गर या मर’ को अवस्थामा पुगेको आभास भइरहेको छ ।

यो विवाद केवल पद, शक्ति वा व्यक्तिको विषय मात्र होइन । यो कांग्रेसको वैचारिक दिशा, संगठनात्मक एकता र लोकतान्त्रिक संस्कारसँग जोडिएको प्रश्न हो । विडम्बना के छ भने, बहुमत महाधिवेशन प्रतिनिधिले पार्टी विधान संशोधन गरे पनि पार्टी सभापति हटाउन केन्द्रीय समितिको दुई तिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक प्रावधानका कारण तत्काल नेतृत्व परिवर्तन सहज देखिँदैन । यसले संकटलाई झनै जटिल बनाएको छ । यदि दुवै पक्ष आ–आफ्नो अडानमा कठोर बनेर अघि बढ्ने हो भने कांग्रेस विभाजनको संघारमा पुग्ने जोखिम टार्न सकिँदैन ।

इतिहास साक्षी छ, कांग्रेसको विभाजनले सधैँ पार्टीलाई मात्र होइन, देशको लोकतान्त्रिक स्थायित्वलाई समेत गम्भीर धक्का दिएको छ । आजको अवस्थामा कांग्रेस कमजोर हुनु भनेको समग्र लोकतान्त्रिक शक्ति कमजोर हुनु हो । अहिलेको आन्तरिक द्वन्द्वबाट केही व्यक्तिले अस्थायी रूपमा पद, हैसियत वा प्रभाव हासिल गर्न सक्छन् । तर दीर्घकालमा यसले पार्टीको संगठन, जनआधार र विश्वसनीयतालाई चोट पु¥याउनेछ । जनतामा निराशा बढ्नेछ, लोकतान्त्रिक शक्तिमाथि अविश्वास गहिरिनेछ र राजनीतिक शून्यता सिर्जना हुने खतरा बढ्नेछ ।

यस्तो अवस्थामा सच्चा कांग्रेसीजनहरूले आत्मसमीक्षा गर्ने बेला आएको छ । आवेग, उत्तेजना र अहंकारका भरमा लिइने निर्णयले भोलि पछुताउनुबाहेक केही दिनेछैन । कांग्रेसको हित केवल कुनै एक समूहको जित वा हारमा होइन, पार्टीको एकता, विधि र लोकतान्त्रिक मूल्यको संरक्षणमा निहित छ । अझ गम्भीर कुरा, देश स्वयं आर्थिक, सामाजिक र राजनीतिक चुनौतीको सामना गरिरहेको छ । यस्तो विषम परिस्थितिमा मुलुकलाई बलियो लोकतान्त्रिक विपक्ष र जिम्मेवार राजनीतिक शक्ति आवश्यक छ । यो बेला फुट होइन, जुटको वातावरण सिर्जना गर्नु कांग्रेसको ऐतिहासिक दायित्व हो ।

त्यसैले समाधानको एकमात्र बाटो वार्ता, संवाद र सहमति हो । दुवै पक्षले एक–अर्कालाई पराजित गर्ने सोच त्यागेर पार्टी जोगाउने संकल्प गर्नुपर्छ । विधि, विधान र भावनाबीच सन्तुलन कायम गर्दै निकास खोज्न सकियो भने कांग्रेस सच्चिन सक्छ । नत्र, इतिहासले यो क्षणलाई कांग्रेस आफैंले आफ्नै खुट्टामा बन्चरो हानेको समयका रूपमा सम्झिनेछ । आज प्रश्न स्पष्ट छ, नेपाली कांग्रेस सकिने कि सच्चिने ? यसको उत्तर नेतृत्वको परिपक्वता, कार्यकर्ताको विवेक र सामूहिक जिम्मेवारीमा निर्भर छ । समय अझै बाँकी छ, तर ढिलाइको मूल्य अत्यन्त महँगो पर्न सक्छ । त्यसैले अव मिल्नुको विकल्प छैन ।