कान्तिलाई १ हजार शैय्याको ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ बनाइने मन्त्री डा. सुधा गौतम शर्माको प्रतिवद्धता


काठमाडौं ।

सरकारले मुलुकको एक मात्र केन्द्रीय बाल अस्पताल, कान्ति बाल अस्पताललाई ‘इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (बाल स्वास्थ्य अध्ययन संस्थान) का रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।

अस्पतालको ६४औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले अस्पताललाई १ हजार शैय्याको अत्याधुनिक स्वास्थ्य संस्थाका रूपमा विस्तार गर्न मन्त्रालयले आवश्यक नीतिगत निर्णयहरू लिने प्रतिवद्धता जनाउनुभयो ।

“कान्ति बाल अस्पताललाई केवल उपचार केन्द्रका रूपमा मात्र नभई बाल स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक थलोका रूपमा विकास गर्न मन्त्रालय सकारात्मक छ,” मन्त्री गौतमले भन्नुभयो, “यसका लागि आवश्यक पर्ने नीतिगत र कानूनी गाँठो फुकाउन हामी तयार छौं ।”

आन्तरिक सुधार र नागरिकको गुनासो सम्बोधनमा जोड समारोहलाई सम्बोधन गर्दै मन्त्री गौतमले अस्पतालको भौतिक विस्तारसँगै सेवाको गुणस्तरमा पनि सुधार ल्याउन निर्देशन दिनुभयो । उहाँले अस्पताल भित्रका समस्याहरूलाई आन्तरिक रूपमै समाधान गर्न र नागरिकले सेवा लिँदा कुनै पनि गुनासो गर्ने अवस्था सिर्जना हुन नदिन स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

वर्तमान आर्थिक अवस्थाका कारण ठूला र नयाँ आयोजनाहरू तत्कालै अगाडि बढाउन केही चुनौती रहेको स्वीकार गर्दै उहाँले अस्पताल सञ्चालनमा आउने दैनिक समस्या समाधानका लागि मन्त्रालयको ढोका सधैं खुल्ला रहने स्पष्ट पार्नुभयो । मन्त्री गौतमका अनुसार थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्याहरूमा मन्त्रालयले तत्काल पूर्ण सहयोग गर्नेछ ।

एक वर्षमा २ लाख २३ हजारभन्दा बढीले लिए सेवा कार्यक्रममा अस्पतालका निर्देशक डा. पंकज रायले अस्पतालको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सेवाग्राहीको चाप निरन्तर बढिरहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ मा कुल २ लाख २३ हजार ९३७ जना बालबालिकाले अस्पतालबाट सेवा लिएका छन् । जसमध्ये १ लाख ६८ हजार ९४३ जनाले ओपिडी (OPD) र ५४ हजार ९९४ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएका छन् । पछिल्लो समय प्रविधिको प्रयोग बढाउँदै अस्पतालले अनलाइन टिकट प्रणाली पनि सुरु गरेको छ, जसबाट ५४१ जनाले सेवा लिएका छन् ।

शल्यक्रियातर्फ पनि अस्पतालले उल्लेख्य उपलब्धि हासिल गरेको छ । गत आर्थिक वर्षमा ७४१ वटा जटिल (मेजर), १ हजार ७९ वटा मध्यम र १ हजार ३३७ वटा सामान्य (माइनर) गरी कुल ३ हजार १३० वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन् ।

दक्ष जनशक्ति उत्पादनको केन्द्र बनाउने लक्ष्य निर्देशक डा. रायले अस्पताललाई आगामी दिनमा बाल स्वास्थ्य क्षेत्रको विशिष्टीकृत अध्ययन र अनुसन्धान गर्ने थलोका रूपमा स्थापित गर्ने योजना सुनाउनुभयो । उहाँले अस्पताललाई १ हजार शैय्याको अत्याधुनिक अस्पतालमा रूपान्तरण गर्दा देशभरका बालबालिकाले सुलभ र गुणस्तरीय उपचार पाउने र नेपालमै बालरोग विशेषज्ञहरूको ठूलो टोली तयार गर्न सकिने बताउनुभयो ।

कान्ति बाल अस्पतालले हाल विद्यमान सीमित स्रोत र साधनका बावजुद देशभरका जटिल प्रकृतिका बाल बिरामीहरूलाई सेवा दिँदै आएको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालमा दीर्घ सेवा गर्ने कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो । सरकारको यो नयाँ प्रतिवद्धतासँगै दशकौँदेखि ओझेलमा परेको कान्तिको स्तरोन्नतिको योजनाले नयाँ गति लिने विश्वास गरिएको छ ।