काठमाडौँ।
गणित शिक्षा परिषद्ले राष्ट्रिय स्तरमा माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
गणितीय हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीमा गणितप्रतिको रुचि बढाउने, आत्मविश्वासी बनाउने र बौद्धिक क्षमताको अभिवृद्धि गर्न सहयोग पु¥याउने उदेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ ।
माघ पहिलो हप्ता देखि गणितीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिने आज आयोजित घोषणा कार्यक्रम मार्फत जनाइएको छ । गणित शिक्षा परिषद् कास्कीले २०५६ सालदेखिनै सञ्चालन गर्दै आइरहेको प्रतियोगिता यो वर्ष देखि देशका अधिकांश जिल्लाहरूमा सञ्चालन गरि प्रदेशस्तर र अन्त्यमा केन्द्रमा प्रतियोगिता सञ्चालन हुनेछ ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा परिषद्का पूर्व अध्यक्ष हिरा महर्जनले प्रतियोगिताको घोषणा गर्दै गणित हाजिरी जवाफ प्रतियोगितालाई सबैको रुची बढाउने गरी हरेक वर्ष आयोजना गर्दै जाने बताए ।
गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले विद्यार्थीलाई गणित विषय प्रतिको रुची बढाउने उदेश्यले देशव्यापी रूपमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले माघमा जिल्लास्तरीय गणितीय हाजिरी जवाफ प्रतियोगिता गरिने, फागुनमा प्रदेशस्तरीय गरिने र प्रतिस्पर्धाबाट छनोट भएर आएका विद्यार्थीबिच चैतमा केन्द्रमा राष्ट्रिय गणितीय हाजिरी जवाफ प्रतियोगिता सम्मन्न गरिने बताए ।
यसैगरी जिल्लास्तरका कार्यक्रम २ तहमा सञ्चालन हुने परिषद्ले जनाएको छ । जिल्लास्तरीय प्रतियोगितामा पहिलो लिखित राउन्ड हुनेछ । उक्त राउन्डमा १ घण्टाको समयभित्रमा प्रत्येक टिममा संलग्न २ वा ३ जना सहभागी मिलेर ५० वटा बहुवैकल्पिक प्रश्नहरू समाधान गर्नेछन् । प्रतियोगीले क्यालकुलेटरको प्रयोग गर्न पाउनेछन् । त्यस राउन्डबाट छानिएका ६ वा १८ वा ३६ टिमको बिचमा स्टेज अन क्विज सञ्चालन हुनेछ, जहाँबाट उत्कृष्ट २ टिमले प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पाउनेछन् ।
प्रदेशस्तरका कार्यक्रममा स्टेज अन क्विज राउन्ड मात्र सञ्चालन हुनेछन् । प्रदेशका उत्कृष्ट २ टिमले राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन् । राष्ट्रियस्तरको कार्यक्रम पनि स्टेज अन क्विजको आधारमा सञ्चालन हुुने परिषद्ले जनाएको छ ।
प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीहरूले मात्र भाग लिन पाउने छन् । साथै सम्मिलित प्रश्नहरूका लागि कक्षा ९ र १० को गणित (अनिवार्य र ऐच्छिक)लाई मुख्य आधार मानिने र विभिन्न आइक्यु प्रश्न, दैनिक जीवनमा प्रयोग हुने गणितीय समस्याहरू, वैदिक गणितसँग सम्बन्धित प्रश्नहरू, स्याट र जिआरईमा सोध्न सकिने प्रश्नहरू समावेश हुने जनाइएको छ ।











प्रतिक्रिया