काठमाडौं।
अञ्जिला सम्मिलित टोली हारे पनि अर्कोे तिर नेपाली फुटबलर रेखा पौडेल र दिपा शाही आबद्ध भएका टोलीले भने उपाधि जितेको छ । उनीहरूको योगदानमा माल्दिभ्सको माजिया स्पोट्र्स एन्ड रिक्रिएसन क्लबले इतिहासमै पहिलो पटक एफएएम महिला लिगको उपाधि जितेको हो ।
लिगको फाइनल खेलमा माजियाले ओडी स्पोट्र्स क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो । जसमा, रेखा र दीपाले दोस्रो हाफमा एक–एक गोल गरेर टोलीको जित पक्का गरेका थिए । रेखाले सिजनको बेस्ट प्लेयर (विदेशी खेलाडीतर्फ) अवार्डसमेत हासिल गरेकी थिइन् ।
अञ्जिलाको टोली पराजित
रेखा र दीपाले माल्दिभ्समा उपाधि जित्दा अर्कोतिर नेपाली राष्ट्रिय गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा आबद्ध सेथु एफसी भारतीय महिला लिगमा पराजित भएको छ । उनको टोली लिगअन्तर्गत दोस्रो खेलमा इस्ट बंगाल एफसीसँग १–० ले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा सुमिया गुलोथले गोल गरेकी हुन् । यही गोल निर्णायक सावित हुँदा सेथुले अंक गुमायो । यसअघि पहिलो खेलमा अञ्जिलाको कप्तानीमा सेथुले किकस्टारलाई २–१ ले हराएको थियो ।
टोलीले २ खेलमा १ जित र १ हार बेहोर्दै ३ अंकसहित पाँचौं स्थान हासिल गरेको छ । टोलीले तेस्रो खेलमा गोकुलम केरलाको सामना गर्नेछ । यस लिगमा नेपालबाट अञ्जिला मात्रै सहभागी छिन् ।











प्रतिक्रिया