काठमाडौं ।
दक्षिण एसियाको मैदान र हिमाली क्षेत्रमा फैलिएको वायु प्रदूषणले स्वास्थ्य र उत्पादकत्वमा ठूलो क्षति पु¥याइरहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ, विश्व बैंकका अनुसार यो क्षेत्रका करिब एक अर्ब मानिसले अस्वस्थ हावा श्वास फेरिरहेका छन्, जसका कारण प्रत्येक वर्ष करिब १० लाख मानिसहरूको अकाल मृत्यु हुने गरेको छ । आर्थिक क्षति क्षेत्रीय जीडीपीको करिब १० प्रतिशत श्रम उत्पादकत्व घटाउने, स्वास्थ्य खर्च बढाउने र मानव पुँजी घटाउने अनुमान गरिएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको ‘अ ब्रेथ अफ चेन्जः सोलुसन्स फर क्लिनर एयर इन द इन्डो–गंगेटिक प्लेन्स एन्ड हिमालयन फुटहिल्स’ प्रतिवेदनले विभिन्न क्षेत्र र क्षेत्राधिकारमा केही सीमित कार्यहरू अपनाएर प्रदूषणलाई उल्लेखनीय रूपमा घटाउन सकिने बताएको छ । यसले सार्वजनिक स्वास्थ्य सुधार गर्दै मजबुत आर्थिक वृद्धि समर्थन गर्न सक्छ । बंगलादेश, भुटान, भारत, नेपाल र पाकिस्तानका भागहरूमा प्रदूषणका पाँच मुख्य स्रोतहरू छन् घरहरूमा खाना पकाउने र ताप्नेका लागि ठोस इन्धन जलाउने, उद्योगहरूमा जीवाश्म इन्धन र बायोमासलाई अकुशल रूपमा जलाउने तथा फिल्टर प्रविधि नभएको, सवारी साधनहरूमा अकुशल आन्तरिक दहन इन्जिन प्रयोग गर्ने, किसानहरूले फसल अवशेष जलाउने तथा मल र गोबरको अकुशल व्यवस्थापन गर्ने तथा घर र फर्महरूबाट फोहोर जलाउने कार्य रहेका छन् ।
प्रतिवेदनले तत्काल अपनाउन र विस्तार गर्न सकिने समाधानहरू उल्लेख गरेको छ, जसमा विद्युतीय खाना पकाउने, औद्योगिक बोइलर, फर्नेस र भट्टाहरूको विद्युतीकरण तथा आधुनिकीकरण, गैर–मोटराइज्ड तथा विद्युतीय यातायात प्रणाली, फसल अवशेष र पशुपालन फोहोरको सुधारिएको व्यवस्थापन, तथा फोहोर छुट्ट्याउने, पुनःप्रयोग र नष्ट गर्ने समावेश छन् ।
प्रतिवेदनले २०३५ सम्म वार्षिक औसत फाइन पार्टिकुलेट म्याटर (पीएम २.५) को स्तर ३५ माइक्रोग्राम प्रतिक्युबिक मिटरभन्दा तल ल्याउने क्षेत्रीय साझा लक्ष्य हासिल गर्ने व्यावहारिक मार्गचित्र प्रस्तुत गरेको छ (जसले वर्तमान स्तरलाई आधा घटाउँछ)।
‘स्ट्रिभिङ फर क्लिन एयर’ (२०२३) मा निदान र देशीय अनुभवहरूमा आधारित यो प्रतिवेदनले स्वच्छ हावाको महत्व, प्रदूषणका कारणहरूबाट कसरी समाधानहरू ठूलो स्तरमा लागू गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । प्रतिवेदनले स्वच्छ हावा समाधानहरूलाई “फोर आइज”सँग जोडेर प्रस्तुत गरेको छ ः निर्णय र जबाफदेहिताका लागि सूचना; व्यवहार र लगानी परिवर्तनका लागि प्रोत्साहन; क्षेत्राधिकारहरूमा समन्वय गर्ने, मापदण्ड निर्धारण र प्रवर्तन गर्ने संस्थाहरू; तथा स्वच्छ प्रविधि संक्रमण सक्षम बनाउने पूर्वाधार । यी तत्वहरूले स्वच्छ, स्वस्थ र लचिलो विकासको आधार तयार गर्छन् ।
नेपालमा वायु प्रदूषणको प्रमुख चुनौती काठमाडौँ उपत्यका र तराई क्षेत्रमा केन्द्रित रहेको देखिएको छ । विश्व बैंकको सन् २०२५ को अध्ययनअनुसार यी दुई क्षेत्रमा सूक्ष्म कण (पीएम २.५) प्रदूषणमा औद्योगिक उत्सर्जनको योगदान काठमाडौँ उपत्यकामा १९ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत रहेको छ। आगामी सन् २०३५ सम्म औद्योगिक उत्सर्जन नै वायु प्रदूषणको मुख्य स्रोत बन्ने प्रक्षेपण गरिएको छ । काठमाडौँ उपत्यकामा विशेषगरी साना तथा मध्यम आकारका औद्योगिक बोयलर र भट्टीहरू पीएम २.५ प्रदूषणका महत्वपूर्ण स्रोत बनेका छन् ।
खाद्य तथा पेय पदार्थ उद्योगअन्तर्गतका बेकरी, दुग्ध प्रशोधन, मदिरा उद्योग तथा धान उमाल्ने उद्योगहरूबाट निस्कने धुवाँले वायु गुणस्तरमा ठूलो असर पारिरहेको जल तथा ऊर्जा आयोग सचिवालय (२०२१, २०२२) का प्रतिवेदनले देखाएको छ । कम उचाइका चिम्नी भएका बायोमास (दाउरा, कृषि अवशेष) प्रयोग गर्ने बोयलर र भट्टीहरूले काठमाडौँ उपत्यकामा करिब ५ माइक्रोग्राम प्रति घनमिटर पीएम २.५ थप्ने गरेको छ, जुन कुल प्रदूषणको करिब १५ प्रतिशत हो । यसअघि प्रमुख प्रदूषण स्रोतका रूपमा मानिँदै आएका इँटा उद्योगको योगदान भने पछिल्ला अध्ययनअनुसार काठमाडौँ उपत्यका र तराई दुवै क्षेत्रमा ३ प्रतिशतभन्दा कम रहेको देखिएको छ । यसले नेपालमा वायु प्रदूषणको स्वरूप परिवर्तन हुँदै गएको र औद्योगिक स्रोतहरूतर्फ ध्यान दिनुपर्ने आवश्यकता बढेको संकेत गर्दछ ।











प्रतिक्रिया