काठमाडौं।
‘नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ यही पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने यस प्रतियोगितामा तीन विभागीय टोली (पुलिस, आर्मी, एपीएफ) सहित न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेष्ट भलिबल क्लब गरी कुल ५ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिता शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने भएको हो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने यस संस्करणको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै, उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार रुपैयाँसहित विशेष सम्मान गरिने परम्परालाई यसपटक पनि निरन्तरता दिइनेछ ।
सुरक्षा र जोखिम व्यवस्थापनका लागि आयोजकले हरेक खेलाडी र प्राविधिक टोलीका सदस्यहरूको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको जानकारी दिएको छ । २०७२ सालदेखि सुरु भएको यस प्रतियोगिताको इतिहासमा सुरुका ६ संस्करण एपीएफले जितेको थियो भने सातौंमा न्यु डायमन्ड र गत संस्करणमा पुलिस च्याम्पियन बनेका थिए ।











प्रतिक्रिया