नेपाली कांग्रेसका बहुसंख्यक महासमिति सदस्यहरुको मागमा अहिले राजधानीमा विशेष अधिवेशन चलिरहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उहाँका केही निकट नेताहरुले जेन्जी विद्रोहबाट पाठ लिन आवश्यक नठानेको समयमा कार्यकर्ताकै मागमा भएको अधिवेशन विशेष अधिवेशनको उपज हो ।
गत भदौ २३ र २४ गतेको नवप्ुस्ताको विद्रोह भ्रष्टाचार, कुशासन, कमिसनखोर तथा दुई–चारजना नेताले पालैपालो प्रधानमन्त्री भई गर्दै आएको राज्यसत्ताको दोहनउपर प्रतिक्रिया थियो । राजनीतिक दलहरुको पुनर्गठनको माग लिएर भएको थियो । यस्तो ध्वंस र नरसंहार राज्यले व्यहोर्नुपर्दा पनि राजनीतिक दलका शीर्षस्थ नेताहरुले अझै सत्ता छाड्न नचाहेको, अझै राज्यसत्तामा हालिमुहाली गरिरहने चाहना देखाउँदै त्यो विद्रोहलाई नजरअन्दाज गरेको मात्र नभई अनेक षड्यन्त्रको सिद्धान्त बुनेर त्यसलाई उपेक्षासमेत गरिरहेको स्थितिमा समयको मागअनुरुप भएको सो अधिवेशन निश्चिय नै अरु बेलाभन्दा भिन्न रहने नै भयो । नेपाली कांग्रेसले विशेषतः नवपुस्ताले जेन्जी विद्रोहको ऐनामा आफूलाई सुधार गर्ने जुन प्रतिबद्धता विशेष अधिवेशनमार्फत व्यक्त देखायो, त्यसलाई सकारात्मकरुपमा लिनुपर्दछ ।
जेन्जी विद्रोह हुँदा सरकारको नेतृत्व नेकपा (एमाले) ले गरिरहेको थियो भने त्यसको सहयात्री दल नेपाली कांग्रेस थियो । त्यतिमात्र नभई नेपाली कांग्रेस विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो थियो । जेन्जी विद्रोहले राजनीतिक दलको पुनर्गठन र पुनर्संरचनालाई जोडतोडका साथ उठाएको थियो । तैपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र र देशमा कुनै पनि परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस गर्न सकेका थिएनन् ।
पार्टीको तल्लो तहमा परिवर्तनको आवाज मुखरित हुँदै गर्दा केन्द्रमा भने निर्णय लिनै नसक्ने अवस्था पुगेको थियो । त्यो विद्रोहले राजनीतिक दलको नीतिमा, अपनाइरहेका तौरतरिकामा, प्रवृत्तिमा, कतिपय पात्रमा परिवर्तन खोेजेको थियो । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलले यत्रो जनताको आक्रोश, विद्रोहलाई अनदेखा गर्न सक्ने र गरेर चुनावमा जान नसकिने स्थितिलाई युवापुस्ताले बुझेर सकसका साथ विशेष अधिवेशनको लागि पहल गर्नुले अरु राजनीतिक दललाई सकारात्मक परिवर्तनका लागि दबाब मिल्ने निश्चित छ ।
कतिपय पार्टीमा नेतृत्वको अंहकार, पार्टीभित्र मालिक र कामदारको झैँ बनेको सम्बन्धलाई बदल्न वा त्यसका विरुद्ध रुपान्तरणका लागि उत्साह जगाउन सके कांग्रेसको विशेष अधिवेशन स्वयं कांग्रेसका लागि मात्र नभई अरुका लागि समेत सन्देशमूलक हुनेछ । ह्ुन त यसअघिका महाधिवेशनहरु केवल नेतृत्वको परिवर्तमा सीमित भएको बेला नेपाली कांग्रेसले यसपटक आफ्नो भूमिकालाई आत्मसमीक्षा गर्न चाहेको सन्देश प्रवाह गरेको छ । निराशाको सिकार भएका आम कार्यकताले उत्साह भर्न खोजेका छन् ।
अहिले ट्रयाक छाडेको संविधानलाई ट्रयाकमा ल्याउने मात्र नभई देशका यावत् समस्याको समाधानका लागि नेपाली कांग्रेसले विचार ल्याउनुपर्ने खाँचो छ । संविधानको आधारका रुपमा रहेको धर्मनिरपेक्षतामा, समानुपातिक समावेशी, संघीयता र लोकतान्त्रिक गणतन्त्र केवल औपचारिकतामा सीमित भएको छ । समानुपातिकको नाउँमा नेतातन्त्रको राज छ ।
समावेशीको विषय केवल सजावटको विषय बनेको छ । संघीयता केवल प्रशासनिक विकेन्द्रीकरणको विषयमा सीमित तुल्याइएको छ । समृृद्धिको नाउँमा चलेको बहसमा आम नेपाली विदेशिनुपर्ने बाध्यात्मक स्थिति छ । अतः यस्तो बेला नेपाली कांग्रेसले विगतको आफ्नो भूमिकालाई मूल्यांकन गर्दैै अगाडिको बाटो कोर्न सके यो अधिवेशन देश र जनताका लागि अझ उपयोगी साबित हुुनेछ ।











प्रतिक्रिया