नेपालका विविध समुदायका बीच धार्मिक सद्भाव नेपाली समाजको एउटा महत्वपूर्ण विशेषता हुो । इतिहासको विभिन्न कालखण्डमा केही शासकहरुले आफ्नो स्वार्थ र महत्वाकांक्षाले गर्दा धार्मिक विभेद गरे पनि त्यसले नेपालका विविध धर्मावलम्बीहरुबीच धार्मिक सहिष्णुताको भावलाई कमजोर बनाउन सकेन । धार्मिक सद्भाव र मेलमिलापको भावनालाई बलियो बनाउन नेपालले धर्मनिरपेक्षको अवधारणा स्वीकार गरेको हो ।
राज्यले लामो समय एउटा धर्मलाई च्यापेर अघि बढ्दा पनि नेपालमा धार्मिक सहिष्णुता कायम थियो । तर पछिल्लो समय धर्मनिरपेक्षको प्रावधानलाई संविधानले नै आत्मसात् गरिसक्दा पनि कतिपयले भने आफ्नो निहित स्वार्थका लागि धार्मिक विद्वेष फैलाउने मनसायले बौद्ध गोन्पाहरूविरुद्ध भ्रामक अभिव्यक्ति दिने गरेको देखिन्छ । यसरी धार्मिक विद्वेष फैलाउने हिसाबले गरिएका अभिव्यक्तिले वातावरण तरंगित गरे पनि धार्मिक सद्भाव र सहिष्णुता बिगार्ने यो प्रयास सफल हुनेछैन ।
नेपालको भौगोलिक एकीकरणपश्चात् विशेषतः राणाकाल हुँदै पञ्चायतकाल र त्यसपछि बहुदलीय प्रजातन्त्रकालमा समेत राज्यले कुनै एक धर्मलाई विशेष स्थान दिएर अघि बढेको थियो । राज्यको यस नीतिले दीर्घकालमा केही समूहलाई लाभ पुगे पनि केहीलाई पछाडि पारेको आभास हुन पुग्यो । ती पछाडि परेका वर्ग र समुदायको संघर्षस्वरुप नेपाललाई आज धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको छ । शायद यसलाई आत्मसात् गर्न नसक्नेहरु पनि हुन सक्छन् ।
त्यसैले हाल सामाजिक सञ्जाल, युट्युबजस्ता माध्यमहरूमा बौद्ध विहार, गुम्बा तथा गोम्पाहरूलाई ‘हतियार भण्डारणस्थल’ वा ‘विदेशी स्वार्थको आश्रयस्थल’ का रूपमा प्रस्तुत गरिएका आरोपहरू तथ्य प्रमाणमा आधारित नभई सामाजिक सद्भाव खलबल्याउने उद्देश्यले गरिएको सचेत नेपालीले बुझेका छन् । नेपाल र तिब्बतबीच सदियौंदेखि महायान तथा हिमालय बौद्ध संस्कृतिले स्थापना गरेको गहिरो सांस्कृतिक–धार्मिक सम्बन्ध छ । बौद्ध दर्शन विशेषतः महायान परम्परा नेपाली समाज, संस्कार र पहिचानसँग अन्तर्निहित छ । विहार, गुम्बा र गोम्पाहरू ज्ञान, ध्यान, करुणा, अहिंसा र आत्मविकासका केन्द्रहरू हुन् । राज्य कमजोर देखिएको यस्तो समयमा धार्मिक वा जातीय विभेदलाई उक्साउने यस्ता गतिविधिहरू हुनु कदापि उचित होइन ।
डिजिटल माध्यमको सहज पहुँचले सूचना प्रसारको गति बढाएको छ । तर त्यससँगै मिथ्या सूचनाको जोखिम र दुष्प्रचार गर्नेहरु बढेको देखिन्छ । विनाप्रमाणका हावादारी कुरा विभिन्न सामाजिक सञ्जालमा शेयर गरिँदा र प्रतिक्रिया उन्मुख सामग्रीको रूपमा प्रस्तुत गरिँदा समाजमा अनावश्यक तनाव सिर्जना हुने गर्दछ । त्यसैले भावनात्मक उत्तेजनाले नभई तथ्य र तर्कमा आधारित सोच र संवादलाई मात्र उचित प्राथमिकता दिनुपर्ने देखिन्छ ।
अहिले सबैतिर विवाद उक्साउने उत्तेजनात्मक सामग्री होइन कि तथ्य र जिम्मेवार अभिव्यक्तिको खाँचो छ । भ्रमको राजनीतिमार्फत बौद्ध विहार, गुम्बा र गोम्पालाई विदेशी स्वार्थ वा सुरक्षामा खतरा भएको जस्तो चित्रण गर्ने प्रवृत्तिले केवल धार्मिक घृणा फैलाउने काम मात्र गर्दैन, अपितु यसले नेपालकै सदियौंदेखि निर्मित धार्मिक सहअस्तित्व, सहिष्णुता र सांस्कृतिक अन्तरसम्बन्धलाई खलबल्याउने हुन्छ । त्यसैले यस्ता भ्रामक आरोपलाई राजनीतिक उपकरण बनाउन थालेको अवस्थाप्रति सबै सजग हुनु जरुरी छ ।











प्रतिक्रिया