काठमाडौं।
एमेच्योर खेलाडी राहुल विश्वकर्माले सानदार जितसँगैं सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् ।
डिफेन्डिङ च्याम्पियन राहुल प्रोफेशनल र एमेच्योर दुवै तर्फको उपाधि जित्न सफल भएका हुन । उनले प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकले पछि पारेर करियरकै तेस्रो उपाधि जिते । प्रतियोगिताको अन्तिम दिन बिहीबार ४–अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४ अन्डर २ सय ७४ सहितको स्कोरकार्ड बनाएका हुन् ।
अन्तिम चरणको १८ होलको खेल सुरूआत हुँदा ५ स्ट्रोकको अग्रता रहेको राहुललाई अन्य खेलाडीले चुनौती दिन सकेनन् । फ्रन्ट नाइनमा ३ अन्डर ३३ खेलेसँगै राहुलले उपाधि जित्ने लगभग निश्चित भएको थियो । राहुलले दोस्रो, तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । पाँचौ होलमा एक सट खेर फालेका उनले १२औं र १५औं होलमा बर्डी खेलेपछि ब्याक नाइन १ अन्डर ३५ मा सकाए ।
जयराम ५ ओभर ७७ स्कोरको खराब प्रदर्शन गरेपछि उपाधिबाट विमुख भएका हुन् । इभन–पार २ सय ८८ स्कोर गरेर दोस्रो स्थानमा रहेपनि उनले पहिलो पुरस्कार प्राप्त गरे । उनले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गरेका हुन् । गल्फ प्रतियोगितामा एमेच्योरले उपाधि जितेपनि नगद पुरस्कार पाउँदैनन् ।
समग्रमा २ ओभर २ सय ९० को स्कोरमा तोरणविक्रम शाही र भुवन नगरकोटीले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । उनीहरूले १ लाख १२ हजार ५ सय नगद पुरस्कार हासिल गरे । यस्तै, नेपाल नम्बर एक प्रो निरज तामाङ समग्रमा ३ ओभर २ सय ९१ को स्कोरमा पाँचौं स्थानमा रहे । उनले ८२ हजार नगद पुरस्कार प्राप्त गरे ।
अन्यमा, भुवनकुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्तरुपमा छैटौं भए । उनीहरूले ६४ हजार ३ सय ३३ नगद पुरस्कार प्राप्त गरे ।
७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ खेलाडीको सहभागिता रहेको थियो । जहाँ कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे । सिजनको पहिलो प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।











प्रतिक्रिया