त्रिभुवन विश्वविद्यालको दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित भए । ती विद्यार्थीले उच्च शिक्षाको ढोका प्रवेश गरेका मात्र होइनन् । आफ्नो भविष्यको खाका कोर्न सफल भएका छन् । सरकारले दीक्षान्तको प्रमाणपत्र लिएका विद्यार्थीलाई देशमै रोजगारी दिन सकेको भए विश्वविद्यालयको साख अझै माथि जाने थियो । सरकारको एक दशकयता हरेक वर्षको नीति तथा कार्यक्रममा उच्च शिक्षा हासिल गरेकालाई रोजगारीको व्यवस्था हुने विषय उल्लेख भएको पाइन्छ । अझ त्रिविले त ‘पढ्दै कमाउँदै’ भन्ने नारा अघि बढाएर विद्यार्थीलाई हौसला दिने गरेको छ । तर त्यस्तो हौसला कागजमा मात्रै सीमित भएको छ । यदि साँच्चिकै ‘पढ्दै कमाउँदै’ नारा सफल भएको भए हजारौं विद्यार्थी उच्च शिक्षापछि वैदेशिक रोजगारी गर्न जाने थिएनन् ।
हुन त त्रिविको शिक्षा, मानविकी तथा सामाजिक संकाय र व्यवस्थापनमा अध्ययनरत विद्यार्थी मात्र बेरोजगार भएको इतिहास छ । तथ्याङ्कमा यी तीनवटै संकायमा सबैभन्दा धेरै विद्यार्थी अध्ययन गरेका हुन्छन् । यो वर्षको दीक्षान्तको तथ्याङ्कमा मानविकीका १४ हजार ८ सय ५१, व्यवस्थापनबाट ४३ हजार ६ सय १०, कानुनका २ हजार ३ सय ३५ र शिक्षातर्फ १६ हजार ४ सय ६७ विद्यार्थी उत्तीर्ण भएका छन् । दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा २०८१ असार मसान्तदेखि चालू शैक्षिक सत्रको जेठ मसान्तसम्म स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्चनाचार्य र विद्यावारिधि तहका उत्तीर्ण भई ट्रान्सकिप्ट लिएर ग्रेसलिस्टमा नाम समावेश भएका ८९ हजार १९१ मध्ये १६ हजार ३८० विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका थिए । तिनै १६ हजार ३८० विद्यार्थी दीक्षित भएका छन् । स्नातकका ११ हजार २३४, अधिस्नातक १४, स्नातकोत्तर तहका ४ हजार ८६०, दर्शनाचार्य १२० र विद्यावारिधिका १५२ छन् । दीक्षित हुनेमा सबैभन्दा बढी स्नातक तह पूरा गरेका विद्यार्थी छन् ।
विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदक पाएका छन् । समारोहमा २५ पदक तथा पुरस्कार वितरण भएको थियो । सर्वोत्कृष्ट अङ्क ल्याउने एक विद्यार्थीले तीन पदक तथा पुरस्कार पाएका थिए । बुटवल बहुमुखी क्याम्पसको स्नातकोत्तर तह (अर्थशास्त्र) विषयमा सर्वोकृष्ट अङ्क ल्याउने कमल पौडेलले तीन पदक र पुरस्कार पाएका छन् । पौडेलले नै तारापद चौधरी स्वर्ण पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार र पदक पाएका छन् । त्रिविले निरन्तररुपमा लाखौं रुपियाँ खर्चेर दीक्षान्त समारोह गर्ने गरेको छ । केन्द्रमा मात्र दीक्षान्त गर्दा त्रिविलाई ठूलो आर्थिक भार परेको छ । अबउप्रान्त यस्ता कार्यक्रम क्षेत्रगतरुपमा गर्नुपर्छ । एक वर्षमा होइन, ६–६ महिनामा गर्दा थप व्यवस्थित हुन्छ ।
समारोहमा प्रमाणपत्र लिएका विद्यार्थीले भविष्यमा राम्रो रोजगारी पाउन र विद्यार्थीलाई त्रिविप्रति आकर्षित बनाउने विभिन्न योजना अघि बढाउनु आवश्यक छ । होइन भने दीक्षान्त–गाउन लगाई दीक्षान्तको टोपीसहितको फोटो खिचेर भित्तामा टाँस्दा केही अर्थ रहँदैन । रोजगारसहितको शिक्षा दिन त्रिवि सदैव लाग्नुपर्छ । यसको लागि त्रिविले आजैबाट पहल गरोस् ।











प्रतिक्रिया