काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले दक्षिण–पूर्वी एसियाली क्षेत्रमा नसर्ने रोग र मानसिक स्वास्थ्यको बढ्दो चुनौतीलाई सामना गर्न एकीकृत रणनीति र सामूहिक जवाफदेहिताको खाँचो रहेको बताउनुभएको छ । ललितपुरमा सुरु भएको ‘दक्षिण–पूर्वी एसियाली क्षेत्रीय सम्मेलन’ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
डा. अभिनव वैद्यको अध्यक्षता तथा नेपाल एन.सी.डी. एलायन्सको आतिथ्यतामा आयोजित उक्त सम्मेलनमा नेपाललगायत दक्षिण–पूर्वी एसियाली मुलुकका सरकारी प्रतिनिधि, स्वास्थ्य विज्ञ, नागरिक समाजका सदस्य र विश्व स्वास्थ्य संगठनका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको छ । सम्मेलन विशेष गरी सन् २०२५ मा भएको संयुक्त राष्ट्रसंघको उच्च–स्तरीय बैठकका प्रतिबद्धताहरूलाई कार्यान्वयनमा ल्याउने र आगामी पाँच वर्षका लागि नयाँ जवाफदेहिता ढाँचा तय गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री डा. शर्माले नसर्ने रोगहरू नेपालका लागि प्रमुख स्वास्थ्य चुनौती बनेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो– ‘नेपालमा हुने कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी नसर्ने रोगका कारण भइरहेको छ । यो केवल स्वास्थ्यको तथ्यांकमात्र होइन, यो हाम्रो अर्थतन्त्र र मानव संशाधनमाथिको ठूलो प्रहार हो । त्यसैले, हामीले उपचारभन्दा रोकथामलाई प्राथमिकता दिँदै प्राथमिक स्वास्थ्य सेवामा नसर्ने रोग र मानसिक स्वास्थ्यलाई अनिवार्य रूपमा जोड्नुपर्छ ।’
मन्त्री शर्माले मानसिक स्वास्थ्यलाई ‘ओझेलमा परेको महामारी’को संज्ञा दिँदै सरकारले हालै सुरु गरेको ‘राष्ट्रिय मानसिक स्वास्थ्य अभियान २०२५’ लाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले युवा र किशोरकिशोरीहरूका लागि लक्षित क्लिनिकको सफलता उल्लेख गर्दै आगामी दिनमा यस्ता सेवाहरू स्थानीय तहसम्म विस्तार गरिने बताउनुभयो ।
नयाँ जवाफदेहिता ढाँचा (२०२६–२०३०) सार्वजनिक गर्ने यो सम्मेलनको मुख्य आकर्षणको रूपमा ‘बहु–सरोकारवाला जबाफदेहिता ढाँचा २०२६–२०३०’ सार्वजनिक गरिएको छ। यो ढाँचाले आगामी पाँच वर्षका लागि नसर्ने रोग र मानसिक स्वास्थ्यको क्षेत्रमा हुने प्रगति मापन गर्ने र जिम्मेवार निकायलाई जवाफदेही बनाउने आधार तय गर्नेछ । यस ढाँचाका मुख्य चार स्तम्भहरूमा प्रतिबद्धता, कार्य, अनुगमन र पुनरावलोकन रहेका छन् ।











प्रतिक्रिया